फेरि बढ्यो अण्डाको मूल्य, अब एउटा अण्डाको दाम कम्तीमा २५ रुपैयाँ

फेरि बढ्यो अण्डाको मूल्य, अब एउटा अण्डाको दाम कम्तीमा २५ रुपैयाँ

Domestic Trade and Consumer Affairs Ministry enforcement officers conduct checks on prices of eggs at Pasar Pelabuhan Klang in Port Klang December 13, 2021. — KK SHAM/The Star

 

नारायणगढ । नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको फार्म समर्थन मूल्य पुनःबढाएको छ । सङ्घको शुक्रबार काठमाडौँमा सम्पन्न भौतिक तथा भर्चुअल बैठकले आजदेखि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार देशभरका अण्डा उत्पादक किसान तथा व्यवसायीको राय, परामर्श तथा सिफारिसका आधारमा चितवनलाई मुख्य आधार क्षेत्र मानी नयाँ दररेट तय गरिएको हो । नयाँ मूल्यसूचीअनुसार एक्सएल अण्डाको मूल्य प्रतिक्रेट (३० वटा) ५ सय ६० रुपैयाँ, ठूलो अण्डाको ५ सय ४५ रुपैयाँ, मध्यम (मिडियम) अण्डाको ५ सय १५ रुपैयाँ तथा सानो अण्डाको प्रतिपेटी तीन हजार रुपैयाँ कायम गरिएको छ । यसअनुसार खुद्रा बजारमा अण्डाको मूल्य करिब २५ रुपैयाँ भएको छ ।

सङ्घले सम्पूर्ण व्यवसायी तथा सरोकारवालालाई तोकिएको मूल्यमा कारोबार गर्न आग्रह गरेको छ । अध्यक्ष पोखरेलले गर्मी मौसमका कारण उत्पादनमा आएको उतारचढाव तथा किसानको बढ्दो उत्पादन लागतलाई ध्यानमा राखेर नयाँ समर्थन मूल्य निर्धारण गरिएको बताए ।

पछिल्लो एक महिनाको अवधिमा अण्डाको मूल्य निरन्तर उकालो लागेको देखिन्छ । वैशाख २४ गते एक्सएल अण्डाको मूल्य प्रतिक्रेट ४ सय ६५ रुपैयाँ रहेकामा नयाँ मूल्य ५ सय ६० रुपैयाँ पुगेको छ, जुन ९५ रुपैयाँ अर्थात् करिब २० प्रतिशतले बढी हो । सोही अवधिमा ठूलो अण्डाको मूल्य ४ सय ९० बाट ५ सय ४५ रुपैयाँ, मिडियम अण्डाको ४ सय बाट ५ सय १५ रुपैयाँ तथा सानो अण्डाको प्रतिपेटी मूल्य २ हजार ३ सय रुपैयाँबाट तीन हजार रुपैयाँ पुगेको छ ।

सङ्घका अनुसार पछिल्ला केही सातायता अण्डाको उत्पादन घट्नुका साथै बजार माग बढ्दा मूल्यमा निरन्तर सुधार आएको हो । किसानले दाना, औषधि तथा अन्य उत्पादन सामग्रीको लागत बढ्दै जाँदा मूल्य समायोजन आवश्यक भएको सङ्घका अध्यक्ष पोखरेलले बताए ।

उनका अनुसार हाल अण्डाको उत्पादन लागत प्रतिगोटा १९ दशमलव १२ प्रतिशत पर्ने गरेको छ । नयाँ समर्थन मूल्य लागू भएपछि किसानले लागत नजिकको मूल्य पाउन थालेका छन् । लामो समयपछि अण्डाको बिक्री मूल्य उत्पादन लागतको हाराहारीमा पुगेकाले किसानलाई केही राहत मिलेको अध्यक्ष पोखरेलको भनाइ छ । उनले पछिल्लो समय नेपालमा पर्यटकको आगमन बढ्नु, सीमा क्षेत्रमा अण्डाको आयात तथा ओसारपसारमा कडाइ हुनु र आन्तरिक बजारमा माग बढ्नुलेसमेत अण्डाको मूल्य सुधारमा सहयोग पुगेको बताए ।

किसानले अहिले लागत नजिकको मूल्य पाए पनि उत्पादन लागत नियन्त्रण र बजार व्यवस्थापनका लागि सरकारी निकायबाट सहयोग र नीतिगत समर्थन आवश्यक रहेको अध्यक्ष पोखरेलले बताए । उनले उत्पादन लागत घटाउने तथा बजारलाई व्यवस्थित बनाउने उपाय अवलम्बन गर्नसके हालको मूल्य अवस्था कायम राख्न सकिने धारणा व्यक्त गरे ।

प्रकाशित मिति : शनिबार, जेष्ठ २३ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij