समयमै खरिद प्रक्रिया अगाडि नबढाउँदा एन्टिरेबिज भ्याक्सिन (एआरभी) खोपको देशभर अभाव भएको छ।
विश्वव्यापी मूल्यवृद्धिका कारण दररेट समायोजनको समस्या र पश्चिम एशियामा जारी तनावका कारण सरकारले टेण्डर प्रक्रिया टुंग्याउन नसक्दा देशभरका अस्पताल तथा स्वास्थ्य सेवा केन्द्रहरूमा खोपको आपूर्ति हुन सकेको छैन।
कुकुर, बाँदरलगायत जनावरले टोकेपछि एन्टी रेबिज भ्याक्सिन (एआरभी) लगाइन्छ। चिकित्सककाअनुसार जनावरले टोकेको थाहा पाएपछि खोप सकेसम्म चाँडै लगाउनुपर्छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सह–प्रवक्ता तथा वरिष्ठ स्वास्थ्य प्रशासक डा। समिरकुमार अधिकारी बजार मूल्य बढेका कारण पुरानो दररेटमा खोप खरिद सम्भव नभएको र त्यसअनुसार नयाँ दररेट मिलाएर टेन्डर प्रक्रिया अघि बढाउनुपर्दा एन्टिरेबिज भ्याक्सिन खरिद प्रक्रियामा ढिलाई भएको बताउँछन्।
उनकाअनुसार करिव ५ लाख भायल एआरभी खोप खरिदको टेण्डर अन्तिम चरणमा पुगेको भए पनि आपूर्ति प्रक्रिया अझै शुरु भएको छैन।
उनले सरकारले विश्व स्वास्थ्य सङ्गठनसँग समन्वय गरेर आकस्मिक रूपमा एन्टिरेबिज भ्याक्सिनहरू अस्पतालहरूमा उपलब्ध गराएर व्यवस्थापन गरिरहेको दारे।
उनकाअनुसार आईतवार मात्र चार हजार पाँच सय भायल एआरभी खोपहरू नेपाल आएका छन्। उक्त मात्रामा भित्रिएको खोपले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका लागि मात्र एक महिनाका लागि पुग्ने अधिकारीले बताए।
उनले त्यसबाहेकका एन्टिरेबिज भ्याक्सिनका लागि यही असार १६ गतेभित्र सम्झौता प्रक्रिया टुंगिएर आपूर्ति प्रक्रिया शुरु हुने बताए।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सह–प्रवक्ता तथा वरिष्ठ स्वास्थ्य प्रशासक अधिकारीले सरकारले अगामी आर्थिक वर्षमा रेबिजविरुद्धको खोप अभाव हुन नदिनेगरी आपूर्ति प्रक्रिया अघि बढाइरहेको समेत बताए।
अत्यावश्यक औषधिको आपूर्तिमा समस्या देखिएपछि सरकारले सार्वजनिक खरिद प्रक्रियालाई सहज बनाउन कानुनी व्यवस्था परिमार्जनको काम सुरु गरेको उनले बताए।
उनले तत्कालीन स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले गरेका सम्झौता र सिफारिसलाई आधार बनाएर खरिद प्रक्रियामा रहेका जटिलता हटाउन पहल थालिएको बताए।
मनसुनको समयमा विशेष गरी तराई–मधेसका जिल्लाहरुमा सर्पदंशका घटनाबाट वर्षेनी सयौँ नागरिकले अकालमै ज्यान गुमाउने गरेका छन्।
यही गम्भीर्यतालाई मध्यनजर गरी सरकारले अगामी आर्थिक वर्षमा भ्याक्सिनको अभाव हुन नदिने गरी कार्य गरिरहेको अधिकारीको भनाइ छ।
प्रकाशित मिति : सोमबार, असार ८ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्