रास्वपाले नागरिकको विश्वासमाथि कहिल्यै कुठाराघात गर्दैन : महामन्त्री आचार्य

रास्वपाले नागरिकको विश्वासमाथि कहिल्यै कुठाराघात गर्दैन : महामन्त्री आचार्य

भैरहवा-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिन कुमार आचार्यले रास्वपाले नागरिकको विश्वासमाथि कहिल्यै कुठाराघात नगर्ने बताउनुभएको छ । उहाँले देश बनाउन समय लाग्ने र त्यो समयमा नागरिकको साथ जरुरी रहेको बताउनुभयो ।

रास्वपा रुपन्देहीले शनिबार भैरहवामा आयोजना गरेको पदस्थापना, बृहत पार्टी प्रवेश तथा सम्मान कार्यक्रममा बोल्दै महामन्त्री आचार्यले आफूहरुले गलत गर्दा प्रश्न गर्न आग्रह गर्नुभयो । ‘हामीले गलत गर्दा प्रश्न गर्न नहिचकिचाउनुहोला । तपाईको प्रश्नले हामीलाई बलियो बनाउँछ, ’उहाँले भन्नुभयो । सरकारलाई आएको प्रश्न खबरदारीको भएको र ठूलो अपेक्षा भएर प्रश्न भएको उहाँले बताउनुभयो ।

आगामी प्रदेश र स्थानीय तहको निर्वाचनमा पनि रास्वपालाई साथ दिन समेत उहाँले आग्रह गर्नुभयो । महामन्त्री आचार्यले ४ महिनामा ३६ वर्षको बेथिति सुधार्न जादुको छडी नभएको बताउनुभयो ।

‘रास्वपा स्थापना भएको चार वर्ष भयो । सरकारले सही दिशामा काम गर्छ भन्ने जनतामा विश्वास छ । सरकारले गर्न खोजेका सही कुरा नागरिकमाझ पुर्याउन नसकेका हुन सक्छौं । चार महिनामा सबै कुरा ठीक नहुन पनि सक्छ । अहिले नै हिम्मत हार्नुभएन । यो समयमा सबैभन्दा बढी विश्वास गर्नुपर्छ, ’उहाँले भन्नुभयो ।

३६ वर्षदेखि बिग्रेको देश बनाउने जिम्मेवारी रास्वपाले पाएको तर, ४ महिनामै त्यो सम्भव नरहेकोले कम्तीमा पाँच वर्ष साथ दिन उहाँले आग्रह गर्नुभयो । ‘चाँडो नतिजा दिने हिसाबमा गइयो भने २–४ दिन नतिजा दिइएला  । तर, त्यो दिगो हुँदैन । दिगो नतिजा बनाउनका लागि देश बलियो बनाउनुपर्छ । अहिले सरकारले देश बलियो बनाउने दिशामा काम गरिरहेको छ, ’उहाँले भन्नुभयो ।

२०७९ भन्दा अघिका सरकार बन्दा काण्डैकाण्डका समाचार आए पनि पछिल्लो चार महिनामा एउटा पनि काण्डको समाचार नआएको उहाँको दावी छ ।
प्रतिनिधि सभा सदस्य समेत रहनुभएका आचार्यले केन्द्र सरकारले गर्न खाजेको कति कुराहरु रोक्न र अफ्ठयारो पार्न खोजिएको आरोप लगाउनुभयो । त्यो ग्यास, मल वितरण लगायतमा देखिएको उहाँले बताउनुभयो ।

त्यस्तै रास्वपाका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य सुलभ खरेलले देशमा रहेको बेथिति रोक्न सकिए मात्र देशमा परिवर्तन ल्याउन सकिने बताउनुभयो । उहाँले आफूहरुले सरकारको विरोध नभइ जनताको समस्याबारे झकझकाइरहेको बताउनुभयो ।

पार्टीको केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य ज्ञानु पौड्यालले रास्वपा नेतृत्वको सरकारसँग जनताको ठूलो अपेक्षा रहेको बताउनुभयो ।

कार्यक्रममा पार्टीको केन्द्रीय सदस्य कल्पना पाण्डे, लुम्बिनी प्रदेश सभापति शालिकराम घिमिरे, प्रतिनिधि सभा सदस्य डा.लेखजंग थापा, तौफिक अहमद खाँ, मन्जु भुसाल, पुनम अग्रवाल, सुशान्त वैदिक, पूर्व प्रदेश कमिटी सल्लाहकार विनोद खरेल, रुपन्देही जिल्ला अध्यक्ष महेन्द्र प्रसाद उपाध्याय, निवर्तमान जिल्ला अध्यक्ष डा.बुद्धि प्रसाद शर्मा, सचिव ज्ञानेन्द्र पाण्डे बुटवल उपमहानगरपालिका सभापति राजेश्वर पाण्डे लगायतले बोल्नुभएको थियो ।

 

 

 

प्रकाशित मिति : शनिबार, साउन २३ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij