आयल निगमले भन्यो- ग्यास सिलिण्डर अनावश्यक रूपमा सञ्चय नगर्नुस्

आयल निगमले भन्यो- ग्यास सिलिण्डर अनावश्यक रूपमा सञ्चय नगर्नुस्

काठमाडौँ : नेपाल आयल निगमले बजारमा खाना पकाउने ग्यासको आपूर्ति सहज बन्दै गएको दाबी गर्दै अनावश्यक ग्यास सिलिण्डर सञ्चय नगर्न आग्रह गरेको छ।

हाल काठमाडौँ उपत्यकाको औसत मागभन्दा बढी सिलिण्डर आपूर्ति भइरहेको भन्दै निगमले केही दिनमै अवस्था सामान्य हुने बताएको छ।

‘काठमाडौँ उपत्यकामा प्रतिदिन औसत ३५ देखि ३७ हजार सिलिण्डरको माग हो, तर अहिले हामीले औसतमा पाँच हजारदेखि आठ हजार सिलिण्डर बढी आपूर्ति गरिरहेका छौँ‘, निगमका निर्देशक विनितमणि उपाध्यायले भने।

निगमका अनुसार भदौ २ गते मात्रै काठमाडौँ उपत्यकाका २२ ग्यास उद्योगले ४७ हजार ३८८ थान सिलिण्डर बिक्री गर्दैछन्। साथै भदौ १ गते काठमाडौँ उपत्यकामा ५२ हजार ५७६ थान सिलिण्डर बिक्री गरिएको छ। यो दैनिक औसतभन्दा करिब १५ हजारले बढी हो।

निगमले पछिल्लो एक साता अर्थात् साउन २७ गतेदेखि भदौ २ गते साँझसम्म तीन लाख नौ हजार ५५३ वटा सिलिण्डर बिक्री भइरहेको जनाएको छ। यो औसतमा दैनिक ४४ हजारभन्दा बढी हो।

उद्योगी व्यवसायीका अनुसार अहिले आपूर्तिका कारण ग्यासको समस्या भएको होइन। गत फागुनमा बाह्य कारणले ग्यास आयातमा कमी आएपछि सरकारले समस्या समाधानका लागि आधा भरिएको सिलिण्डर बिक्री शुरु गरेको थियो। त्यसको असर अहिले देखिएको मात्रै हो । तर यो लामो समयसम्म जाँदैन।

एलपी ग्यास उद्योग सङ्घ नेपालका अध्यक्ष कृष्णभक्त श्रेष्ठका अनुसार सोमबारदेखि डिलरमार्फत नै ग्यास बिक्री गर्न थालेपछि धेरै सहज भएको बताए। उनका अनुसार अबको एक सातामा सबै समस्या समाधान हुने देखिएको छ।

साउनमा ४० लाखभन्दा बढी सिलिण्डर बिक्री

निगमका अनुसार सामान्य अवस्थामा मुलुकभर दैनिक एक लाख १० हजारको हाराहारीमा सिलिण्डर बिक्री हुन्छ । तर चालु आर्थिक वर्षको साउनमा मात्रै ५७ हजार ३१६ मेट्रिक टन एलपी ग्यास अर्थात् ४० लाख ३६ हजार ३६४ थान सिलिण्डर बिक्री भएको छ ।

जुन अघिल्लो गत २०८२-८३ को साउनको तुलनामा करिब २९.३ प्रतिशत बढी हो।  गत आवको ४४ हजार ३१८ मेट्रिक टन एलपी ग्यास अर्थात् ३१ लाख २० हजार ९८६  थान सिलिण्डर बिक्री भएको थियो। त्यसैगरी अघिल्लो आव २०८१-८२ को साउनमा ४५ हजार ७३५ मेट्रिक टन अर्थात् ३२ लाख २० हजार ७७५ थान सिलिण्डर बिक्री भएको थियो।

प्रकाशित मिति : मंगलबार, भाद्र २ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij