गुल्मी /जनता टुडे
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० का लागि सङ्कलन गरिएका घटनाहरुको वार्षिक पूर्व समिक्षा कार्यक्रम सम्पन्न भएको छ । समिक्षा कार्यक्रम जिल्लाको सदरमुकाम तम्घासमा सम्पन्न भएको हो ।
कार्यक्रममा इन्सेक गुल्मी जिल्ला प्रतिनिधि टोपलाल अर्यालले मानव अधिकार वर्ष पुस्तक सन २०२० का लागि गुल्मीमा संकलन गरिएका घटनाहरु र जिल्लाको आर्थिक, समाजिक र साँस्कृति अवस्थाको विवरण प्रस्तुत गर्नुभयो ।
समिक्षामा जिल्ला अदालत गुल्मीका श्रेष्तेदार कृष्ण शरण लामिछानेले नागरिकले राज्यबाट प्राप्त अधिकारको अनुभत गर्न नसकेको बताउनुभयो । उहाले संविधानमा उल्लेख भएका अधिकार कार्यान्वयन नभए केवल त्यो अधिकार कागज मात्रै हुने भएकाले कार्यान्वयन गर्ने निकायहरु थप जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो ।
दलित अधिकारकर्मी गणेश विश्वकर्माले अबको मुद्धा आर्थिक, समाजिक तथा साँस्कृतिक अधिकार भएकाले नागरिक समाज एवं अधिकारकर्मीको ध्यान त्यस तर्फ केन्द्रित गराउन आग्रह गर्नुभयो । साथै विश्वकर्माले अन्तर जातिय बिबाह गरेका जोडीहरुको नागरिकता बनाउन जिल्लामा धेरै समस्या परेको उल्लेख गर्नुभयो।
गुल्मी अस्पतालका प्रमुख डाक्टर उत्तम पच्याले भाषण गर्ने नेताको अधिकार भजाउने अभिव्यक्ती र कार्यान्वयन गर्ने निकायको स्थिती धेरै फरक
रहेको बताउनुभयो । ‘औषधी खरिदको लागि प्रथम चौमासिकमा आउने पैसा अझै आएको छैन, पत्रकार र नागरिक समाजको ध्यान त्यस तर्फ पुग्नु पर्यो, ‘पच्याले भन्नुभयो,झनागरिकलाई अब निशुल्क औषधीको बारेमा बुझाउनु पर्दैन ।’
जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेयले अहिलेसम्म मानव अधिकार उल्ङघनका ठुला घटना नभए पनि केहि घटनाहरु राजनैतिक दवाब र प्रभावका कारण बाहिर आउन नसकेको प्रतिक्रिया दिनुभयो ।
अधिवक्ता बिनोद पाण्डेयले जिल्लामा भएको प्राकृतिक दोहन बढेकाले समयमै सम्बन्धित निकायको ध्यान नपुगे भावी पुस्ताले ठुलो संकटको सामना गर्नुपर्ने बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर राजकुमार रावलले अहिले पनि जिल्ला प्रहरी कार्यालयमा महिला पीडित भएर आउने मुद्धानै धेरै रहेको जानकारी गराउनुभयो ।
इन्सेक जिल्ला प्रतिनिधी अर्यालले सन् २०२० को लागि संकलन गरिएका नौ बलात्कार, पाँच हत्या, राजनैतिक गिरफ्तारी दुई तथा ४३ वटा घरेलु हिंसाका घटना सार्वजनिक गर्नुभयो । उहाले जिल्लाको शिक्षा क्षेत्रमा कर्मचारीको अवस्था र अनुगमन, स्वास्थ्य क्षेत्र अन्तरगत औषधीको अवस्था, दरबन्दी, बर्थिङ सेन्टर, जिल्ला कारागारको अवस्था, महिला, बालबालिका तथा अपाङ्ग र जेष्ठ नागरिकको अधिकारको अवस्थाका बारेमा पनि उहाले जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालय, जिल्ला अदालत, जिल्ला बार एशोसियशन, नागरिक समाज, पत्रकार महासंघ, पुर्व इन्सेक प्रतिनिधी, दलित साझा मञ्च लगायतका संघसंस्थाका प्रमुख तथा प्रतिनिधीहरुको सहभागीता रहेको थियो ।
प्रकाशित मिति : शुक्रबार, पुष ४ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्