सुस्त गतिमा ठूला आयोजना, एकअर्कालाई दोष लगाएर पन्छिन खोज्छन् सरकारी निकाय र ठेकेदार

सुस्त गतिमा ठूला आयोजना, एकअर्कालाई दोष लगाएर पन्छिन खोज्छन् सरकारी निकाय र ठेकेदार

बुटवल : राष्ट्रिय गौरवमा आयोजनासहित रुपन्देहीमा सञ्चालित आयोजनाहरुको काम सुस्त छ।

आयोजनाहरुको समयावधिअनुसार काम भएको भए धेरैको काम सकिनुपथ्र्यो। तर अधिकांश आयोजनाको काम अधुरै छ, जसका कारण आयोजनाको लागत समेत बढ्दै गएको छ।
कतिपय आयोजनाको काम सम्पन्न हुने समयसीमा सकिएको र कतिपय आयोजनाको समयसीमा गुज्रनै लाग्दा पनि आयोजनाको काम सक्न तदारुकता देखाइएको छैन।

ठेकेदार कम्पनीको लापरबाही, निर्माण सामग्रीको अभाव र सरकारी निकायको ढिलासुस्तीले विकास आयोजनाले गति लिन सकेका छैनन्।
आयोजनाका अधिकारी र ठेकेदार कम्पनी आयोजना समयमा नसकिनुको कारण एकअर्कालाई दोष लगाएर पन्छिन खोज्छन्।

लक्ष्य अनुसार काम भएको भए भैरहवा–बुटवल व्यापारिक मार्गको काम अहिले सकिनुपथ्र्यो। तर काम पूरा हुन त परै जाओस्, ढिलाई भएकै कारण आयोजनाको लागत बढेको छ।

यो आयोजनाकै हालत अरु ठूला आयोजनाको पनि छ। ठूला आयोजनाले अपेक्षित प्रगति हासिल गर्न सकेका छैनन्। धेरै आयोजनाको निर्माण समयसीमा पनि सकिएको छ र समय थप भएको छ। तरपनि ती आयोजनाहरू थपिएको समयमै सकिन्छन् भन्ने अझै पनि ढुक्क हुने अवस्था छैन।

राष्ट्रिय गौरवको आयोजना अन्तर्गत निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, बेलहिया–बुटवल व्यापारिक मार्ग, बेलबास–बेथरी सडक जस्ता आयोजनाहरूले अपेक्षित प्रगति हासिल गर्न सकेका छैनन्।

३ वर्षमा सकिनुपर्ने व्यापारिक मार्ग आठ वर्षमा पनि सकिएन
बेलहिया–बुटवल सडकलाई ६ लेनका रूपमा विस्तार गर्न लागिएको आठ वर्ष भयो। तीन वर्षमा सक्ने गरी निर्माण थालिएको आयोजना विभिन्न बहानामा ठेकेदार कम्पनीको ढिलासुस्तीले पछि धकेलिदै आएको छ।

सुरूदेखि नै बजेट र निर्माण सामग्रीको अभाव झेलेको व्यापारिक मार्ग बिस्तार आयोजना निर्माण कहिले पूरा हुने भन्ने टुंगो छैन। यद्यपि आयोजना कार्यालयले भने आउँदो दशैंभित्रै सम्पन्न गर्ने दाबी गरेको छ। आयोजनाका इन्जिनियर योगेन्द्र अधिकारीका अनुसार यो मार्गको अहिलेसम्म करिब ७० प्रतिशत काम सकिएको छ।

‘आयोजनाका लागि पर्याप्त बजेट नहुँदा निर्माण अवधि नै लम्बिइरहेको छ, अझै पनि बजेट अभाव झेल्ने हो भने आगामी भदौभित्र सडक बिस्तार पूरा गर्ने लक्ष्य लिएको आयोजनाको काममा अवरोध आउने छ’–आयोजनाका इन्जिनियर अधिकारीले भने।

बुटवलको तीन किलोमिटर समेत गरेर भैरहवासम्मको निर्माण गर्न बाँकी सडकका लागि अझै २ अर्ब लाग्ने अनुमान छ।
आगामी आर्थिक वर्षको बजेटमा सरकारले माग अनुसारको बजेट विनियोजन गरेमात्रै अबको पाँच महिनामा सडक बिस्तार सकिने उनको भनाई छ। ‘चाहिएजति बजेट आएन भने त सकिदैन–उनले अफ्ठ्यारो सुनाए।

२४ किलोमिटर सडकमध्ये अब करिब ८ किलोमिटर सडक कालोपत्रे गर्न बाँकी छ। भलवारीदेखि पत्थरडाँडासम्म कालोपत्रेको काम भइरहेको छ। मणिग्रामदेखि मंगलापुरसम्म र भैरहवा क्षेत्रमा पनि काम अगाडि बढेको छ। आर्थिक वर्ष २०६६÷०६७ मा सुरू भएको यो सडक मार्ग विस्तार गर्न ५ अर्ब ८६ करोडको ठेक्का भएको थियो। अहिलेसम्म ४ अर्ब रूपैयाँ खर्च भइसकेको छ। निर्माणमा ढिलाई हुँदा करिब डेढ अर्ब लागत बढिसकेको छ।

विवादले जेलिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल
राष्ट्रिय गौरवकै आयोजना अन्तर्गत निर्माण भइरहेको अर्को आयोजना हो, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल। आन्तरिक विवाद जसको पर्यायकै रुपमा देखिएको छ।
सम्झौताअनुसार काम गरेको भए यतिबेला १६ आन्तरिक र ६ वटा अन्तर्राष्ट्रिय विमानबाट रूपन्देहीमा दैनिक हजारौं पर्यटक झर्थे।

तर यो आयोजना पनि बेलाबखत हुने अवरोधले गति लिन सकेको छैन। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रूपमा समेत लिइएको यो विमानस्थल तीन वर्षमा सक्ने गरि २०७१ कात्तिकमा चिनियाँ ठेकेदार कम्पनी नर्थ वेस्ट सिभिल एभिएसनले आयोजनाको निर्माण सम्झौता गरी काम सुरू गरेको थियो।

तीन वर्षमा सक्ने भनिएको यो आयोजना पनि २ वर्ष पर धकेलिएको छ। अहिलेसम्म ४० प्रतिशत मात्रै काम भएको छ। पर्याप्त जनशक्ति र उपकरण नहुँदा काममा ढिलाई गरेको आरोप खेप्दै आएको ठेकेदार कम्पनीले पछिल्लो समय भने काममा केही तदारूकता देखाएको छ।

विमानस्थल आयोजना प्रमुख ओम शर्मा २०१९ को जुनबाट विमानस्थल सञ्चालन आउने गरी काम भइरहेको दाबी गर्छन्। कुल ६ अर्ब २२ करोड रूपैयाँ लागतको विमानस्थल निर्माण गर्दा दुई हजार दुई सय घरपरिवार जग्गा अधिग्रहणका कारण अन्यत्र जान बाध्य भएका थिए।

त्यसको मुआब्जा वितरणमा समेत ढिलाई भएको छ। २३ अर्ब रुपैयाँ मुआब्जा वितरणमा लाग्ने भनिएपनि हालसम्म ६ अर्बको मात्रै मुआब्जा वितरण गरिएको छ।

कछुवा गतिमा बौद्ध परिपथ
ठूला आयोजना अन्तर्गत निर्माण थालेर टुंगोमा नपुगेको अर्को आयोजना हो–बौद्ध परिपथ। पर्यटन प्रवद्र्धनका दृष्टिले महत्वपूर्ण मानिएको यो परिपथ निर्माणको काम पनि कछुवा गतिमा छ।
सरोकारवालाले बेवास्ता गर्दा यो आयोजनाको काम अलपत्र छ। लुम्बिनी आउने पर्यटकलाई रूपन्देही, नवलपरासी र कपिलवस्तुका सबै बौद्धस्थलमा पु¥याउन सरकारले ९ वर्षअघि बौद्ध परिपथ (बुद्ध सर्किट) निर्माण सुरू गरेको थियो।

अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनले समेत तत्काल सर्किटलाई व्यवस्थित सडक सञ्जालले जोड्ने प्रस्ताव पारित गरेको थियो। तर अहिलेसम्म काम पूरा हुने टुंगो छैन।
लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराईले यसअघिको सडक सञ्जाल विस्तार योजना भएकाले अहिले सरकारी स्तरबाट ‘बुद्धसर्किट अफ नेपाल’ को प्रारम्भिक प्रतिवेदनका लागि तयारी गरेको बताए। जसका कारण यो योजना अलपत्र छ।

‘त्यसमा ३ जिल्ला मात्र नभई मुलुकभरकै बौद्ध सम्पदा जोडेर सर्किट बनाउने योजनाको छलफल भइरहेको छ’–उनले भने–‘आगामी असारसम्म प्रारम्भिक प्रतिवेदन बन्नेछ।’
यो परियोजना पूरा नहुँदा बुद्ध जन्मस्थल लुम्बिनी आएका पर्यटक बुद्धको मावली गाउँ देवदह, अस्तुधातु रहेको रामग्राम, बुद्धले २९ वर्ष बिताएको तिलौराकोट र आसपासका बौद्धस्थलमा पुग्न सकेका छैनन्।

सरकारले लुम्बिनी विकास कोषलाई विशेष प्राथमिकतामा राखेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानी भित्र्याइरहेको छ।
तर बौद्ध परिपथमा पर्ने नवलपरासीको पण्डितपुर र रामग्राम स्तुपको प्रचारप्रसार हुन सकेको छैन। पण्डितपुर र स्तुपको विकासका लागि स्थानीयले छुट्टै विकास कोष बनाउनु पर्ने माग गर्दै आएका छन्।

यसरी अबौं लगानीको परिपथ निर्माणमा ढिलाई हुँदा पर्यटन क्षेत्रमा समेत नकारात्मक असर परिरहेको छ। यो परिपथको निर्माण कार्य जम्मा १५ प्रतिशत मात्रै भएको छ।

नमूना सडक बेलबास–बेथरी पनि अलपत्र
डेढ बर्ष अघिबाट सुरू भएको अर्को आयोजना हो, बेलबास–बेथरी सडक आयोजना। नमूना सडकका रूपमा हेरिएको यो आयोजनाको अवस्था पनि दयनीय छ।
२५ प्रतिशत काम सकिएको यो आयोजना एक अर्ब ४८ करोड ९९ लाखमा निर्माण सम्झौता गरिएको थियो।

आयोजनामा रूख कटान, स्थानीय अवरोध, विद्युत पोल स्थानान्तरण जारी रहँदा नै अवरोध भएको हो।

हरित नहरसहित निर्माण थालिएको यो सडकको ब्रजगुरू कान्छाराम जेभी, रमन–जेजेइसिसिएल जेभी र रमन कन्सट्रक्सन प्रा. लिले ठेक्का लिएका हुन्।

सुरूमा मुआब्जा दिन नपर्ने भनिएको सडक खण्डमा पछि स्थानीयको जग्गा पर्ने भएपछि मुआब्जा दिने पैसा नहुँदा र निर्माण सामग्री तथा बजेट अभावमा रोकिएको हो।

सडकको बीच भागमा रहेको नहरमा पानी बगिरहने र दुवै साइडबाट सडक निर्माण हुने यो नेपालकै नमूना सडक मानिएको छ। २०७३ साउन १५ मा निर्माण शुरु भएर २०७६ साउन १४ मा सम्पन्न गर्ने यो योजनाको अधिकांश काम बाँकी छ।

साढे २१ किलोमिटरको सडक निर्माण भएमा बुटवलदेखि पश्चिमका पर्यटक लुम्बिनी पुग्न सहज हुनेछ।

प्रकाशित मिति : मंगलबार, जेष्ठ १ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij