४३ वडामा छैनन् सचिव

४३ वडामा छैनन् सचिव

सिंहदरबारको अधिकार गाउँगाउँमा आएको छ भनेर हल्ला पिटाइएको छ, कर्मचारी नभएपनि जनताका काम समयमा गर्न नसकेपछि कसरी जनतालाई सिंहदरबारको अधिकार प्रत्याभूति गराउने ।’

गुल्मी । गुल्मी जिल्लाका स्थानीय तहका ४३ वडा सचिवबिहीन अवस्थामा रहेका छन् । जिल्लाभरका स्थानीय तहका ८५ वडामध्ये ४२ वडामा सचिवहरू रहेका छन् । २ नगरपालिकासहित १० गाउँपालिका रहेको गुल्मीमा ४३ वटा वडा सचिवबिहीन अवस्थामा रहेका हुन् ।

जिल्लाका रेसुङ्गा नगरपालिका र मदाने गाउँपालिकामाबाहेक अन्य कुनै पनि स्थानीय तहका वडामा सबै सचिव छैनन् । कतिपय स्थानमा एकजना सचिवले ३ वडासमेत हेर्दै आएका छन् । यसले गर्दा स्थानीयवासीले सहजरूपमा वडाबाट सेवा पाउन सकेका छैनन् । वडावासीले सम्बन्धित वडाबाट हुने कामका लागि सचिव पर्खन पटकपटक कार्यालय धाउनुपर्ने बाध्यता रहेको छ ।

एकजना सचिव भेटाउन करीब साता दिन धाउनुपर्ने र कामका लागि महिना दिनसम्म पनि लाग्ने गरेको स्थानीयवासीले गुनासो गरेका छन् । यसले उनीहरूलाई परिवर्तनको प्रत्याभूतिको साटो झनै समस्या थापिएको महशुस भएको छ । स्थानीय तहमा कर्मचारीको अभावका कारण काम कार्वाही प्रभावकारी हुन सकेको छैन ।

जिल्लामा भएका केही कर्मचारीलाई व्यवस्थापन गरिएको भएपनि जिल्लाका अधिकांश स्थानीय तहमा कर्मचारी अभावको समस्या रहेको छ । जिल्ला समन्वय समिति गुल्मीका प्रमुख लक्ष्मण पराजुलीका अनुसार जिल्लामा भएका कर्मचारीहरूलाई व्यवस्थापन गरिएको तथा केही बाहिरबाट समेत ल्याउँदा पनि कर्मचारी व्यवस्थापन गर्न नसकिएको बताए ।

जिल्लामा आएका कर्मचारीलाई कुन स्थानीय तह के कस्तो अवस्था रहेको छ बुझेर व्यवस्थापन गर्ने गरेका छौं, पराजुलीले भने ‘तर जिल्लामै सामान्य प्रशासन मन्त्रालयले कर्मचारी नपठाउँदा स्थानीय तहमा समस्या देखिएको हो ।’

कर्मचारीहरू अभावको बारेमा आफूलाई राम्रो जानकारी भएको उनको भनाइ रहेको छ । जिल्लाको चन्द्रकोट गाउँपालिकामा सबैभन्दा बढी कर्मचारी अभाव रहेको छ । ८ वडामा २ सचिवको भरमा काम भैरहेको गाउँपालिकाले जनाएको छ ।

प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद भण्डारीले भने ‘८ वडामा २ सचिवले कसरी काम गरेका होला, तपाई आफै विचार गर्नुस् ।’ वडा सचिवको जत्तिकैै मात्रमा अन्य कर्मचारीको समेत अभाव गाउँपालिकामा रहेको भण्डारीले बताए ।

जिल्ला समन्वयमा पटक–पटक जानकारी गराएको भएपनि जिल्लामै मन्त्रालयले कर्मचारी नपठाएपछि कसरी व्यवस्थापन हुन्छ र उनको भनाइ छ । जिल्लाका रेसुङ्गा, मुसिकोट नगरपालिका मदाने, मालिका, धुर्कोट, छत्रकोट, इस्मा, गुल्मीदरबार, कालीगण्डकी, चन्द्रकोट, सत्यवती, रुरुलगायतका स्थानीय तहमा कर्मचारीको अभाव रहेको छ ।

चन्द्रकोट गाउँपालिकामा ८ वडा रहेका छन् जसमा अहिले दुई जना मात्र सचिव रहेका छन् । त्यस्तै कालीगण्डकी गाउँपालिकामा पनि ७ वडामध्ये अहिले ३ मात्र सचिव रहेका छन् भने ६ वडा रहेको छत्रकोट गाउँपालिकामा ३ जना वडा सचिवले काम गर्नुपर्ने बाध्यता रहेको छ ।

जिल्लामा सचिव मात्र हैन अन्य कर्मचारीहररुको समेत अभाव रहेको छ । धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलका अनुसार ५ जना सुब्बाको दरबन्दी भएपनि अहिलेसम्म १ जना पनि सुब्बा गाउँपालिकामा नभएको बताए ।

‘सिंहदरबारको अधिकार गाउँगाउँमा आएको छ भनेर हल्ला पिटाइएको छ, अध्यक्ष पोखरेलले भने ‘कर्मचारी नभएपनि जनताका काम समयमा गर्न नसकेपछि कसरी जनतालाई सिंहदरबारको अधिकार प्रत्याभूति गराउने ।’ उनले आफूले मन्त्रालय लगायत सबैतिर गुहार गरेपनि कर्मचारी अभावमा जनताका काम समयमै सम्पन्न गर्न नसक्दा दुःखित भएको बताए ।

प्रकाशित मिति : बुधबार, जेष्ठ २ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij