सामान्य अवस्थामा, कुनै बैंक वा अफिसमा पाँच हजार रुपैंयाको नोकरी गर्न तयार हुने तर त्यो भन्दा कैयौं बढीमा कृषि पेसा गर्न तयार नहुने, घरमा गाईं भैसी पाल्नेको भन्दा कुकुर पाल्नेको इज्जत हुने, आफ्नो काम आफैले गर्नेको भन्दा अर्काको छोरा/छोरीलाई काम कज्याउने को बढी इज्जत हुने, नेपालमा त्यही काम गर्न लाज मान्ने तर विदेशमा नमान्ने इत्यादि जस्ता हाम्रो समाजमा व्याप्त यी यथार्थ प्रवृतिहरु समाज विकासका प्रमुख बाधकहरु मध्ये रहेको मानिन्छ ।
श्रमसँग जोडिएका यस्ता गलत धारणाहरुलाई आजको समयसम्म पनि बचाई राख्नमा जिम्वेवार मुलतः हाम्रो “संस्कृति” र त्यसको संवाहक मानिने परम्परावादी “शिक्षा” लाई हाम्रो समाजको सुस्त विकास र अन्य मुलुकहरुको तीव्र विकाससँग जोड्दै विश्लेषण गर्ने प्रयास यस पक्तिकारको रहेको छ ।
श्रम बिना कुनै पनि कुराको विकास सम्भव हुँदैन । दार्शनिक सोफेकेलेसको यो पंक्तिले श्रमको महत्व प्रष्ट पारेको छ । हरेक सीप विकासको शुरुवात श्रमसँगै हुन्छ भन्ने आशय विश्वविख्यात दार्शनिक जोन डिवेको रहेको छ ।
त्यसैगरी श्रम बिना समाज अगाडि बढ्न नसक्ने तथा श्रमले नै समाज संरचनाको विकासको निम्ति शान्तिपूर्ण क्रान्ति अगाडि बढाउने दावी महात्मा गान्धीले गरेको छन् ।
कार्लमाक्र्सले श्रमलाई समाजमा आमूल परिवर्तन गरी पुनःसंरचनाको मार्गमा अगाडि बढाउने कारक तत्वको रुपमा ठोकुवा गरेका छन् । अब्राहम लिङ्कनका अनुसार कुनैपनि व्यक्ति तथा समाजलाई आत्मनिर्भर तथा स्वतन्त्र बनाउने एकमात्र आधारको रुपमा श्रम नै भएको कुरा दाबी गरेका छन् । दार्शनिक कन्फ्यूसियसले श्रम अर्थात मेहनत मानिसको अपरिहार्य सद्गुण हुनुपर्नेमा जोड दिएका छन् ।
यसरी उल्लेखित अभिव्यक्तिहरुका आधारमा भन्न सकिन्छ कि श्रम अर्थात मेहनत नै हरेक विकास तथा परिवर्तनको आधार हो । व्यक्ति, परिवार, समाज, समुदाय, राष्ट्र तथा समग्र विश्वको परिवर्तन सुधार तथा विकासको निमित्त श्रमको आवश्यकता पर्दछ । श्रम बिना कुनै पनि सकारात्मक प्रकृया अगाडि बढ्न सक्दैन ।
अतः जुन व्यक्ति, परिवार तथा समाजमा श्रम वा मेहनत गर्ने परिपाटी हुन्छ त्यहाँ विकास तथा परिवर्तन हुन्छ, अन्यथा त्यो यथास्थितिमै रहन्छ । यसरी श्रमको मात्रा ले नै विकासको गति निधारण गर्दछ । कुनै पनि देश छिटो वा ढिलो विकसित हुनुमा त्यस देशका मानिसहरुले गर्ने श्रम र श्रमप्रतिको दृष्टिकोणले ठूलो भूमिका खेलेको देखिन्छ ।
श्रमप्रतिको दृष्टिकोण समाजमा व्याप्त संस्कृतिबाट प्रभावति हुन्छ र त्यसले श्रमको मूल्याङ्कनलाई प्रत्यक्ष्य प्रभाव पारेको हुन्छ । समाजमा व्याप्त प्रत्येक पेसा, व्यावसाय तथा कार्यहरु श्रमसँग जोडिएका हुन्छन् र उक्त पेसा तथा कार्यहरुलाई हेर्ने दृष्टिकोण समाज अनुसार फरक पर्दछ जसको मुख्य कारण समाजमा विद्यमान संस्कृति ( जुन धर्मसँग पनि जोडिएको हुन्छ) हो भन्ने आशय कार्लमाक्र्सको रहेको छ ।
कुनै पनि पेसा अथवा कामलाई सानो वा ठूलो, राम्रो वा नराम्रो उच्च स्तरको वा निम्नस्तरको भनी निर्धारण गर्नमा विद्यमान समाजमा व्याप्त संस्कृतिको ठूलो भूमिका हुन्छ । अतः कुनै पनि समाजमा श्रमको कति सम्मान गरिन्छ भन्ने कुरा त्यस समाजमा व्याप्त संस्कृतिले निर्धारण गर्दछ ।
मूलतः हिन्दु धर्मद्वारा निर्देशित हाम्रो संस्कृतिमा परम्परा देखिनै उच्च तथा निम्न जात वा वर्णका आधारमा पेसा तथा कार्य विभाजन र सोही अनुरुपको दृष्टिकोण निर्धारण भई अझसम्म पनि त्यसको प्रभाव रही रहेको पाइन्छ भन्ने धारणा शिक्षाविद् विद्यानाथ कोइरालाको रहेको छ ।
उदाहरणको लागि सुकिलो कपडा लगाई कुर्सीमा बसेर गरिने पेसा तथा कार्यहरुलाई उच्च सम्मान दिइने तर खेतवारी, भवन निर्माण कलकारखाना इत्यादि जस्ता पेसा तथा कामहरुलाई निम्न दृष्टिकोणले हेरिने यथार्थ हाम्रो समाजमा विद्यमान छ ।
सामान्यतया यदि कसैले सजिलो खालको कार्य गर्दछ भने त्यसलाई राम्रो पेसा मानिन्छ तर अप्ठयारो अर्थात शारीरिक श्रम बढी प्रयोग हुने कार्य गर्दछ भने त्यसलाई नराम्रो मानिने साघुरो दृष्टिकोण अझ पनि हाम्रो समाजमा व्याप्त छ । कुनै पनि व्यक्तिसँग पहिलो पटक भेट हूँदा उसले के काम गर्दछ भन्ने प्रश्न हाम्रो समाजमा मुख्य चासोको विषय मानिन्छ । अनि उसले गर्ने काम तथा पेसाको आधारमा ऊ प्रतिको दृष्टिकोण तथा सम्मानको तह निर्धारण गरिन्छ ।
तर उसले उक्त काम कसरी गर्छ ? कति मिहनेत तथा इमान्दारिताका साथ गर्छ भन्ने कुराको त्यति चासो राखिन्न । मानौं कुनै सार्वजनिक स्थलमा बाटो खन्ने कार्य भइरहेको छ, मरिमरि पसिना चुहाई बाटो खन्नेहरुलाई भन्दा त्यहाँका कथित नाइकेहरु जो अनावश्यक गफ गरेर बसिरहेका हुन्छन्, तिनीहरुलाई नै ठूला मान्छेको दर्जा दिइन्छ, सम्मान गरिन्छ ।
जसले गर्दा पसिनाको मूल्य नगण्य हुनजान्छ । फलस्वरुप सबैलाई नेता बन्ने होडबाजी, कुर्सीमा बस्ने तछाडमछाडको परिपाटिको विकास हुनजान्छ । मेहनत गर्ने परिपाटि निरुत्साहित भई ठगी तथा भ्रष्टचारी मौलाउँदै जान्छ । उत्पादनशीलतामा काम आउँछ, विकासको गति कमजोर हुँदै जान्छ ।
हाम्रो समाज यही कुसंस्कृतिले ग्रासित छ, त्यसैले विकासमा पछाडि छ । तर विकसित समाजको संस्कृतिले यस्तो भन्दैन । पश्चिमेली विद्वान इडविनले दाबीका साथ भनेका छन् कि तपाईको श्रमको सम्मान तपाईले के काम गर्नुहुन्छ? मा होइन, तपाईले त्यो काम कसरी गर्नुहुन्छ ? मा हुन्छ । यसबाट स्पष्ट हुन्छ कि श्रमको मूल्याङ्कन कुनै पनि व्यक्तिको कार्यशैली, इमान्दारिता कार्यदक्षता तथा प्रभावकारिताका आधारमा गरिनु पर्दछ । यसरी हेर्दा श्रमको सम्मान भनेको त मेहनेतको सम्मान हो । पसिनाको सम्मान हो । इमान्दारिताको सम्मान हो । कार्यदक्षता, प्रभावकारिता अथवा सीपको सम्मान हो ।
कुनै पनि काम सानो हुँदैन, जुनसुकै काम जसले मानव र मानवताको हित गर्छ त्यसको समान महत्व हुन्छ र त्यसलाई सधै सम्मान गरिनु पर्दछ भनी मार्टिन लुथर किंङ्ग जुनियरले ठोकुवा गरेका छन् ।
विकसित देशहरुमा तपाई के काम गर्नुहुन्छ ? भन्ने प्रश्न सोधिदैन बरु तपाई कुन ठाउँमा काम गर्नुहुन्छ ? कति घण्टा काम गर्नुहुन्छ ? भनेर सोधिन्छ । यसले हाम्रो र उनीहरुको पेसा प्रतिको दृष्टिकोणमा स्पष्ट भिन्नता देखाउँछ । फलानोले के पेसा/नोकरी गर्छ ? यो हाम्रो चासो हो, अनि संस्कृति हो । यसैवाट हामी प्रशिक्षित छौं । त्यसैले यो हाम्रो शिक्षा पनि हो । फलानोले कति इमान्दारिता र प्रभावकारिताका साथ काम गर्छ ? यो प्रश्न हाम्रो संस्कृतिमा गौण देखिन्छ ।
तुलनात्मक रुपमा हेर्दा विकसित देशहरु र हाम्रो समाजमा श्रमप्रतिको दृष्टिकोणमा ठूलो भिन्नता देखिन्छ । उदाहरणको लागि अमेरिकामा भवन निर्माण, विद्युत तथा धारा जडान मर्मत, घर पेन्टिङ्ग, ढल सरसफाई इत्यादि जस्तो शारीरिक श्रमजन्य कार्यहरुलाई अरु सामान्य कार्य (जस्तै पसलमा सामान बेच्ने, निरक्षण गर्ने) भन्दा दसगुणासम्म बढी परिश्रमिक दिइन्छ ।
यसको अर्थ जत्तिबढी श्रम, त्यत्ति नै सम्मान भन्ने बुझिन्छ । त्यसर्थ अमेरिकामा यस्ता कामहरु प्राप्त गर्न सामान्य व्यक्तिहरुमा तछाड मछाडको परिस्थिति सृजना भएको पाइन्छ । यस्ता कामदारहरुको आम्दानी बढी हुने भएकोले जीवनस्तर तथा जीवन शैली आकर्षक हुन्छ ।
तर हाम्रो समाजमा यसको ठीक उल्टो परिस्थिति व्याप्त छ । सकी नसकी पसिना बगाई उच्च शरिरिक जोखिम मोलेर काम गर्नेहरुको परिश्रामिक नगन्य हुन्छ साथै उनीहरुलाई सामन्यतया समाजले हेर्ने दृष्टिकोण पनि निम्न हुन्छ जीवन स्तर पनि कठिन हुन्छ । तर दिनभर खुट्टा हल्लाएर हस्ताक्षर गर्ने तथा तोक लगाउने र पाएसम्म घूस खानेहरुको परिश्रमिक तथा सम्मान बढी हुन्छ ।
जीवनशैली आरामदायी हुन्छ । जसले गर्दा परिश्रम गर्नेहरुमा नैराश्यता तथा हीनताको भावना पैदा हुन गई विदेश पलायन हुने क्रम बढ्दै गएको यथार्थ स्पष्ट देख्न सकिन्छ ।
अर्कोतर्फ विकसित देशमा मानौ कुनै एउटा होटलमा म्यानेजरदेखि लिएर क्लिनरसम्म सबैलाई आआफ्नो काममा उत्तिकै समान महत्व तथा जिम्मेवारी प्रदान गरिनु, समान व्यवहार गरिनु र उत्तीकै सम्मानपूर्ण दृष्टिकोणले हेरिनुले गर्दा नेपालमा त्यही पेसा तथा नोकरी गर्न हिच्चिाउनेहरु विदेशमा गई त्यही कार्य आत्मसम्मानका साथ गरिरहेको तीतो यथार्थ छलङ्ग देख्न सकिन्छ ।
शिक्षा र संस्कृतिलाई एक अर्काका परिपूरक मानिन्छ । संस्कृति मूल्यमान्यता तथा दृष्टिकोणको समग्र रुप हो । संस्कृतिले परम्परा, धर्म,रीतिरिवाज इत्यादि सम्बन्धी विचारहरु बोकेको हुन्छ । शिक्षालाई संस्कृतिको संवाहकको रुपमा लिइन्छ । प्रत्येक समाजको शिक्षाले त्यहाँको संस्कृति बोकेको हुन्छ । संस्कृतिले शिक्षाको ढाँचा निर्माण गरेको हुन्छ भने शिक्षाले चेतनाको माध्यमद्वारा संस्कृतिको सुधार तथा पुनःनिर्माण गर्दछ ।
अर्थात संस्कृतिले शिक्षालाई प्रभावित गरेको हुन्छ भने शिक्षाले संस्कृतिको विकास गर्नमा ठूलो योगदान पु¥याएको हुन्छ । ठूलो भएपछि कि त डाक्टर कि त इन्जिनियर बन्नु पर्दछ भनेर एकोहोरो रुपमा बाल बालिकालाई रटाइने संस्कृति हामीमा अझै व्याप्त छ ।
डाक्टर इन्जिनियर इन्यादि बाहेक अरु त पेसा नै होइनन् भन्ने संस्कृति बोकेको हाम्रो शिक्षाले विद्यार्थी तथा अभिभावकमा एक खालको विकृति थोपरेको पाइन्छ । व्यक्तिगत क्षमता, रुचि तथा आवश्यकताहरुलाई एकतिर पन्छाएर डाक्टर, इन्जिनियर बन्ने बनाउने होडबाजीले अस्वस्थ प्रतिस्पर्धा, शिक्षामा व्यापारीकरण र भ्रष्टचार निम्ताएको यथार्थलाई नकार्न सकिदैन ।
यसको सबभन्दा घातक पक्ष त अन्य पेशाप्रति निम्न दृष्टिकोणको विकास भई व्यवसायिक सीपमूलक, कृषिजन्य र घरेलु व्यवसाय तथा पेसाहरु ओझेलमा परेका छन् ।
अर्कातर्फ हिन्दु परम्परा बोकेको हाम्रो संस्कृतिले कथित उच्च र निम्न जात तथा वर्णका आधारमा पेसा विभाजन गरिदिएकोले कुनै पनि पेसालाई हेर्ने दृष्टिकोणमा भिन्नता सृजना गरी धेरै हदसम्म कुनै पनि काम तथा पेसालाई ठूलो तथा सानोको संकुचित घेरामा राखेको अवस्था अझै पनि समाजमा व्याप्त देखिन्छ ।
कुनै एक ब्राम्हणको पैसावाल छोरोले मरेका र मारिएका जनावरहरुको छाला जम्मा गरेर व्यवस्थित रुपमा प्रशोधन गरी स्तरीय छाला उत्पादन गरी अन्य मुलुकमा निर्यात गर्ने सोंच किन गर्दैन ? यो सोंचलाई कुन कुराले रोकेको छ ? यस्तो सोंचको विकास हाम्रो समाजमा कहिले होला ?
यी प्रश्नहरुको जवाफदेहितामा हाम्रो संस्कृति र शिक्षा दुबैको जिम्मेवारिता देखिन्छ । परम्परा देखिनै कडा परिश्रम प्रयोग हुने र जोखीमपूर्ण पेसा तथा कामहरु कथित तल्लो जातिको भागमा जन्मजात रुपमा पर्नु, उनीहरुको कामलाई तुच्छ दृष्टिकोणले हेरिनुमा सर्वप्रथम हाम्रो संस्कृति जिम्मेवार छ त्यसपछि परम्परा, अन्धविश्वास, अव्यवहारिकता र अवैज्ञानिकता बोकेको हाम्रो शिक्षा जिम्मेवार देखिन्छ । जुन पेसा अथवा काममा बढी पसिना बगाउनु पर्दछ । त्यही पेसालाई अपमान तथा हेला गर्नु भनेको त सिधै श्रमको अपमान गर्नु हो ।
श्रमको अपमान गर्नु भनेको सीप विकास तथा व्यवसायिकतालाई निरुत्साहित गर्नु हो, उत्पादनमा कमी ल्याउनु हो । विकासको गतिलाई घटाउनु हो । जापान, चीन अमेरिका जस्ता देशहरुमा उच्च विकास हुनुको मूलभूत श्रेय त्यहाँको जनशक्तिलाई मानिन्छ । अमेरिकाका प्रसिद्ध कुटनीतिज्ञ ग्रोभर क्लेभल्याण्डका अनुसार अमेरिकाको समृद्धिको मूल मर्म भनेको साँचो श्रमको पहिचान तथा सम्मानद्वारा इमान्दारिताका साथ पसिना बगाउनेहरुको आत्मसम्मानको बृद्धि गर्ने हुनुपर्दछ भनी उल्लेख गरेको पाइन्छ । त्यसैगरी जापानको जन, त्यहाँको धन भन्ने प्रचालित भनाइले पनि मेहनेत गर्ने परिपाटिको सम्मान गरेको पाइन्छ ।
त्यस्तै चीनको सन्दर्भमा हेर्ने हो भने १९४९ मा चीन स्वतन्त्र भए पश्चात अन्धविश्वासी संस्कृतिमा पूर्ण रुपमा बन्देज लगाई परिश्रममा विश्वास गर्ने, कामदारलाई सम्मान गर्ने श्रमको आदर गर्ने कुराहरुलाई शिक्षाको मूल उद्देश्यमा समाहित गरी कडाईका साथ कार्यान्वयनमा ल्याएको पाइन्छ । तर हाम्रो देशको शिक्षा आफैमा परम्परावादी, अव्यवहारिक अवैज्ञानिक तथा सिद्धान्तमुखी भएकोले अन्ध विश्वासबाट ग्रसित संस्कृतिलाई परिवर्तन र परिमार्जन गर्न नसकेको अवस्था देखिन्छ ।
त्यसर्थ शिक्षालाई वैज्ञानिक, कार्यमूलक र उत्पादनमुखी बनाउन सकिएमा कार्य अर्थात काममा विश्वास गर्ने परिपाटीको विकास भई समाजमा मेहेनत तथा श्रम गर्ने र श्रमलाई सम्मान गर्ने परिपाटीको विकास हुन गई उत्पादन मुखी क्रियाकलापहरुद्वारा समाजको तथा सम्पूर्ण राष्ट्रको विकासले गति लिने कुरामा दुइमत नहोला ।
वैज्ञानिक तथा व्यवहारिक शिक्षाको माध्यमद्वारा हरेक पेसालाई सम्मानित बनाउन तालिमको व्यवस्था गर्नु, उपयुक्त नीति नियम निधारण गर्नु, लाइसेन्सको व्यवस्था गर्नु, बालबालिकालाई कार्यस्थलमा लगि प्रत्यक्ष्य सहभागी गराई प्रयोगात्मक कक्षा सञ्चालन गर्नु जस्ता रणनीतिहरु अपनाएमा श्रमलाई सम्मान गर्ने संस्कृतिको विकास भई उत्पादनमुखी र विकासमुखी समाजको स्थापना हुने थियो कि ?
प्रकाशित मिति : बिहिबार, जेष्ठ ३ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्