धारामा धमिलो पानी, उपमहानगर भन्छ–बाध्यता हो

धारामा धमिलो पानी, उपमहानगर भन्छ–बाध्यता हो

बुटवल । बुटवल मिलनचोक बस्ने कमल बरालको घरमा असार लागेसंगै धमिलो पानी आएको छ । दिनदिनै धमिलो पानी आएपछि उनी पानी किन्न बाध्य छन् ।
उनीमात्रै होइन खानेपानी संस्थान वुटवलले वितरण गरेको पानी धमिलो आएपछि मिलनचोक, सुख्खानगर, दीपनगर क्षेत्रका उपभोक्ता हैरानीमा छन् । ‘धमिलो पानी उमाल्दा पनि खान लायक देखिदैन, जारको पानी नकिनी हुदै हुदैन, उनले भने ।

धारामा आएको दुषित पानीले पानीजन्य रोग लाग्ने जोखिम भएपछि उपभोक्ता अन्य विकल्पहरु प्रयोग गरिरहेका छन् । यसले उनीहरुको दैनिक जीवनमा खर्च बढेको छ । एकातिर घरमा रहेको धाराको पानीको मासिक शुल्क बुझाउनै पर्छ भने त्यही धारामा आएको पानी प्रयोग गर्न लायक नभएपछि थप रुपैयाँ खर्चेर बजारबाट पानी किन्नुपर्छ । तिनाउमा बाढी आउन शुरु भएयता धारामा धमिलो पानी आउन थालेको छ । खानेपानी संस्थाले बुटवलमा वितरण हुनेमध्येका झण्डै ६० प्रतिशत पानी तिनाउबाट लिफ्टिङ गर्दै आएको छ ।

खानेपानी संस्थानले बाढी आएको समयमा मात्र धमिलो पानी धाराहरुमा जाने गरेको बताएको छ ।
संस्थानका प्रमुख बुद्वरत्न महर्जनले धाराको पानी धमिलो भए पनि पीउन योग्य रहेको बताए । ‘धमिलो पानी समस्या हो, तर पानी दुषित छैन । हामीले पानीमा रहेका किटाणु मार्ने औषधि राखी पानी शुद्विकरण गरेर पठाएको छौ, उनले भने ।

उनले वर्खासम्म धमिलो पानी आउने समस्या रहि नै रहने स्पष्ट पारे । तिनाउमा वारपार बाढी भएको कारणले धमिलो पानी आएको हो । बुटवलबासीले धमिलो पानी खानुपर्ने बाध्यता नौलो भने होइन । बुटवलमा खानेपानी ल्याउनका लागि करोडौंका योजना सञ्चालनमा रहेपनि धमिलो पानीको बाध्यता टरेको छैन ।

बुटवल उपमहानगरपालिका प्रमुख शिव सुवेदीले तत्कालका लागि बुटवलमा धमिलो पानी पठाउनु बाध्यता भएको बताए । ‘अहिलेका लागि यो बाध्यता नै हो, उनले भने–‘छ्ट्टिै धमिलो पानी खानुपर्ने बाध्यताको हामी अन्त्य गर्छौ ।’

अहिले तिनाउ नदीबाट पानी तान्नका लागि १७ वटा बोरिङ छन् । जसमध्ये ४ वटा बोरिङ मात्र चल्ने गरेको बताउँदै उनले संरचना अनुसार बोरिङको पानीलाई शुद्विकरण गरेर पठाएको जानकारी दिए ।
४० वर्ष अघि बनाएको संरचनाले गर्दा बाढी आउदा समस्या आउने गरेको खानेपानी सस्थानले बताएको छ ।

त्यो बेलाको संरचना त्यति बेलाको जनसंख्यालाई मात्र मध्यनजर गर्दे बनाईएको बताउँदै अहिले उत्पादन बढईएता पनि संरचना (शुद्विकरण गर्ने प्रबिधि) राम्रो बन्न नसक्दा समस्या देखा परेको खानेपानी संस्थान बुटवलका प्रमुख महर्जनले बताए ।

५० लाख लिटर पानी अपुग
बुटवलमा दैनिक ३ करोड लिटर पानी उत्पादन हुने गरेको खानेपानी संस्थान बुटवलले जनाएको छ । वुटवलका लागि यो उत्पादनले नपुगीरहेको बताउँदै संस्थान प्रमुख महर्जनले अझै ५० लाख लिटर पानी आवश्यक रहेको बताए ।

यसका लागि झुम्सा खोलाको आयोजनाबाट वुटवल उपमहानगरपालिकाका १९ वर्ट वडालाई कभर गरेर पाइप बिछाएर वितरण प्रणालीमा जाने योजना रहेको संस्थानले जनाएको छ । बुटवलमा पानी पूरा मात्रामा पुग्न अझै ३ वर्ष लाग्ने अनुमान गरिएको उनले बताए ।

उनका अनुसार झुम्सा खोलामा समस्या आउन सक्ने बताएका छन् । त्यहाँका स्थानीयले बाटो पिच, खानेपानी व्यवस्थापनको माग गरेको हुँदा केहि समस्या आउन सक्ने बताए । उनी भन्छन्–‘ उपमानगरपालिका, सडक यातायात र नेपाल सरकारसँग सहकार्य गरी माग पूरा गर्दिन सोचमा छौ ।’

खानेपानी संस्थान बुटवलमा ०७४ चैत मसान्त सम्ममा १५ हजार ५ सय ६० को संख्यामा पानी प्रयोग गर्ने उपभोक्ता रहेका छन् ।

प्रकाशित मिति : शुक्रबार, असार २९ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij