बुटवल : कुनै बेलाका शिक्षक, सञ्चार उद्यमी, कुनै बेलाका बैंकर, अहिले गाई गोठमा व्यस्त छन्। रुपन्देहीको तिलोत्तमा टिकुलीगढमा छ यिनको गाई गोठ। देशकै ठूलो गाई गोठका मालिक हुन् शशी पौडेल–राष्ट्रपति विद्यादेवी भण्डारीबाट जनसेवा श्री पदक २०७५ पाएका।
२०६७ वैशाखमा सञ्चालनमा ल्याएको गोठको नाम हो–लुम्बिनी एग्रो एण्ड रिसर्च सेन्टर। गोठमा छन् ४ सय ५० गाई। एउटा गाईलाई १ लाखदेखि १ लाख ५० हजारसम्म पर्छ। १ सय ५० करोड लगानी पुगेको गोठमा ३५ जनाले काम गर्छन्।
गोठका १ सय ७० गाईले एक दिनमा २ हजार लिटर दुध दिन्छन्। दुध बुटवल, भैरहवाको बजारमा बिक्री हुन्छ। यी गाई दुहुने मेसिन जोडिएको छ। एकैपटक २५ वटासम्म गाई मेसिनले दुहुन्छन्। यो दुध बेचेर दैनिक १ लाखदेखि १ लाख ३० हजार रुपैयाँसम्म आम्दानी हुन्छ। यसको ६० प्रतिशतजति खर्च हुन्छ। फर्मकै २२ बिगाहा जमीन छ। जसमा गाईलाई चाहिने घाँस खेती हुन्छ।

कसरी खुल्यो गाई फर्म ?
पर्वतको कुर्घामा जन्मिएका हुन् शशी। रुपन्देही तिलोत्तमाका बासिन्दा यिनको लगाव शिक्षण पेशाबाट बैंक र सञ्चार उद्यमतिर थियो। ३० वर्षअघि ८ वर्ष जति जनजागृति माध्यमिक विद्यालयमा शिक्षण गरे। शिक्षणमा उनको मन बसेको थिएन। यहीबीचमा सन् २००१ मा अमेरिका भ्रमणको अवसर जुट्यो। दुई वर्षे कागजी बिदा लिएर अमेरिका भ्रमणमा निस्केका उनी एकसातामै फर्किए।
फर्किएपछि शिक्षणमा मन गएन। उनको मन ‘कृषि प्रधान देश नेपाल’लाई सार्थक बनाउनतर्फ पाइला चाल्यो। भन्छन्,–हामीले पाठ्यपूस्तकमै कैयौंपटक कृषिप्रधान देश भनेर पढ्यौं, तर हामी किसानका छोराछोरी त्यसमा सन्तुष्ट थिएनौं।’
उनलाई आत्मैदेखि लागेको थियो–कृषिमा केही गर्छु । उनी गाई पाल्ने योजना बुन्न थाले। शुरुमा ५ जना मिलेर कम्पनी दर्ता गरे। तिलोत्तमा नगरपालिका १४ मा ५ सयजति गाई पाल्न सकिने गोठ बनाउन थालेर गाई खोज्न थाले। होलिस्टन फ्रिजियन र जर्सी जातका २ सय ५० गाई गोठमा ल्याए।

यसबीचमा उनका साझेदारमध्येका २ जनाले उनको साथ छाडे। तर उनले हार खाएनन्। ‘त्यसबेला गाई पालेर फाइदा हुनसक्छ भन्ने थिएन,–उनी सुनाउँछन्–मसँग भएका दुईजना साथीहरु जो पशु क्षेत्रमै हुनुहुन्थ्यो, उहाँहरुले प्रगति हुने देख्नुभएनछ, अनि छाड्नुभयो।’
२ जनाले साथ छाडेपनि अरु ३ जनाले योजना अघि बढाए। गाईले दुध दिन थाले। आम्दानी हुँदै गयो। गाई फर्ममा उत्पादन भएको गोबरलाई कम्पोष्ट मल बनाउने, गोबर ग्यास निकाल्ने योजना पनि अघि सारे उनले। नयाँ नयाँ योजनाहरु थपिदै थिए। तर यहीबीचमा अरु २ जनाले उनको साथ छाड्ने मनस्थिति बनाएछन्।
‘काम गर्दै जाँदा तपाइँलाई असजिलो भयो जस्तो लाग्यो, हामी बाहिरिन्छौं, तपाइँले निर्धक्क चलाउनुस् भनेर सहमतिमै राम्रैसँग छाड्नुभयो–एक्लिएका पौडेल सुनाउँछन्–साथीहरुले योजनाबाट हात झिकेपनि म निरन्तर अघि बढेँ।’
२ सय ५० गाईबाट ४ सय ५० पुगे। वार्षिक ४–५ करोडको कारोबार हुन थाल्यो। जब गाई फर्म सफलतातर्फ मोडियो, सबैका दृष्टि पर्न थाले।
उनले पूर्व राष्ट्रपति रामवरण यादवबाट विकास रत्न पाए। अहिले जनसेवा श्री पदक। अरु पनि पशु, कृषिसम्बन्धी धेरै पुरस्कारहरु पाइसके। भन्छन्–म एउटा निरन्तर अघि बढिरहने यात्री हुँ, अघि बढिरहन्छु।’
यस्ता छन् सपना : युरोपियन गुणस्तरको डेरी प्रडक्ट, एग्रो ग्राम र रिर्सोट
सुन्दा धेरै ठूला सपना थिएनन्। तर सपनाको दायरा फराकिलो थियो। मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउन एउटा पाइला चाल्ने। सपना साकार पार्न अरु धेरै योजनाका पोकाहरु उनले तयार पारेका छन्।
‘बायो ग्यास, बायो इलेक्ट्रिसिटी, बायो अर्गानिक फर्टिलाईजर, अर्गानिक एग्रो रिर्सोट, एग्रो चिल्डेन पार्क, कृषि पर्यटनको पूर्वाधार, सीटीइभीटीमार्फत भेटेनेटरी डिप्लोमा कक्षा सञ्चालन, फर्मलाई चाहिने दाना आफै उत्पादन र शशुल्क तथा निशुल्क वृद्धाश्रम सञ्चालन, यी योजना पूरा गर्न बाँकी नै छ,–पौेडेलले सुनाए।
योजना अरु पनि छन्–‘इजरायली कम्पनीसँग मिलेर युरोपियन र अमेरिकन गुणस्तरको दुग्ध उत्पादन गर्ने। उनले कम्पनीसँग सहमति पनि गरिसकेका छन्। इजरायलको एबीइएल नामको कम्पनीले छिटै नै उत्पादनका लागि प्रक्रिया थाल्दैछ। ‘३५ करोडको यो प्रोजेक्टमा उपकरण, प्रविधि र व्यवस्थापन इजरायली कम्पनीकै हुनेछ, उनी भन्छन्–डेरीका सबै उत्पादनहरु हामीले गर्नेछौं।’

त्यसका लागि दैनिक २० हजार लिटर दुध चाहिन्छ। २ हजार लिटर आफ्नै फर्मबाट उत्पादन भएपनि १८ हजार लिटर दुध किन्ने सोंचमा छन् पौडेल। ‘दुग्ध सहकारीहरुको दुध परीक्षण गरेर हामीले लिने सोंच बनाएका छौं, उनले भने–गुणस्तरलाई एकदमै प्राथमिकतामा राख्नेछौं र यहाँ उत्पादन भएको सामान नेपालका मुख्य शहरहरुमा पु¥याउने योजना छ।’
स्वास्थ्यका लागि हानिकारक कोल्ड ड्रिङक्सलाई बिस्थापित गर्ने गरी मोही र मिल्क सेक पनि ल्याउने तयारीमा छन् उनी। ‘विदेशमा जसरी खाद्यपदार्थमा सचेतना बढेको छ, हामीकहाँ पनि विस्तारै बढ्दैछ, त्यसलाई बानी पार्नका लागि हामीले स्वास्थ्यका लागि लाभदायक खाद्यवस्तुहरु उत्पादन गर्ने छौं–उनले सुनाए।
साथसाथै खाद्यमा पनि हात हाल्दैछन् पौडेल। ‘पास्ता, कुकिज, कर्नफ्लेक्स, मसलाहरु, जस्ता खाद्यसामग्री पनि हामीले उत्पादन थाल्दैछौं–उनी भन्छन्–यो काम अबको केही महिनाबाटै शुरु हुनेछ, खाद्य उद्योग ग्राम बनाउने सोंच छ।’
यसो गर्दा उनले थप १ सय भन्दा बढीलाई रोजगार दिनेछन्। यतिमात्रै पनि हैन, उनको दिमागमा अरु पनि सपनाका तानाबाना छन्। पर्यटकलाई तान्ने खालको सुविधा सम्पन्न एग्रो रिर्सोट। बालबालिकालाई भुलाउन सुविधा सम्पन्न चिल्ड्रेन पार्क।
गाईको गोबरबाट बिजुली
फर्मबाट उत्पादन हुने गोबरबाट बिजुली निकाल्ने सोंचमा छन् उनी। ‘७ सय ५० किलोवाट विद्युत उत्पादन हुने क्षमताको प्लान्ट छ–उनले भने–अबको केही महिनामा ३ सय किलोवाट बिजुली उत्पादन हुँदैछ।’
उनले त्यसका लागि संरचना निर्माण गरिरहेका छन्। उत्पादन भएको बिजुली फर्ममा नै प्रयोग हुनेछ। गाई दुहुन, पानी तान्न, खाना पकाउनका लागि त्यो बिजुली प्रयोग हुनेछ।
जंक फुडको विकल्प : प्याकिङ गरेको खिर
विद्यार्थीले जंक फुड नास्ताका रुपमा प्रयोग गरेको उनलाई चित्त बुझेको छैन। त्यसको विकल्पमा उनले सोंचे–खिर पकाएर प्याकिङ गरेर स्कुल पठाउने। उनको यो योजना पनि छिटै शुरु हुँदैछ।
‘९–१० दिनसम्म नबिग्रिने गरी र स्वास्थ्यलाई हानि नगर्ने गरी प्याकिङ गरेर गुणस्तरीय हिसाबले बजारमा पठाउने सोंच छ, यसका लागि २० लाख रुपैयाँ लगानी लाग्ने अनुमान छ, उनले भने–यसको आन्तरिक तयारी सबै सकिएको छ, अब छिटै नै काम थाल्दैछौं।’ यो खिर शुरुमा उनले रुपन्देहीको बजारमा केन्द्रित गर्नेछन्। ‘माग कस्तो आउँछ, त्यसैअनुसार अघि बढ्छौं–उनले भने।

टिकटबाटै लाखौं कमाई
देशकै ठूलो गाई फर्म। देशभरका किसान र किसानी गर्न चाहनेहरुका लागि उत्सुकताको विषय हो। यही उत्सुकता मेटाउन देशभरका जाँगरिला किसान उनलाई भेट्न आउँछन्।
गोठ हेर्न आएको शुल्क लाग्छ। प्रति व्यक्ति ५० रुपैयाँ। ‘सिजनको बेलामा एक दिनमा २ सय ५० जना आउँछन्, गाई, गोठ र यहाँको व्यवस्थापन हेर्छन् र खुशी भएर जान्छन्–उनले सुनाए। उनले गोठ देखाएरै मासिक साढे ३ लाख जति कमाउँछन्। वर्षमा ४ करोडजति।
सरकारसँग गुनासा पनि छन्
शशी भन्छन्–सरकारले कृषिलाई प्राथमिकतामा राख्नुपर्छ।’ किन ? उनी तर्क गर्छन्–‘दुई तीब्र विकास भएका मुलुकका बीचमा रहेका हामीकहाँ अरु उद्योग धन्दा गरेर विकासको गति समात्न सकिदैन, हामीसँग भएका चीज हुन् कृषि र पर्यटन।’
उनी कृषिलाई पर्यटनसँग जोड्न चाहन्छन्। पर्यटनलाई कृषिसँग। त्यसैले उनी एग्रो रिर्सोट र पार्क बनाउने सोंचमा छन्। ‘हामीकहाँ विकासका लागि बाटो देखाउने र साथ दिने चलन छैन, प्रगति गर्न चाहनेलाई अनावश्यक दुःख दिने चलन छ, उनी दुःखेसो पोख्छन्–बैंकमै हेर्नुस् न, गाडी चढ्छु ऋण लेऊ भन्ने हो भने ७–८ प्रतिशत ब्याजमा सजिलै ऋण पाइन्छ, गाई पाल्छु, खेतीकिसानी गर्छु भन्ने हो भने अनावश्यक झन्झट र नीति ल्याउँछन्, १ अर्बको सम्पत्ति धितो राखेर २–४ करोड दिन पनि खोज्दैनन्, सेवा र शर्त जटिल बनाएर ब्याज दोब्बर लिन्छन्।’
उनलाई लाग्छ, यसले प्रगतितिर लैजान्न। ‘हामी कसरी आयात रोक्ने भन्नेतिर ध्यान दिन जरुरी छ, उनले तर्क गरे–अरु उद्योगधन्दा गरेर आयात रोकिन्न, सबै उतैबाट ल्याउनुपर्छ, आयात रोक्न कृषिमै जोड दिनुपर्छ।’
प्रकाशित मिति : बुधबार, कार्तिक २१ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्