काठमाडौ । दैनिक उपभोग्य वस्तुको मूल्य निरन्तर उकालो लागेको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको असोज महिनाकाे तुलनामा चालू आवको सोही अवधिमा आम नागरिकको दैनिकी थप १ दशमलव ६ प्रतिशतले महंगो भएको छ ।
राष्ट्र बैङ्कले प्रकाशित गरेको चालू आवको ३ महीनाको आर्थिक तथा वित्तीय प्रतिवेदनले यस्तो देखाएको हो । गत आवको असोजमा ३ दशमलव १ प्रतिशत रहेको उपभोक्ता मुद्रास्फीति बढेर ४ दशमलव ७ प्रतिशत पुगेको केन्द्रीय बैङ्कले बताएको छ ।
समीक्षा अवधिमा खाद्यान्न, तरकारी, माछामासु तथा पेय पदार्थको मूल्य र घरभाडा बढ्दा समीक्षा अवधिमा समग्र उपभोक्ता मुद्रास्फीति बढ्न गएको बताइएको छ । भारतमा भने गतवर्षको तुलनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति शून्य दशमलव ३ प्रतिशतले घटेको छ । यसले नेपालमा आयातित वस्तुको तुलनामा आन्तरिक उत्पादनको मूल्य उच्चदरमा बढेको सङ्केत गरेको छ ।
केन्द्रीय बैङ्कका अनुसार २०७५ असोजमा नेपालको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४ दशमलव ७ प्रतिशत हुँदा भारतको ३ दशमलव ३ प्रतिशत रहेको छ । गतवर्षको सोही अवधिमा नेपालको मुद्रास्फीति ३ दशमलव १ प्रतिशत र भारतको ३ दशमलव ६ प्रतिशत थियो ।
गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति दर भने गतवर्षको सोही अवधिको तुलनामा शून्य दशमलव ५ प्रतिशत बढी देखिएको छ । २०७४ असोजमा ५ दशमलव २ प्रतिशत रहेको सो समूहको मुद्रास्फीति अहिले ५ दशमलव ७ प्रतिशत पुगेको तथ्याङ्कले देखाएको छ ।
यातायात, फर्निसिङ तथा घरायसी उपकरण, मनोरञ्जन तथा संस्कृति एवम् उपयोगी सेवालगायतको मूल्यमा वृद्धि भएकाले समग्र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति बढ्न गएको बताइएको छ ।
यसैगरी, खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २ दशमलव ९ प्रतिशतले बढेको छ । गत आव उक्त समूहको मुद्रास्फीति शून्य दशमलव ५ प्रतिशत रहेकामा चालू आवमा ३ दशमलव ४ प्रतिशत पुगेको तथ्याङ्कले देखाएको छ ।
राष्ट्र बैङ्कका अनुसार खाद्यान्न तथा खाद्यजन्य पदार्थ, मासु तथा माछा, घिउ तथा तेल एवम् सुर्तीजन्य पदार्थलगायत उपसमूहका वस्तुको मूल्य बढेका कारण समग्र खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति बढ्न गएको हो ।
क्षेत्रगत रूपमा सबैभन्दा बढी उपभोक्ता मुद्रास्फीति पहाडमा रहेको छ भने सबैभन्दा कम राजधानीमा देखिएको छ । मूल्यवृद्धिको मार काठमाडौं उपत्यकामा भन्दा अन्य क्षेत्रमा धेरै भएको तथ्याङ्कले देखाएको छ ।
तथ्याङ्कअनुसार पहाडमा ६ दशमलव १ प्रतिशत, तराईमा ४ दशमलव ३ प्रतिशत, हिमालमा ४ दशमलव २ प्रतिशत र काठमाडौं उपत्यकामा ४ प्रतिशत मुद्रास्फीति रहेको छ ।
गत आवको सोही अवधिमा यस्तो मुद्रास्फीति ती क्षेत्रमा क्रमशः ३ प्रतिशत, ३ दशमलव ६ प्रतिशत, ५ दशमलव १ प्रतिशत र २ दशमलव ३ प्रतिशत रहेको थियो । २०७५ असोज महीनामा वार्षिक विन्दुगत थोक मुद्रास्फीति ९ दशमलव २ प्रतिशत रहेको छ ।
प्रकाशित मिति : सोमबार, मंसिर १० २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्