भीमदत्तनगर । नेपाल–भारत सिमाना नजिक आफ्नै भूमिमा कल्र्भट निर्माणको विषयलाई लिएर डेढ वर्षअघि कञ्चनपुरको पुनर्वास नगरपालिकाका गोविन्द गौतमले ज्यान गुमाउनु प¥यो । पुनर्वास नगरपालिकाको आनन्द बजार नाका अझै सञ्चालनमा आउन सकेको छैन ।
नेपाल–भारत संयुक्त सर्वे टिमले सिमा विवाद समाधान गरी कल्भर्ट विवादको समाधान खोजिने बताए पनि अहिलेसम्म त्यसको टुङ्गो लाग्न सकेको छैन । घटनाको झण्डै वर्षदिनपछि स्थानीयवासी र सीमापारीका भारतीय नागरिक कल्भर्ट छलेर सीमामा ओहोरदोहोर गरिरहेका छन् ।
उक्त सीमा नाका सञ्चालन गर्न विभिन्न ठाउँबाट गरिए पनि अझै खुल्न सकेको छैन । भारतीय सुरक्षाकर्मीको गोली लागेर शहादत प्राप्त गरेका गौतमको विषयमा भारत अझै केही बोलेको छैन । भारतीय सुरक्षाकर्मीकै गोली लागि गौतमको मृत्यु भए पनि भारतले उक्त घटनामा आफ्नो संलग्नता स्विकारेको छैन ।
आनन्द बजारको कल्भर्ट निर्माण क्षेत्र भारतले आफ्नो भएको दाबी गर्दै आएको छ । पुनर्वास नगरपालिका–९ बीचफाटामा गत वैशाखमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तारजाली हाल्दा अवरोध पु¥यायो ।
बीचफाटाका स्थानीयवासीले उक्त विद्युतीय तारजाली भारतीय जङ्गलबाट आउने वन्यजन्तु रोक्न लगाएका थिए । उक्त विषयमा विवाद हुँदा केही दिन तनाव भयो ।
विवाद अघि सहमतिमै भारतीय दुधुवा राष्ट्रिय निकुञ्जबाट आउने जङ्गली जनावर नियन्त्रण गर्न बीचफाटामा दुई हजार ९०० मिटर क्षेत्रमा तार जडान गरिएको थियो ।
“तारजाली सहमतिमै जडान गरिएको थियो”, पुनर्वासका पत्रकार दीपेन्द्र बस्नेतले भने । सोही क्षेत्रमा रहेको प्यारातालको विषय पनि लामो समयदेखि विवादित छ ।
पुनर्वास नगरपालिकाको बीचफाटामा विवाद गरेको चार महीनापछि भारतले भीमदत्तनगरपालिका–९ ब्रह्मदेवमा एकलौटीरुपमा नेपाल–भारत सीमाक्षेत्रमा पक्की सडक निर्माण अघि बढायो ।
यहाँको मुख्य सीमास्तम्भ नं ३ छेउछाउमा करीब १३ सय मिटर वर (नेपालतर्फ) भारतले ठेक्कामार्फत सडक निर्माण थालेपछि ब्रह्मदेवका स्थानीयवासीले अवरोध पु¥याएका थिए ।
जिल्लास्तरबाट उक्त क्षेत्रको सीमा विवाद समाधान भएपछि काम अघि बढाउने मौखिक सहमतिपछि भारतले उक्त निर्माण रोकेको छ । ब्रह्मदेव क्षेत्रमा पनि लामो समयदेखि दुई देशबीच सीमा विवाद यथावत छ ।
सीमा विवाद सधैँ भइरहने ब्रह्मदेवका स्थानीयवासी बताउँछन् । मङ्गलबार भीमदत्तनगरपालिकाको गड्डाचौकी, जिमुवा हुँदै ब्रह्मदेव जोड्ने सडक निर्माणमा भारतीय सुरक्षाकर्मीले अवरोध पु¥याएका छन् ।
भीमदत्तनगरपालिकाले सडक बनाउन पठाएको जेसिभी भारतीय एसएसबीले दशगजा क्षेत्रमा सडक बनाउन लागेको दाबी गर्दै नेपाली पक्षलाई अवरोध पु¥याएका थिए । स्थानीयवासीका अनुसार उक्त जग्गा नेपाली भूमिमै पर्छ ।
सशस्त्र प्रहरी बल ३५ नं गण हेडक्वाटरका गणपति सशस्त्र प्रहरी उपरीक्षक विनोदराज श्रेष्ठले जिमुवा सडक निर्माणमा भएको अवरोधका विषयमा स्थानीय प्रशासनमा छलफल भइरहेको बताए।
“हामीले एसएसबीसित उक्त विषयमा समन्वय गरिरहेका छौँ”, उनले भने, “छलफल सकिएपछि भारतीय पक्षसित पनि थप समन्वय हुन्छ ।” उनले नेपाली भूमिमा सडक निर्माण हुँदा भारतीय पक्षले अवरोध गर्न नमिल्ने बताए।
सीमाबारे जानकार कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका मानसिंह भण्डारीले भारतीय पक्षको हेपाहा प्रवृत्ति बेलाबखत देखिने गरेको बताए । “यहाँ धेरै ठाउँमा विवाद यथावत छ,” उनले भने, “प्यारातालदेखि, सडकघाट हँुदै ब्रह्मदेवसम्म विवाद नै छ ।”
नेपाल–भारत सीमा स्तम्भ सर्वेक्षण, मर्मत सम्भार, नयाँ सीमा स्तम्भ निर्माण तथा पुनःनिर्माणको जिम्मेवारी पाएको प्राविधिकसहितको संयुक्त टोलीले संयुक्त बैठकपछि निर्णय गर्र्दै फिल्डमा काम गर्ने तयारी गरेको छ ।
टोलीले अघिल्लो आर्थिक वर्षमा केही स्थानमा सीमा स्तम्भ जीर्णोद्धारलगायत सर्वेको काम गरेको थियो । संयुक्त टोलीमा रहेका प्रमुख नापी अधिकृत जनकराज भट्टले केही दिनभित्रै संयुक्त टिमको बैठक बसेर काम थालिने बताए।
उनले बैठक भारतमा बस्ने सहमति भएको र फिल्ड सर्वे टिम हाल धनगढीमा रहेको जानकारी दिए । “हामीलाई कञ्चनपुर र कैलालीको सीमा क्षेत्रको कामको जिम्मेवारी दिइएको छ”, उनले भने, “नेपाल–भारत दुवैको सहमतिमा यहाँका सीमा स्तम्भ निर्माण तथा पुनःनिर्माण थालेका छौँ ।” रासस
प्रकाशित मिति : बिहिबार, मंसिर २० २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्