कञ्चनपुर: कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरण पछिल्लो समय झन् पेचिलो बन्दै गएको छ ।
पछिल्लो समय प्रहरीले पक्राउ गरेको दुई युवा विशाल चौधरी र प्रदीप रावललाई उक्त घटना भएको बेला प्रहरी हिरासतमै रहेको भन्ने खुल्न आएपछि घटनाको अनुसन्धान र दोषी को हो भन्ने विषयमा झन् पेचिलो बनेको हो ।
विशाल र प्रदीप निर्मला हत्या भएको अघिल्लो दिन कुखुरा चोरी गरेको अभियोगमा उनीहरू प्रहरी हिरासतमै रहेको स्थानीयले बताउँदै आएका छन् । तर प्रहरीले भने उनीहरूले निर्मलाको बलात्कारपछि हत्या गरेको स्वीकारेको बताउँदै आएका छन् ।
निर्मला हत्यामा उनीहरूको संलग्नता नरहेको विशाल र प्रदीपको परिवार र छिमेकीको भनाई छ ।
निर्मलाको बलात्कार भएको १० साउन बिहान करिब १० बजेपछि प्रदीपलाई वडा प्रहरी कार्यालयको नियन्त्रणमा लगेको र सोही दिन विशाललाई पनि प्रहरीले दिउसो १ बजे उनकै घरबाट नियन्त्रणमा लिएको थियो । दुवैमाथि कुखुरा चोरी गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएका थिए ।
दुवै जना कुलतमा लागेको र प्रहरीले प्रलोभन देखाएर घटनाको वास्तविक अपराधीलाई उन्मुक्ति दिन खोजेको उनीहरूको आफन्तको आरोप छ ।
प्रहरी नियन्त्रणबाट प्रदीप १२ साउन र विशाल ११ साउनमा छुटेका थिए । परिवारजनका अनुसार प्रदीप वडा प्रहरीको नियन्त्रणमै रहेका र १२ साउनमा मात्रै हिरासत मुक्त भएका थिए ।
वडा प्रहरी कार्यालयमा प्रदीपले कुखुरा चोर्ने काममा विशाल चौधरी पनि संलग्न रहेको बताएपछि प्रहरीले दिउसो १ बजे विशाललाई सालघारी स्थित घरबाट पक्राउ गरेको समेत परिवारजनले बताउँदै आएका छन् । तर प्रहरीले भने उनीहरूले कसुर गरेको स्वीकारेको दाबी गर्दै आएको छ ।
निर्मला हत्यामा संलग्नताको खोजी गरे पनि अहिलेसम्म पनि पक्राउ गर्न नसक्नु र पक्राउ गरेकाहरूमा पनि प्रमाण र आधारहरू नभेटेपछि प्रहरी प्रशासन थप विवादित बन्दै गएको छ । गत साउन १० गते हराएकी निर्मलाकाे लास ११ गते भेटिएकाे थियाे ।
प्रकाशित मिति : आइतबार, मंसिर २३ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्