काठमाडौँ : राजधानी काठमाडौँको न्यूनतम तापक्रम २ डिग्रीमा झरेको छ । न्यूनतम तापक्रम घटेसँगै उपत्यकासहित देशभर बढी चिसो महसुस गरिएको छ ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँको न्यूनतम तापक्रम २.६ र अधिकतम तापक्रम १७.७ डिग्री सेल्सियस रहेको छ । सोमबार काठमाडौँको न्यूनतम तापक्रम ३.५ र अधिकतमत तापक्रम १८ डिग्री सेल्सियस थियो ।
महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले अबको केही दिन न्यूनतम तापक्रम २ देखि ३ डिग्रीको हाराहारीमा रहने हुँदा अझै चिसो बढ्ने उल्लेख गरे । “अहिले जाडोको मध्य अवस्थामा छौँ, जनवरी महीनामा बढी चिसो हुने गर्छ, त्यसैले चिसोबाट सजग हुनुपर्ने देखिन्छ”,उनले भने।
न्यूनतम तापक्रम घटे पनि बिहानैदेखि सफा घाम लागेकाले सर्वसाधारणले केही राहत महसुस गरेका छन् । सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ७.२ डिग्री सेल्सियस पुगेको छ । त्यसैगरी दीपायल, डडेल्धुरा र वीरेन्द्रनगरको न्यूनतम तापक्रम २ डिग्री सेल्सियस रहेको छ । आज सबैभन्दा धेरै विराटनगरको न्यूनतम ९.५ र अधिकतम तापक्रम २६.४, सिमराको न्यूनतम ५ र अधिकतम तापक्रम २६.५ डिग्री सेल्सियस रहेको महाशाखाले जनाएको छ ।
यसैबीच मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्मको मौसम पूर्वानुमानसम्बन्धी विज्ञप्ति जारी गर्दै आज देशको पूर्वी पहाडी भू–भागमा आंशिक बदली रहने र अन्य स्थानमा मौसम सामान्यतया सफा रहने जनाएको छ । रातको समयमा पनि आंशिकदेखि सामान्य बदली रहने छ भने पश्चिमी क्षेत्रका उच्च हिमाली भेगका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
भोलि बुधबार पनि देशका पश्चिमी तथा मध्य भू–भागमा सामान्यदेखि पूर्ण बदली रहने र पूर्वी पहाडी भेगमा सामान्य बदली रहने छ । देशको पश्चिमी तथा मध्य उच्च हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले औँल्याएको छ । रासस
प्रकाशित मिति : मंगलबार, पुष १० २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्