बुटवल । रुपन्देही व्यापार संघको आयोजनामा ‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, शहरदेखि गाउसम्म व्यापार विस्तार’ भन्ने मूल नाराका साथ पुष ५ गतेदेखि सञ्चालित लुम्बिनी एक्स्पो–२०७५, अन्तराष्ट्रिय व्यापार मेला बुधवार समापन भएको छ ।
मेला आयोजना स्थल बुटवल मण्डपमा एक विशेष कार्यक्रमको आयोजना गरी एक्स्पोको समापन गरिएको थियो ।
यस पटकको एक्स्पोमा सहभागीहरुलाई प्रकृति र विशेषतालाई आधार बनाएर १२ वटा पेभेलियन निमार्ण गरी सहभागी गराइएको थियो ।
जस अन्तरगत आईटीमा ५८, स्वदेशी उत्पादनमा ५८, अन्तराष्ट्रियमा ३४, दैनिक उपभोग्यमा १०५, विविधमा ६५, फुटवयरमा ४४, गार्भेन्टमा १४६, अटोमा २०, होटेलमा २४ स्टलहरु सहभागिता रहेको थियो ।
एक्स्पोमा सहभागी स्टल र उद्योगहरुको मूल्याङ्कन गरी पुरस्कृत गर्ने निर्णयानुसार मुल्याङकन समितिको सिफारिसमा उत्कृष्ठ घोषणा गरि पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो ।
एक्स्पो सम्पन्न गर्नका लागि संघका अध्यक्ष पदम प्रसाद श्रेष्ठको संयोजकत्वमा १०१ सदस्यीय मुल समिति र ४२ वटा विभिन्न प्रकृतिका उपसमितिहरु गठन गरी काम गरिएको थियो । प्रदर्शनीमा करिव १० लाख दर्शकले अवलोकन गरेको र करिव ४० करोडको आर्थिक कारोवार भएको अनुमान गरिएको मेला मुल आयोजक समितिका सहसंयोजक यमलाल लोहनीले जानकारी दिनु भयोे ।
मेलालाई आर्कषक बनाउने क्रममा मेलाको मुल गेट लुम्बिनीस्थित मायादेवीको मन्दीर झल्कने गरी बनाएको थियो भने स्थलभित्र सचिवालय नजिक ऐतिहासिक जितगढी किल्लामा नेपाली विरताको झलक र संझना हुने गरि अग्रेजसंगको लडाई प्रस्तुत गर्दै पार्क निमार्ण गरेका थियो । जुन सबैको आर्कषकको केन्द्र बन्न पुग्यो ।
समापन समारोहमा प्रदर्शनीमा सहभागी स्टल र उद्योगहरुको मूल्याङ्कन गरी पुरस्कृत गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं. ५ का उद्योग, पर्यटन, वन तथा वातावारण मन्त्री लिला गिरी, संघ अध्यक्ष पदम प्रसाद श्रेष्ठले पुरस्कार तथा प्रमाणपत्रहरु वितरण गर्नु भएको थियो ।
सो अवसरमा सुरक्षामा सहयोग पु¥याउने सुरक्षा निकायका प्रमुख तथा मेला मुल आयोजक समितिका सदस्य, सल्लाहाकार तथा कर्मचारीहरुलाई कदर पत्र प्रदान गरिएको थियो ।
सहभागी सम्पूर्ण स्टलधनीहरुको तर्फबाट प्रथम एशियन कंक्रिट उद्योग, दोस्रो बुटवल स्टिल फर्निचर उद्योग प्रालि र तेस्रो जस्मिन हाईजिङ प्रोडक्स भएका छन् । कृषितर्फ पैचो पसल प्राली प्रथम, लुम्बिनी हाइड्रोपोलिक दोस्रो तथा स्पाइजर च्याउ कृषक समुह तेस्रो भएका छन् ।
प्रोत्साहानतर्फ प्रेममिस अल्लो पोशाक, पाल्पाली वास तथा हस्तकला, प्रान तथा बल्याकहर्स जुत्ता पुरस्कृत भएका छन् भने महिला पुरस्कार लाङ्घाली अचारले प्राप्त गरेको छ ।
समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि मन्त्री गिरीले रुपन्देही व्यापार संघले आयोजना गरेको एक्स्पोले यस क्षेत्रको आर्थिक, व्यवसायीक, कृषि, पर्यटन क्षेत्र विकासका लागि नयाँ बाटाहरु पहील्याउन प्रदेश सरकारलाई सजिलो हुने विश्वास व्यक्त गरे ।
उनले मुलुकले राजनीतिक आन्दोलन सकेर आर्थिक समृद्धिको बाटो समातेको अवस्थामा आयात मुखि अर्थतन्त्रको अन्त्यगरि निर्यात मुखि अर्थतन्त्र स्थापित गर्न सरकारले नीजी क्षेत्रको सहयोग र सहभागितामा काम गर्ने धारणा राखे ।
सो अवसरमा बोल्दै प्रदर्शनी मुल आयोजक समितिका संयोजक तथा रुपन्देही व्यापार संघका अध्यक्ष पदम प्रसाद श्रेष्ठले यस मेलावाट यस क्षेत्रको विकासमा दीर्घकालिन सकारात्मक प्रभाव पर्ने कुरामा विश्वस्त हुनुका साथसाथै व्यापार व्यवसायप्रतिको आमधारणामा परिवर्तन आउने आशा व्यक्त गरे ।
आर्थिक विकासको लागि प्रतिस्पर्धि वातावरण श्रृजना गर्नु मेलाको लक्ष्य थियो र यो मेलाको आयोजनालाई त्यसैमा ढाल्ने प्रयास गरेको बताउदै श्रेष्ठले त्यसमा कति सफलता हात लाग्यो त्यसको मुल्याङकन र परिणाम आगामी दिनमा देखिने विश्वास व्यक्त गरे ।
उनले मेलाको आयोजना सम्पन्न गर्न मद्दत पु¥याउने सम्पूर्ण संघ÷संस्था, संचारकर्मी, सहभागी उद्योग, कलाकार, दर्शक, उपभोक्ता, सुरक्षाकर्मी, कर्मचारीहरु तथा अन्य महानुभावहरुलाई धन्यवाद दिए ।
एक्स्पो मुल आयोजक समितिका संयोजक तथा रुपन्देही व्यापार संघका अध्यक्ष पदम प्रसाद श्रेष्ठको अध्यक्षता, प्रथम उपाध्यक्ष कृष्णप्रसाद घिमिरे स्वागत तथा सचिव दयानिधि भण्डारीको सञ्चालन तथा द्वितिय उपाध्यक्ष डिल्लीराज भण्डारीको धन्यवाद ज्ञापनमा भएको कार्यक्रममा व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका शाखा अधिकृत गणेश दाहाल लगायत बोल्नु भएको थियो ।
समापनका दिन बुधवार पनि मेलास्थलमा दर्शकहरुको उपश्थिति निकै थियो । मेला सचिवालयले दिएको जानकारी अनुसार अन्तिम दिन मात्र ४० हजारभन्दा बढी दर्शक मण्डपमा प्रवेश गरेका थिए । अन्तिम दिन अवलोकनकर्ताहरुले सामान बढी खरिद गरेको स्टलधनीहरुले जनाएका छन् ।
प्रकाशित मिति : बिहिबार, पुष १९ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्