थारू बस्तीमा ‘माघी’ को रौनक, कतै हर्ष कतै बिलौना, मुक्त कमैयाको मुहारमा छैन खुशी

थारू बस्तीमा ‘माघी’ को रौनक, कतै हर्ष कतै बिलौना, मुक्त कमैयाको मुहारमा छैन खुशी

नेपालगञ्ज । ‘माघ लहइली सुरीक सिकार खइली रे हाँ
सखी अइ हो माघके पिली गुरीगुरी जाँर
सकिरी गलियावामा लगल बजरिया रे हाँ
सखी अइ हो लानी दे हो भाटु नथिया बजार
सालीक नथिया भै ल रे महान…’

थारू समुदायको महत्वपूर्ण पर्व ‘माघी’ का अवसरमा गाइने यो गीत अहिले पश्चिम क्षेत्रका जिल्लामा बसोबास गर्ने थारू समुदायका घरआँगन अनि बस्तीमा उल्लासपूर्ण रूपमा गुञ्जायनमान भएको छ ।

आप्mनो वर्षभरिको दुःख, पीडा बिर्सदै आपसमा मिलेर गीत गाउँदै, नाँच्दै आफ्नो गाँउघर सिगार्नेदेखि पारिवारिक मिलनको उत्साह र उमङ्गले नेपालका आदिवासी थारू समुदायका गाउँबस्तीमा अहिले बालबालिकादेखि वृद्धवृद्धालाई माघी पर्वको रौनकले छपक्कै छोपेको छ ।

विशेषतः पुस २९ गतेबाट शुरु हुने सप्ताहव्यापी यो पर्वको तयारी थारू बस्तीमा अहिलेदेखि नै शुरु भइसकेको छ । माघी पर्व तयारीमा थारू समुदायले अहिले अन्नपात कुटानी, पिसानी गर्ने, लत्ताकपडा किन्ने गाउँघरको सरसफाइ गर्ने काम धमाधम गरिरहेको पाइन्छ ।

माघी पर्वका अवसरमा थारू समुदायले छोराछोरीको विवाह, अंशबण्डा, खेतीपातीको वार्षिक योजना निर्माण गर्नुका साथै परिवारका सदस्यको कामको बाँडफाँडसमेत गर्दछन् । माघी पर्वका अवसरमा विशेषतः ढिकरी, तरुल, सखरखण्ड, फर्सी उसिनेर खाने थारू अगुवा पत्रकार विश्वराज पछलडंग्या बताउछन् ।

उनका अनुसार, माघीको अघिल्लो रात सुँगुर काटी मासु खाने गरिन्छ, जसलाई थारू भाषामा ‘जिता मरना’ भनिन्छ । त्यसरात थारू समुदाय मासु, जाँड र ढिकरी खाई रातभर जाग्राम बसी ‘सखिया’ नृत्यमा रमाउने गर्दछन् ।

माघीको दिन (माघ १ गते) बिहान अँध्यारो छँदै उठेर नदी, जलासयमा गई लोटामा सिक्का राखिएको पानीले नुहाउने र नुहाइसकेपछि लोटाको सिक्का (पैसा) लुटाउने प्रचलन रहेको छ ।

माघीको अवसरमा तिलको आगो ताप्नाले वर्षभरि अन्जानवश गरिएको पाप नाश हुने थारू समुदायको धार्मिक विश्वास पनि रहिआएको छ । पर्वका अवसरमा थारू समुदायले आआप्mनो गाउँको बडघर (अगुवा) र चौकीदारसमेत चयन गर्दछन् ।

त्यस अवसरमा बर्दिया जिल्लाको ठाकुरद्वारा, बढैयाताल, बाँकेको बैजापुरस्थित भुँवरभवानी मन्दिरलगायतका धार्मिकस्थलमा ठूलो मेला लाग्ने गर्दछ ।

थारू समुदायले माघी पर्वका अवसरमा वर्षभरिको दुःख बिसाइरहेको अवस्था एकातर्फ छ भने अर्कोतर्फ सो समुदायका मुक्त कमैयाको मुहारमा अझै थुप्रै पीडा लुकेको देख्न सकिन्छ । कमैया मुक्ति घोषणाको १९ वर्षको अवधिमा पनि मुक्त कमैयाको समुचित पुनःस्थापना अझै हुन नसक्दा मुक्त कमैया माघी पर्वमा स्वछन्द रमाउन सकेका छैनन् ।

उनीहरुले अझै गाँसबासको समस्या झेलिरहेका छन् । अभावमा बाँच्न बाध्य मुक्त कमैयाका लागि चाडपर्व पनि उत्साहजनक हुन नसकेको उनीहरु बताउँछन् ।

सरकारले ‘कमैया मुक्ति’ घोषणा गरेर जग्गा उपलब्ध गराए पनि मुक्त कमैयाको समुचित जीवनयापन सहज हुनसकेको छैन । “जग्गा मात्र भएर के गर्ने, सरकारले उचित जीवनयापनका लागि ठोस कार्यक्रम हाम्रो लागि नल्याएपछि हामी बिचल्लीमा परेका छौँ”, बर्दिया जिल्ला बबई नगरपालिका निवासी मुक्त कमैया सोहन थारूको गुनासो छ ।

बाँके जिल्लाबाट सिफारिश गरिएका सबै एक हजार ८३६ मुक्त कमैयालाई सरकारले जग्गाधनी लालपुर्जा उपलब्ध गराएपछि विसं २०६६ मा ‘कमैया नभएको जिल्ला’ घोषणा गरिएको थियो ।

सरकारको निर्णयअनुसार त्यसबेला जिल्ला भूमिसुधार कार्यालयले जिल्लाका मुक्त कमैयालाई चार श्रेणी “जग्गा नभएका, ऐलानी जग्गामा बसेका, दुई कठ्ठाभन्दा कम जग्गा भएका र दुई कठ्ठाभन्दा बढी जग्गा भएका” भनी विभाजन गरी कूल दुई हजार २६७ मुक्त कमैयामध्ये माथिल्लो दुई श्रेणीका मुक्त कमैयालाई मात्र पाँच धुरदेखि पाँच कठ्ठासम्म जग्गा उपलब्ध गराई जिल्लालाई कमैया नभएको जिल्ला घोषणा गरेको थियो ।

तर, जग्गा पाएका मुक्त कमैया पनि अहिले सन्तुष्ट देखिएका छैनन् । “जग्गा मात्र भएर के गर्ने, सरकारले उचित जीवनयापनका लागि ठोस कार्यक्रम हाम्रो लागि नल्याएपछि हामी बिचल्लीमा परेका छौँ”, मुक्त कमैयाहरुको गुनासो छ ।

आफ्नो गाउँको छिमेकीको घरमा माघीको उन्मुक्त उत्साह देख्दा मुक्त कमैया भने आफ्नो भाग्यलाई नै दोषी मान्छन् । “के गर्ने हजुर भाग्यमा जे छ त्यसैलाई स्वीकार्नुको अरु विकल्प के नै हुन्छ र”, बाँके जिल्ला बैजापुर धामपुरका मुक्त कमैया रामआसरे चौधरीको बिलौना छ ।

तथ्याङ्कअनुसार, कैलालीमा ४४३, बर्दियामा ८०, बाँकेमा ३८, कञ्चनपुरमा ३७ मुक्त कमैया परिवारलाई पुनःस्थापना गर्न अझै बाँकी छन् । दाङमा भने सबै ५५५ मुक्त कमैया परिवारको पुनःस्थापना भइसकेको छ ।

दासप्रथाको रूपमा रहेको कमैया प्रथा २०५७ साल साउन २ गते अन्त्य भएको घोषणा गरिएको थियो । रासस

प्रकाशित मिति : शनिबार, पुष २१ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij