लुम्बिनीका रुख बिरुवा, किटपतङ्गको अध्ययन शुरु, अध्ययनले पत्ता लगाउनेछ बुद्धकालीन अवस्था

लुम्बिनीका रुख बिरुवा, किटपतङ्गको अध्ययन शुरु, अध्ययनले पत्ता लगाउनेछ बुद्धकालीन अवस्था

रुपन्देही : बुद्धजन्मस्थल लुम्बिनीमा जैविक विविधता सम्बन्धी अध्ययन शुरु गरिएको छ ।

एघार सय ५५ बिगाहा क्षेत्रफलमा फैलिएको लुम्बिनी बगैँचाभित्रका वनस्पति, रुख बिरुवा, जडीबुटी तथा जलचर, थलचर र किटपतङ्गको समेत अध्ययन शुरु भएको हो । लुम्बिनी विकास कोषले वनस्पति विज्ञहरुको सहभागितामा जैविक विविधता सम्बन्धी अध्ययन थालेको कोषका उपाध्यक्ष भिक्षु मैत्रेयले जानकारी दिए ।

यहाँ कति प्रजातिका वनस्पति छन् भन्ने विषयमा अध्ययन जरुरी छ,उनले भने-“अध्ययनपछि बुद्धकालीन वनस्पतिका बारेमा समेत थाहा हुनेछ । ”

लुम्बिनीमा वृहत वृक्षरोपण (फलफूलका बिरुवा) अभियान शुरु भएकाले यहाँ हाल रहेका फलफूल तथा वनस्पतिको अवस्था, लुम्बिनीको माटोमा हुर्किन सक्ने फलफूल तथा रुख बिरुवाका साथै तीनको संरक्षणका उपाय वनस्पति विज्ञले पत्ता लगाउने छन् ।

लुम्बिनीमा अहिले १५० प्रजातिका वनस्पति पाइने वनस्पति शाखा अधिकृत सब्बिर खाँन बताउँछन्। उनले भने,“अहिले नयाँ वनस्पति थप भए नभएको बारे अनुसन्धान थालेको छौ ।”हालसम्म लुम्बनीमा १२ प्रजातिका बुद्धकालीन समयका बिरुवा वनस्पति विज्ञ अच्युत तिवारी जानकारीले दिए । यहाँ बुद्धकालीन समयका महत्वपूर्ण वनस्पति भेटिएका छन् ।

उनी भन्छन् -“ती यही उत्पादन भएका हुन कि बाहिरबाट ल्याएर लगाइएको हो भन्नेबारे अनुसन्धान भइरहेको छ ।” यहाँ रुख बिरुवा हुर्काउनका साथै जलचर प्राणीको वासस्थान विस्तार गर्न विकास कोष क्षेत्रभित्र १० वटा ठूला पोखरीको निर्माण समेत शुरु भएको छ ।

हाल रहेका वनस्पतिको संरक्षण गर्दै थप कति प्रजातीका वनस्पति हुर्किन सक्छन् भन्ने विषयमा विज्ञहरुले अध्ययन गर्ने लुम्बिनी विकास कोषले जनाएको छ । लुम्बिनीमा हाल आँप, पिपल, सिसौ, जामुन, निमलगायत वनस्पति र मृग, निलगाई, बँदेल, कछुवा, सर्प, लोखर्के पाइन्छन् । साथै सारस लगायत जलचर, थलचर जीव जन्तु तथा पक्षी पनि छन् ।

लुम्बिनी चराचुरुङगीका लागि समेत उपयुक्त वासस्थान मानिन्छ । यहाँ सारस कोइली, भद्राई, कालो चिबे, मधुमक्षी, विभिन्न प्रजातिका बकुल्ला, भुडिफोर, घोगीफोर, कालोगण्ड, हरिहाँस, बिजुलगैरे, सानो जलेवा, सावरी, कुर्मा, लालसर, लामोऔले, मरुल, जलअप्सरा, छुट्टिच्याउँ, टमटमे, आँसीठुडे, पानीचाहा र तोमुनीया, छिर्केमुनीया, सुनचरी, काजले सुनचरी, माटोकोरे, काफलपाक्यो, कोकले,साइबेरीयन रुबि, रानीचरी, लगायतका २२२ प्रजातिका चरारा पाइन्छन् ।

वनस्पति र जीवजन्तुलाई संरक्षण गर्नसकेमा मात्र जैविक विविधताको संरक्षण गर्न सकिने भएकाले तिनको संरक्षणमा ध्यान दिन आवश्यक रहेको वनस्पतिविद्हरू बताउँछन् ।

प्रकाशित मिति : शनिबार, पुष २१ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij