स्याङ्जा — समर्थकको अत्याधिक खोजीमा रहेकी गायिका विष्णु माझी स्याङ्जा जिल्ला प्रहरी कार्यालयमा देखा परेकी छिन् ।
आइतबार करिब ११ बजे जिल्ला प्रहरी कार्यालय अगाडि बा२ज २०९२ नम्बरको सेतो कलरको ट्याक्सीमा गाढा रातो रङ्गको लामो लुङ्गीमाथि कालो रंगको ओभर कोट लगाएकी, पुरै टाउको छोप्ने गरी कालो पछ्यौरा बेरेको, कालै माक्स लगाएको अवस्थामा माझी देखा परेकी हुन् ।
उनी श्रीमान् सुन्दरमणी अधिकारीसँगै ट्याक्सीमा आएकी हुन् । तर, दुवै जनाले पत्रकारसँग कुरा गर्न र फोटो खिचाउन मानेनन् ।
प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाको निर्देशनपछि एसपी राजकुमार लम्सालको सक्रियतामा माझी दम्पती जिल्ला प्रहरी आइपुगेका हुन्।
विष्णु र सुन्दरमणि आएसँगै विष्णुकी बहिनी जीवन, दाजु बाबुराम, बाबु ताराबहादुर र आमा धर्मकुमारी पनि सँगै आइन्।

एसपी लम्सालले सुन्दरमणिको फोन नम्बर खोजेर सम्पर्क गरेपछि उनीहरू प्रहरी कार्यालय आएका थिए।
‘सुन्दरमणिलाई बिहीबार फोन गरेको थिएँ’ एसपी लम्सालले भने, ‘विष्णुजी आउनुहुन्छ कि तपाईँले ल्याउनुहुन्छ? यदि तपाईँले नल्याए हामीले ल्याउनु पर्ने हुन्छ भनेको थिएँ। सुन्दरमणिले शुक्रबार र शनिबार व्यस्त भएकाले आइतबार आउने वचन दिएका थिए, आए।’
विष्णु, सुन्दरमणि र विष्णुको परिवारसँग प्रजिअ निरौला, एसपी लम्साल, प्रमुख प्रशासकीय अधिकृत यादवराज शर्मा र राष्ट्रिय अनुसन्धान प्रमुख रोशन केसीसहितले छलफल गरेका थिए। सुन्दरमणिसँगै बसेका विष्णुले छलफलमा थोरै मात्र बोलेको र प्रश्नहरूको उत्तर सुन्दरमणिले नै दिने गरेको बताइएको छ।
त्यहाँ आउनुअघि नै मिडियासँग कुरा नगर्ने बताएकाले मिडियालाई भने छलफलमा सहभागी गराइएको थिएन। छलफलका क्रममा सुन्दरमणिले आफ्नो छुट्टै एउटा लक्ष्य भएकाले सार्वजनिक नभएको बताएका थिए। एसपी लम्सालले भने, ‘विष्णुजी त्यति खुल्नु भएन। गाउँले भाषामा नै केही थोरै जवाफ मात्र दिनुभयो। सुन्दरमणिले भने अन्तरजातीय विवाहमा छुटाउन खोजेकाले गुमनाम जस्तै हुनुपरेको बताउनुभयो।’
तस्वीरहरु कान्तिपुरबाट
प्रकाशित मिति : आइतबार, पुष २२ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्