JanataToday.com

Advertisment

SKIP THIS

बेलहियामा निर्माण गर्न लागेको प्रवेशद्वारका विषयमा स्थानीयसँग छलफल

बेलहियामा निर्माण गर्न लागेको प्रवेशद्वारका विषयमा स्थानीयसँग छलफल

भैरहवा । सिद्धार्थनगर नगरपालिकाले बेलहियामा निर्माण गर्न लागेको प्रवेशद्वारका विषयमा त्यहाँका स्थानीयसँग छलफल गरेको छ ।

नगरपालिकाले सीमानाका निर्माण गर्ने भने पनि करिब एक मिलोमिटर टाढा डण्डा नदीको छेउमा प्रवेशद्वार बनाउन लागेको भन्दै स्थानीयले विरोध जनाएका थिए ।

विरोध भएपछि नगरपालिकाले सोमबार स्थानीयसँग छलफल गरेको हो ।

छलफलमा नगर प्रमुख हरि प्रसाद अधिकारीले बनाउन लागिएको प्रवेशद्वार पर्यटकीय भएको बताउँदै निर्माणमा सहयोग गर्न स्थानीयलाई आग्रह गरे ।

‘हामीले नेपाल प्रवेश गर्दा स्वागतका लागि गेट बनाउन लागेका होइनौं’, उनले भने, ‘हामीले बनाउन लागेको पर्यटकी प्रवेशद्वार हो ।कम्तिमा पर्यटकहरु गेट हेर्न आउन भन्ने हाम्रो उद्देश्य हो ।’

अधिकारीले स्थानीयले भनेजस्तै नगरपालिका बेलहियामा अस्तित्व मेट्न नलागेको प्रस्ट्याउँदै सीमानाका छुट्टै स्वागत गेट निर्माण हुने बताए ।

बेलहिया–बुटवल व्यापारिक निमार्ण आयोजनाले सीमानाकामा स्वागत गेट बनाउन लागेको बताउँदै उनले त्यसलाई आकर्ष बनाउन नगरपालिका र प्रदेश सरकारले पनि सहयोग गर्ने जनाए ।

डण्डा नदीलाई व्यवस्थित गरी कोरिडोर बनाउन लागिएको र त्यसैलाई आधार बनाएर प्रवेशद्वार निर्माण गर्न लागिएको उनले थप प्रस्ट्याए । ‘हामीले सहयोग गरेर भए पनि नो म्यान्स लाइनसँग सटेर बेलहियामा गेट बनाउन पहल गर्छौं ।

पाईंहरुले सहयोग गनुस्’, उनले भने । २०७६ को बजेटमा डण्डादेखि सीमानाका सम्म विशेष योजना ल्याएर बजेट छुट्याइने बताउँदै अधिकारीले साँच्किै बेलहियालाई सुन्दरीकरण गर्न नगरपालिका लागि परेको जनाए ।

उपप्रमुख उमा काफ्लेले विगतदेखि बेलहियाबासीले राष्ट्र, राष्ट्रियता र सार्वभौमसत्तामा पुर्याएको योगदानको नगरपालिकाले कदर गर्ने बताइन् ।

‘यहाँहरुले विगतदेखि गरेको योगदान हामीले भुल्दैनौं । बेलहियाको अस्तित्वमा तलमाथि हुन दिँदैनौं’, उनले भनिन्, ‘जसरी पनि सीमानाका स्वागत गेट बनाएर छाड्छौं ।’ नगरपालिकाले बनाउन लागेको गेट अत्याधुनिक र पर्यटन लक्षित भएको उनले जनाइन् ।

स्थानीयको सहयोगमै विकास निर्माण अघि बढाउने बताउँदै काफ्लेले सबैको सहयोग उत्तिकै आवश्यक रहेको बताइन् ।

प्रमुख प्रशासकीय अधिकृत ख्यामबहादुर थापा, बरिष्ठ इन्जिनियर यमलाल पाण्डे र बरिष्ठ अधिकृत गणेश क्षेत्रीले प्रवेशद्वार नगरको पहिचानका रुपमा निर्माण गर्न लागिएको बताउँदै नेपाल स्वागतद्वार भनेर नबुझ्न आग्रह गरे ।

उनीहरुले नगरलाई पर्यटकीय क्षेत्र बनाउने अभियान अन्तर्गत प्रवेशद्वार बनाउन लागिएको स्पष्ट पारे ।

वडाअध्यक्ष रमेश मल्लले सबैको सहकार्यमा अगाडि बढ्नुपर्ने बताए ।

नेपाल–भारत मैत्री समाजका अध्यक्ष तथा बेलहियाका स्थानीय डा.शान्त कुमार शर्माले अहिले बेलहियामा रहेको गेट भत्काउनु पूर्व नो म्यान्सलेनसँग सटाएर अर्को स्वागतद्वार निर्माण सुरु गरेर मात्रै नगरपालिकाले बनाउने भनेको पर्यटकीय द्वार बनाउन सुरु गर्नु पर्ने माग गरे ।

विगतमा बेलहियाबासीले खेलेको भूमिका स्मरण गर्दै शर्माले स्थानीय सरकार, सडक विभाग, प्रदेस सरकार र केन्द्र सरकार जसले बनाए पनि बेलहियामा स्वागत गेट बनाइनु पर्ने बताए ।

‘भारतले देशका विभिन्न भागमा सीमा मिच्दै आएको छ, यहाँ पनि मिचिएको भन्ने कुरा आएको’, उनले भने, ‘यदि बेलहियामा गेट भएन भने सीमा थप मिचिन्छ, बेलहिया संकटमा पर्छ । यसतर्फ विशेष ध्यान दिनुस् ।’

स्थानीय देवराज न्यौपानेले आइसीपी बनेपछि अहिले संचालन रहेको बेलहिया–सुनौली सडक बन्द हुन्छ भनेर भ्रम फैलाइएको भन्दै आपत्ति जनाए । उनले सकभर नगरपालिकाले नै नभए अन्य निकायले भए पनि बेलहियामा गेट बनाइनु पर्ने धारणा राखे ।

वडानम्बर १ की वडासदस्य हरिमाया गुरुङ, स्थानीय सुशील गुरुङ, सुमन शर्मा, शिव शर्मा, सुरेन्द्र क्षेत्री र पंकज उदासले बोल्दै बेलहियामा नै प्रवेशद्वार निर्माण गर्न माग गरे ।

उनीहरुले बेलहियामा आर्को गेट बनाउने भए नगरपालिकाले बनाउने पर्यटकीय प्रवेशद्वार डण्डा नजिक निर्माण गरे पनि आपत्ती नहुने संकेत गरे ।

नगरपालिकाले एक करोड ९९ लाखमा भैरहवास्थित डण्डा नदीको छेउमा बुद्ध चिनारीसहितको बनाउन लागेको पर्यटकीय प्रवेशद्वार ५० मीटर लम्बाई, २३ मीटर ८० सेन्टिमीटर चौडाई तथा सडकदेखि २९ मीटर अग्लो हुनेछ ।

द्वारलाई नेपालको चिनारी झल्कने कलात्मक बस्तु, स्वयम्भूको आँखासहितको बुद्ध चिनारी, अशोका, स्तूपा, विभिन्न १२ वटा बुद्ध मूर्ति, हर्निका, आर्च, स्पायर गजूर, हरियाली जोन, नेपाल«को राष्ट्रिय झण्डा, बुद्ध झण्डाले सिंगारिनेछ ।

यस्तै द्वारमा बौद्ध ध्वनी गुन्ज्याएमान पनि हुने छ भने यो नेपालकै नमूना गेट हुने नगरपालिकाको दावी छ । नगरपालिकाले निर्माणका लागि प्राकृतिक निर्माण प्रालि भैरहवासँग ठेक्का सम्झौता गरिसकेको छ ।

प्रकाशित मिति : सोमबार, पुष २३ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij