काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ पनि रात्रि उडान भइरहेको छ । विगतमा अन्तर्राष्ट्रिय मात्र रात्रि उडान गर्दै आएको विमानस्थलले अहिले आन्तरिक रात्रि उडान सञ्चालन गरिरहेको छ ।
विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले पहिला साँझ ५ देखि ६ बजेसम्म मात्र सञ्चालन हुँदै आएको आन्तरिक उडान अहिले राति ९ बजेसम्म गरिदैँ आएको जानकारी दिए ।
उनका अनुसार क्षेत्रीय हबका रुपमा रहेका विमानस्थल विराटनगर, भैरहवा, नेपालगञ्ज र धनगढीमा रात्रि उडान भइरहेको छ ।
निकट भविष्यमै झापाको चन्द्रगढी र जनकपुरमा रात्रि उडान थालिने उहाँले बताए ।
“विमानस्थलबाट पहिला आन्तरिक उडानमा राति जहाज उड्दैन थिए, ६ बजे नै बन्द भइसक्थे, अहिले जाडो यामदेखि राति दैनिक ९ बजेसम्म उडान भइरहेको छ,” क्षेत्रीले भने ।
रात्रि उडानका लागि अन्तर्राष्ट्रिय विमानस्थलसहित क्षेत्रीय हब विमानस्थलमा आवश्यक उपकरण र जनशक्तिको व्यवस्था गरिएको महाप्रबन्धक क्षेत्रीको भनाइ छ ।
रात्रि उडान सञ्चालन गर्नका लागि ‘रनवे लाइट’, टर्मिनल भवनको व्यवस्थापन तथा सुरक्षा व्यवस्थालगायतका काम गरिएको छ ।
यसअघि आन्तरिकतर्फ बिहान ७ देखि साँझ ६ बजेसम्मको उडान तालीका थियो ।
अन्तर्राष्ट्रियतर्फ मात्र रात्रि उडान हुँदै आएको थियो ।
विमानस्थलका अनुसार रात्रि उडानका लागि गत भदौको दोस्रो साता नै विभिन्न एयरलाइन्सको २५ उडान तालीका स्वीकृत भएको थियोे ।
बुद्ध एयरलाइन्सको १४, श्रीएयरलाइन्सको चार र यति एयरलाइन्सको सात उडान थिए ।
सरकारले गत जेठ ७ गतेदेखि अन्तर्राष्ट्रिय विमानस्थल दैनिक २१ घण्टा सञ्चालनमा ल्याएको थियो ।
आन्तरिक टर्मिनल व्यवस्थापनपछि गत भदौ १६ गतेदेखि आन्तरिक टर्मिनल बिहान ५ बजे खुला गरेसँगै अहिले दैनिक २२ घण्टा विमानस्थल सञ्चालन भइरहेको छ ।
यसले विमानस्थलको चाप कम गर्न र हवाई आगमनलाई सहज तुल्याएको बताइएको छ । रासस
प्रकाशित मिति : मंगलबार, पुष २४ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्