काठमाडौं । यूएईलाई एकदिवसीय क्रिकेट शृङ्खलामा पराजित गरेर ऐतिहासिक सफलता हासिल गरेपछि नेपालका कप्तान पारस खड्काले यो विजय सुरुवात मात्रै भएको बताएका छन्।
खेलपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसीसीलाई प्रतिकृया दिँदै खड्काले भने, ‘यो सुरुवात मात्रै हो । हामीले पहलिो एकदिवसीय जित्यौँ । दर्शकको साथले हामीलाई घरेलु मैदानमा खेलेको आभास भयो’ । उनले भने, ‘भविष्यमा धेरै मौकाहरू आउनेछन् र हामीले राम्रो खेल्न आफूलाई जगाइरहनु पर्छ ।’
नेपाली क्रिकेटलाई माया गर्ने दर्शकले सँधै साथ दिएको भन्दै खड्काले सबैलाई धन्यवाद पनि दिए । उनले भने, ‘हाम्रो उत्साहको एउटा सबैभन्दा ठूलो कारक समर्थकहरू नै हुन्। जहाँ खेल्न गएपनि हामी समर्थन पाउँछौँ’ ।
यस्तै यूएईबाट प्रकाशित हुने अखबार द नेश्नलसँग कुरा गर्दै खड्काले सोमवार नेपाली क्रिकेटको एउटा उज्यालो दिन भएको बताएका छन् ।
‘यो हाम्रो उज्यालो दिनहरूमध्ये एक हो । महान् दिन भन्न त गाह्रो छ किनभने देशका लागि खेल्ने प्रत्येक मौका पाउँदा त्यो दिन निकै शानदार मौका हुन्छ ’ उनले भने ।
कुराकानीमा उनले युएईसँगका अघिल्ला म्याचहरुको समेत स्मरण गरे । निकै संघर्ष पश्चात एकदिवसीय मान्यता पाएको भन्दै खड्काले भने, ‘आगामि २ देखि तीन वर्षको लागि हामीसँग यो मान्यता छ र हामी यस्तै नतिजा अरु धेरै ल्याउन चाहन्छौँ । यसरीनै विश्व क्रिकेटमा परिचित हुन चाहन्छौँ’ ।
नेपालले सन् २०१८ मार्चमा सन् २०२२ सम्मका लागि एकदिवसीय क्रिकेटको मान्यता पाएको हो। अघिल्ला २ खेलमा २० रनको हाराहारीमा आउट भएका खड्काले अन्तिम एकदिवसीयामा विजयी पारी खेल्न चाहेको उल्लेख गरे ।
उनले भनेका छन्, ‘म आउट भएपछि टिम निकै प्रेसरमा आउँथ्यो । मलाई जित्ने गरी पारी खेल्नु थियो’ । उनले टिममा रहेका युवा खेलाडिको प्रशंसा गरे ।
नेपालले निर्णायक तेस्रो खेल चार विकेटले जितेर तीन खेलको शृङ्खला २-१ ले जितेको हो। दुबईमा भएको पहिलो खेलमा तीन विकेटको पराजय भोगेको नेपालले दोस्रो खेल भने १४५ रनको विशाल अन्तरले जितेको थियो।
खड्काले खेलमा ११५ रन बनाउँदै नेपालको तर्फबाट एकदिवसीय क्रिकेटमा शतक बनाउने पहिलो खेलाडी बने। खड्का एकदिवसीय खेलमा सर्वाधिक सफल नेपाली ब्याट्स्म्यान हुन्।
उनले छवटा एकदिवसीय खेलमा एक शतक र एक अर्धशतकसहित कुल २३५ रन बनाएका छन्। आइसीसी वरियतामा नेपाल समावेश यूएईसँगको तीन खेलको समाप्तीसँगै नेपालले छ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेको छ।
अब नेपालले क्रिकेटको सर्वोच्च संस्था अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसीसीको एकदिवसीय वरियता सूचीमा स्थान पाएको छ। छ खेलमा तीन हार र तीन जीतको नतिजाले नेपाल पुछारमा १५ औं स्थानमा छ। नेपालको १५२ अंक र १५ रेटिङ अंक छ।
प्रकाशित मिति : मंगलबार, माघ १५ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्