JanataToday.com

Advertisment

SKIP THIS

२०७६ मा गोवर्धनपूजा र भाइटीका एकै दिन, बिहान गणेशचौथी : दिउँसो ऋषिपञ्चमी

२०७६ मा गोवर्धनपूजा र भाइटीका एकै दिन, बिहान गणेशचौथी : दिउँसो ऋषिपञ्चमी

काठमाडौं : आगामी वर्ष अर्थात् २०७६ सालमा विजयादशमी कति गते परेको होला? लक्ष्मीपूजा र भाइटीका कुन दिन होला? यस्ता जिज्ञासा राख्नुभएको छ भने पञ्चाङ्ग निर्णायक समितिद्वारा मान्यतााप्राप्त पञ्चाङ्ग(पात्रो) बजारमा आइसकेको छ।

यो वर्षको विजयादशमी असोज २१ गते मंगलबार परेको छ। घरघरमा जमरा राख्ने दिन अर्थात् घटस्थापना असोज १२ गते आइतबार परेको छ। नवरात्र अनुष्ठान यसै दिन शुरु हुन्छ। दशैँका महत्त्वपूर्ण दिन फूलपाती १८ गते शनिबार परेको छ। १९ गते महाष्टमी र २० गते महानवमी।

कोजाग्रत पूर्णिमा २६ गते आइतबार परेको छ। तिहारको सन्दर्भमा कुरा गर्ने हो भने कात्तिक ११ गते सोमबार लक्ष्मीपूजा परेको छ। १२ गते गोवर्धनपूजा छ। तिथिको टुटफुटका कारण सोही दिन भाइटीका परेको पात्रोमा उल्लेख छ। बिहान ४:५ घडी प्रतिपदा र त्यसपछि द्वितीया लाग्ने बताइन्छ।

यसकारण तीन दिन पाइने तिहारको विदा पनि घटेर दुई दिन हुने भएको छ। आमाको मुख हेर्ने औँसी अर्थात् वैशाख कृष्ण अमावस्या वैशाख २१ गते शनिबार परेको छ भने अक्षय तृतीया पर्व २४ गते मंगलबार, जो वैशाख शुक्ल तृतीयाका दिन मनाइन्छ। वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने चण्डीपूर्णिमा अर्थात् गौतमबुद्ध जयन्ती जेठको ४ गते शनिबार परेको छ। यसैदिन किरात समुदायले उभौली मनाउँछ।

यस्तै तुलसीको बीउ राख्ने एकादशी अर्थात् निर्जला एकादशी जेठ ३० गते बिहीबार परेको छ। जेठकै पूर्णिमा असार २ गते सोमबार परेकाो छ। यो दिन पनौतीमा लाग्ने भैरव भद्रकालीको जात्रा प्रख्यात छ। कतिपय समुदायमा यो दिन गोठधुप गर्ने चलन छ। तुलसी रोप्ने दिन अर्थात् हरिशयनी(आषाढ शुक्ल) एकादशी असार २७ गते शुक्रबार परेको छ। आषाढ शुक्ल पूर्णिमा अर्थात् गुरुपूर्णिमा असार ३१ गते परेको छ।

यसैदिन खण्डग्रास चन्द्रग्रहण पनि परेको छ। साउन १ गते सूर्य दक्षिणायन हुने भए पनि असार ७ गतेदेखि नै सूर्य दक्षिणतर्फ ढल्किन सुरु गर्ने बताइन्छ। विशेषगरी नेवार समुदायले मान्ने गुँलाधर्म साउन १७ गते श्रावण शुक्ल प्रतिपदाका दिन सुरु भई भदौ १४ अर्थात् भाद्र शुक्ल प्रतिपदामा समाप्त हुने उल्लेख छ, पञ्चाङ्गमा। यो वर्षको नागपञ्चमी साउन २० गते सोमबार परेको छ भने रक्षाबन्धन\ऋषितर्पणी ३० गते बिहीबार परेको पञ्चाङ्गहरूले उल्लेख गरेका छन्।

श्रीकृष्णजन्माष्टमी पर्व र सुदूरपश्चिममा मनाइने गौरापर्व भदौ ६ गते परेको छ। बुबाको मुख हेर्ने औँसी अर्थात् कुशेऔँसी १३ गते शुक्रबार परेको बताइन्छ। सनातन धर्मावलम्बी महिलाहरूको महत्त्वपूर्णा पर्व तीज भदौ १६ गते सोमबार परेको छ।

भोलिपल्ट गणेशचौथी उल्लेख छ। मंगलबार परेकाले मंगलचौथी पनि भनिन्छ। तिथि टुटफुट देखााउँदै सोही दिन ऋषिपञ्चमी मनाउनुपर्ने पञ्चाङ्गहरूले जनाएका छन्। सो दिन ३:३ घडी चौथी र त्यसपछि पञ्चमी बताइएको छ। भदौ २८ गते सोह्रश्राद्ध आरम्भ हुने पूर्णिमा हो। त्यही दिन पितृपक्ष सुरु हुने उल्लेख छ।

असोज ११ गते शनिबार पितृपक्ष समाप्त हुने औँसी बताइएको छ। ठूली एकादशी अर्थात् हरिबोधिनी एकादशी कात्तिक २२ गते शुक्रबार परेको छ। चतुर्मास र कार्तिकस्नान पूरा हुने पूर्णिमा २६ गते परेको छ। पितृहरूको सम्झनामा मनाइने बालाचतुर्दशी मंसिर ९ गते सोमबार परेको उल्लेख छ। तोलल्होसार ११ गते छ। रामसीता विवाहपञ्चमी भने १५ गते आइतबार परेको बताइन्छ। धान्यपूर्णिमा, योमरीपुन्हि, उधौलीका नामले चिनिने मंसिरको पूर्णिमा २६ गते परेको छ।

पुस ६ गते सूर्य सायनमानअनुसार उत्तरायण हुन थाल्ने उल्लेख तीर्थमा श्राद्ध गर्ने पौषे औँसी पुस १० गते बिहीबार परेको छ तर सोही दिन खण्डग्रास सूर्यग्रहण लाग्ने उल्लेख छ। श्रीस्वस्थानीव्रत पुस २५ गते शुक्रबार सुरु भई माघ २६ गते आइतबार समापन हुनेछ। सोनम ल्होछार ११ गते परेको उल्लेख छ। श्रीपञ्चमी अर्थात् सरस्वतीपूजा माघ १६ गते बिहीबार परेको छ।

यस्तै महाशिवरात्रि पर्व फागुन ९ गते बिहीबार परेको पञ्चाङ्गहरूले जनाएका छन्। ग्याल्पो लोसार १२ गते सोमबार उल्लेख छ। फाल्गुण शुक्ल पूर्णिमामा मनाइने फागु २६ गते सोमबार परेको छ। तराई–मधेशमा भने भोलिपल्ट होली मनाइन्छ।

काठमाडौं उपत्यकामा मनाइने घोडेजात्रा चैत ११ गते परेको छ। चैतेदशैँ १९ गते बुधबार र रामनवमी २० गते परेको बताइन्छ। यो वर्ष परिधावी नामको संवत्सर हाे। वर्षको राजा शनि र मन्त्री सूर्य रहेको पञ्चांगहरूले उल्लेख गरेका छन्। विक्रम संवतको पहिलो दिनको बार राजा शालिवाहनीय शाके संवतको पहिलो दिनको बार मन्त्री र ग्रहका रूपमा रहने व्यवस्था छ, ज्योतिषशास्त्रमा।

प्रकाशित मिति : शनिबार, माघ १९ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij