न त कसैको अभावमा बाँच्छु ।
न त कसैको दबाबमा,
म एक अटल नारी हुँ ।
म आफ्नै स्वभावमा बाँच्छु ।
प्रत्येक वर्ष ८ मार्चका दिनलाई अन्तर्राष्ट्रिय नारी दिवसका रुपमा विश्वभर सिर्जनात्मक र रचनात्मक कार्यक्रमसहित मनाइँदै आइरहिएको छ । आठ मार्च विश्वका महिलाले मुक्तिका लागि गरेको संघर्ष सम्झना गर्ने दिन साथै शोषणका विरुद्ध महिलाहरूले विजय हासिल गरेको दिन ।
नेपालमा भने वि.सं. १९७५ देखि मनाइँदै आइरहेका छौं । यो दिवस आज विश्वभर लैङ्गिक समानताका लागि समान सोच र व्यवहारःसमृद्धिको आधार’’ भन्ने मूल नाराका साथ १०९ आंै दिवसको रुपमा मनाइँदै छ । वास्तवमा नाराहरुरु प्रत्येक नारी दिवसमा सान्र्दभिक नै चयन भएका छन् । तर त्यसको प्रयोग गर्न लाग्नु हामी र हाम्रो समाजको दायित्व हो ।
जहाँ नारीको सम्मान हुन्छ, त्यहाँ भगवानको बास हुन्छ । यो भनाई धेरै समयदेखि खोक्रिदै आइरहेको आभास सम्भवतः तपाई हामी सबैले गर्दै आइरहेका छौं । यसको त कुरै छाडौं यहाँ त यस्तो पनि भन्ने चलन छ कि नारी र पुरुष दुवै समान हुन् । अहंं,, पट्क्कै चित्त बुझ्दैन यो कुरा । उल्टै मलाई त कता–कता बिजाउने पो गर्छ यो शब्दले ।
यो समानता भन्ने चिज न पुरुष–पुरुष बिच छ न नारी–नारी बिच छ । अझ नारी र पुरुष बिचको समानताको त कुरै नगरौं हजुर ! केवल संविधानको कागजमा मात्र सीमित छ । अब तपाईं आफै भन्नुहोस् त म कसरी मेरो मन ?
महिलाका पक्षमा पारित भएका ऐन, नियमले हिंसाका स्वरुपमा भिन्नता त देखिएको छ । तर फरकखाले हिंसाका चपेटामा महिला परेका छन् । जुन रुपमा महिला र पुरुष बीच समानताको प्रयास हुन पर्ने हो त्यो महिला पुरुष बीचको विभेदको खाडल महिला वर्गले मात्रै पुर्न सक्दैनन् । एकातीर जनसख्ंयाको आधारमा महिलावादीहरुले महिला अधिकार सुनिश्चित गरिनु पर्ने कुरा उठाएका छन् भने अर्कोतिर पुरुष वर्गमा पनी महिलाहरु हामी सरहका सक्षम सवल समान नागरिक हुन् भन्ने चेतनाको विकास हुनु जरुरी दखिन्छ ।
अब आयो महिला दिवस मनाउने कुरा :
महिला दिवस महिला दिदी बहिनीहरुको जागरुकताका लागि मनाइने गरिन्छ । विभिन्न नाराहरुको खाका तयार पारिन्छ र समानताको ठूला–ठूला भाषण गरिन्छ तर विडम्बना उनीहरुको पीडा चाहि जस्ताको त्यस्तै रहन्छ । एक वर्ष होइन, दुई वर्ष होइन वर्षौंवर्ष यसै गरी बितिरहेको छ ।
समस्या जे सुकै होस्, परिस्थति जस्तो सुकै होस् यसमा कसैको ध्यानाकर्षण छैन । तर जे होस् चर्को स्वरमा महिलाहरुको समानताका लागि लेखिएका नाराहरुले भने मज्जाले मार्केट लिएको छ । बजारमा सानो–सानो प्लेकार्ड बोकेर हिंडिरहेका महिलाहरुका मनमा भएको ती वेदनाले त्यो दिन मज्जाले आराम पाउँछन् । भाषणले साँच्चै नै न्याय पाएको आभास गराउँछ तर के गर्नु साझँपख घर गयो अर्को दिनबाट त्यो वेदना, पीडा जहाँको त्यही ।
महिलाहरुको निम्ति ठूला–ठूला भाषण गरेर उनीहरुको वेदना र पीडा केही पलको लागि बेचिदिने लखपति हुन्छन् र दुःख पीरले पिरोलिएका जहाँको त्यही हुन्छन् । कानुन बोली र कागजमा मात्र सीमित हुन पुग्छ ।
प्रत्येक वर्ष मनाउने महिला दिवसले उनीहरुको दुःख कष्टमा कत्ति पनि मलहम लगाउने काम गरेको छैन । उल्टै नुन,चुक छरर्केको आभास भएको छ । यो दिन महिलाहरुको क्षेत्रमा रहेर काम गर्नेले विभिन्न किसिमका एजेण्डा, खाका तयार पार्छन तर त्यो एजेण्डाले उल्टै निरिह र कमजोर बनाउने काम बाहेक अरु केही भएको छ जस्तो मलाई लग्दैन् ।
अझ एउटा अच्चमको कुरा त के लाग्छ भने नि मलाई ?
महिला सशक्तिकरणका कुरा नउठेको सायदै त्यस्तो औपचारिक कार्यक्रम नहोला । नेपाल सरकारले आयोजना गरेको होस वा विभिन्न संघ संस्था, सरकारी, गैर सरकारी निकायले आयोजना गरेको कार्यक्रम होस् ।
चाहे राजनीतिक, आर्थिक होस चाहे प्रशासनिक र सामजिक कार्यक्रम नै किन होस् त्यहाँ आमन्त्रित राष्ट्रपतिदेखि लिएर राज्यमन्त्री हुँदै विभिन्न अतिथिहरुले भन्न नछुटाउने विषय मध्ये महिला सशक्तिकरण एक हो ।
झन यही विषयमा नै बढी समस्या देखिरहेकी हुन्छु म त । यदि म गलत छैन भने नेपालमा घट्ने घटनाहरु धेरै जसो महिला सम्बन्धी नै छ । चाहे त्यो बलत्कार किन नहोस्, चाहे शोषण, अत्यचार वा दमन किन नहोस् ।
साँच्चै नै इतिहसलाई फर्केर हेर्ने हो भने नि नेपाली नारीहरुका लागि सारै दर्दनाक, भयानक, र अत्यन्त कालो इतिहास तपाईं हाम्रा सामु खडा छ ।
यदि हामी महिला सशक्तिकरणको भाषण गरेर यसको निराकरण हुने हो भने ठीक छ यसलाई यस्तै चल्न दिउ होइन भने कृपया यो भाषणबाजी हटाई दिनुस किनकि यसले उत्प्रेरणा होइन, हतोत्साहित बनाउने काम गरिरहेको छ ।
म प्रश्न ति पुरुषहरुलाई गर्न चाहान्छु जो महिला दिवसका दिन मञ्चमा चढेर उनीहरुका निम्ति ठूला–ठूला भाषण गर्छन र भन्छन् —“नेपालको संविधान २०७२ ले महिलालाई थुप्रै हक–अधिकारको व्यवस्था गरेको छ ।
खासगरी संविधानको मौलिक हकअन्तर्गत धारा ३८ को महिलाको हकमा प्रत्येक महिलालाई लैंगिक भेदभाव बिना समान वंशीय हक हुने, महिलाको सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य सम्बन्धी हक हुने, महिला विरुद्व धार्मिक, सामाजिक, सांस्कृतिक परम्परा, प्रचलन वा अन्य कुनै आधारमा शारीरिक, मानसिक, यौनजन्य, मनोवैज्ञानिक वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य वा शोषण गर्न नहुने, यदि त्यस्तो कार्य भएमा कानुन बमोजिम दण्डनीय हुनेछ र पीडितलाई कानुन बमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ भन्ने व्यवस्था छ भन्दै खोक्रो भाषण गर्छन् ।
त्यो व्यवस्था र भाषण कागजमा मात्र सीमित भएको हो कि ?
ए भाषण गर्ने महोदयहरु पुरातनवादी सोंच र पुरुषवादी मानासिकतामा शुद्धीकरण नभएसम्म नारी मुक्ति कतै सम्भव छैन । यी सबै कुरा कागज र बोलीमा मात्र नभएर व्यवहारमा पनि उतार्ने हो भने पक्कै पनि नारी दिवस नमनाए पनि नारीले सम्मान र समान अवसर सजिलै पाउन सक्छन् ।
नेपाली नारीहरूले इतिहास रचेका छन् । नेपाली नारीहरूको वीरता र उनीहरूले पाएको वीरगतिले अहिले नेपालमा गणतन्त्र स्थापना भएको छ । नेपाली महिलाहरुको त्याग, तपस्या र बलिदान नेपालका पुरुषहरुको भन्दा कम छैन । महिला र पुरुष सँग–सँगै विकास पथमा लम्के भने नेपाल विश्वकै उदाहरणीय देश बन्न सक्दछ ।
नेपालको आर्थिक क्रान्तिमा नेपाली महिलाहरूले अवसर पाएको खण्डमा ठूलो उथल पुथल ल्याउन सक्दछन् । नेपाली महिलाहरूले विश्वका विभिन्न भू–भागमा पुगेर आफ्नो पहिचान राख्न सफल भएका छन् ।
त्यसैले अहिलेको समयमा हामी कहाँ छौं त्यो हाम्रो समाजमा घटेका घटनाले छर्लङ्ग पारेको छ । त्यसैले महिलालाई हरेक ठाउँमा सहभागिता गराउन सकेमात्र महिलाहरुले सही अर्थमा फड्को मार्छन् र यस्ता दिवसको पनि सार्थकता हुन्छ ।
त्यसैले यो अन्तर्राष्ट्रिय नारी दिवस चेतनशील नारीहरुको मात्र अभिभारा नभइकन समाजको , राज्यको नारी मुक्तिप्रतिको गहन जिम्मेवारी हो प्रमुख सरोकारको विषय हो ।
प्रत्येक वर्ष अन्तराष्ट्रिय नारी दिवस मान्नुको पछाडि कुनै खुशीयालीको उत्सव थिएन र छैन पनि तर कामना गरौं भविष्यमा खुशियालीको उत्सव बनोस भनेर ! १०९ औ अन्तराष्ट्रिय नारी दिवसको शुभकामना ,विश्वभरिका नारीहरुलाई !!!
प्रकाशित मिति : शुक्रबार, फाल्गुन २४ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्