के इन्टरनेट लत रोग हो ?


सोमवार, भदौ ३०, २०७६

के इन्टरनेट लत रोग हो ?

विश्व ‘स्वास्थ्य क्षेत्र’ अहिले प्रत्यक्षपरोक्ष रुपमा मेडिकल माफियाहरुको कब्जामा छ । संसारभरका मेडिकल माफियाहरु एकजुट भएर स्वास्थ्य क्षेत्रलाई यसरी आफ्नो प्रभाव पारेका छन् कि शारा विश्व रोगहरुको कारण खोज्न र रोगहरुको कारण हटाउनतिर भन्दा पनि मानिसका हरेक समस्याहरुलाई रोगको रुपमा परिभाषित गरेर त्यसको उपचारको नाउँमा औषधि निर्माणतिर कम्मर कसेर लागेको छ ।

औषधिहरुको अध्ययन, अनुसंधान तथा परीक्षणमा मात्रै हरेक वर्ष खरबौका खरबौं रकम स्वाहा भएको छ । त्यत्ति मात्र कहाँ हो र ? रोगहरु बेचेर अकुत सम्पत्ति कमाउन पल्केकाहरुले आर्कषक नाम दिएर नयाँ नयाँ रोगहरु जन्माउने गरेका छन् । यस्तै तथाकथित नयाँ रोग हो, इन्टरनेट एडिक्सन डिसअर्डर, जसलाई प्रविधि लत पनि भन्ने गरिन्छ ।

हो, यो साँचो हो । विश्वले दिनप्रति दिन प्रविधिहरुको विकास र बिस्तारमा ठुलो छलाङ लगाइरहेको छ । प्रविधिका कारण मानिसको श्रम वचत हुनुका साथै मानिसले प्रशस्त सेवा, सुविधा र मनोरंजन प्राप्त गरिरहेका छन् । मोबाइल, कम्प्युटर तथा इन्टरनेटको विकास र बिस्तारले त ज्ञानविज्ञान तथा सूचनासंचारलाई मानिसको हातहातमा पुराइदिएको छ ।

हातमा मोबाइल वा कम्प्यूटर छ, इन्टरनेटको सुविधा छ भने आफुले खोजेको वा जान्न चाहेको जुनसुकै सूचना वा ज्ञानगुनका कुरा तुरुन्त पढ्न, सुन्न र हेर्न पाइने अवस्थामा छ अहिलेको विश्व । तर प्रविधिको विकाससँगै यसको दुरुपयोग पनि ह्वात्तै बढ्दै गएको छ ।

कतिपय प्रविधिका यस्ता साधनहरुले मानिसहरुलाई नराम्रोसँग दुर्व्यसनको दलदलमा फसाउँदै लगेको छन् । दुर्व्यसन बनाउँदै लगेको छन् । यो पनि साँचो हो कि प्रविधि दुर्व्यसन लागूपदार्थको दुर्व्यसन जस्तै गम्भिर तथा खतरनाक हुने वैज्ञानिक अध्ययनले देखाएको छ ।

हालै गरिएको एक मनोवैज्ञानिक शोधका अनुसार इन्टरनेट लत ड्रग्स वा मद्यपानको लत जस्तै खतरनाक र हानिकारक देखिएको छ ।

विशेष गरी बालबालिका, किशोर तथा युवावर्ग इन्टरनेट एडिक्सनबाट बढी पीडित छन् । अनलाइन गैम तथा सोसल नेटवर्क जस्तैः पेसबुक, व्हाट्सएप्सको बढी प्रयोग तथा अश्लील चिजहरु हेर्ने आदत यसको शुरुवाती लक्षण हो । आदत बढ्दै गएमा इन्टरनेट प्रयोग गर्न नपाउँदा बेचैनी, चिडचिडापन तथा क्रोध आउने स्थिति देखा पर्छ । यो नै इंटरनेट लतको लक्षण हो ।

ओम बानियाँ

साधारण शब्दमा भन्ने हो भने टीभी, कम्प्युटर, टेबलेट, स्मार्टफोन, भिडियो गैम तथा इन्टरनेट आदि जस्ता प्रविधिहरु प्रयोग गर्ने अनियन्त्रित इच्छा वा लतलाई प्रविधि लत वा दुव्र्यसन भनिन्छ ।

प्रविधि दुर्व्यसन अन्तरगत प्रविधिसँग सम्बन्धित अनेक दुर्व्यसनहरु पर्छन् । ती मध्य प्रमुख दुर्व्यसन हुन्ः भिडियो तथा कम्प्युटर गैम दुर्व्यसन, स्मार्टफोन, टेबलेट तथा आईप्याड दुर्व्यसन, साइबरसेक्स तथा पोर्नोग्राफी दुर्व्यसन, अनलाइन गेम्बलिंग, अनलाइन सपिंग, सोसल मिडिया दुर्व्यसन (जस्तैः फेसबुक, युट्युब, स्काइप, ट्विटर, इन्ट्राग्राम, माइस्पेस आदि ।) ।

लत लगाउन जति पनि यस्ता प्रविधिहरु छन्, इन्टरनेटको विकास र बिस्तारपछि इन्टरनेट चलाउने माध्यम पनि भएका छन् । जस्तो कि पहिला पहिला मोबाइल बातचित गर्न तथा खबर पठाउनका लागि प्रयोग गरिन्थ्यो भने अहिले मोबाइलबाट नै इन्टरनेट चलाउन सकिन्छ । नेपालमा मोबाइलबाट इन्टरनेट चलाउनेको संख्या धेरै छ । यही कारणले गर्दा प्रविधि लतलाई अहिले इन्टरनेट लत भन्ने गरिन्छ ।

इन्टरनेट लतका अनेक कारणहरु छन् । साधारणतया मानिसहरु तनाब, उदासिनता, चिन्ता तथा एक्लोपना कम गर्न इन्टरनेटको साहरा लिन्छन् । यसरी इन्टरनेट प्रयोग गर्दा उनीहरुलाई आनन्द मिल्दछ ।

यस्तो आनन्दले उनीहरुलाई अम्मली बनाउँछ । अधिकांश व्यक्तिहरु साथीसंगीहरुको देखासिकीमा तथा खुलदुलीका कारण अनलाइन गैम तथा पोनोग्राफी दुव्र्यसनको दलदलमा पर्छन् । सानासाना बालबालिका कार्टून फिल्महरु हेर्दाहेर्दै तथा भिडियो तथा अनलाइन गैमहरु खेल्दाखेल्दै इन्टरनेट लतको शिकार बन्छन् ।

इन्टरनेट लतमा फसेको व्यक्तिको ध्यान केवल यस्ता प्रविधिहरु प्रयोग गर्नमा हुन्छ । अम्मली व्यक्ति दिनको १०—१२ घण्टासम्म पनि यस्ता प्रविधिहरु प्रयोग गर्न पछि पर्दैन । यस्ता प्रविधिहरु प्रयोग नगरी बस्न सक्दैन ।

यदि प्रयोग गर्न नपाएको खण्डमा बैचन हुन्छ, आक्रोशित हुन्छ या उदासिन हुन्छ । यहाँ उल्लेखनिय कुरा के भने नयाँ प्रविधि सिक्नको लागि घण्टौं प्रयासरत रहनु या आवश्यकता अनुसार यसको प्रयोग गर्नु लत होइन । यो तबसम्म नशा होइन जबसम्म यसले सामान्य जीवनयापनमा वा सम्बन्धमा नराम्रो प्रभाव पार्दैन ।

तुलनात्मकरुपमा किशोरकिशोरी तथा युवावर्गहरु बढी यस्तो दुव्र्यसनको दलदलमा फस्ने गरेको भएता पनि बालबालिका तथा पाका मानिसहरुमा पनि यस्तो लत कम छैन । विश्वका सयमा ६ जना अर्थात् १८ करोड २० लाख मानिस प्रविधि दुर्व्यसनबाट ग्रस्त रहेको हालैको एक अध्ययनले देखाएको छ ।

हङकङ विश्वविद्यालयका शोधकर्ताहरुका अनुसार मध्यपूर्व एसिया विश्वमा सबैभन्दा धेरै इन्टरनेट अम्मलीको क्षेत्र बनेको छ । अध्ययनमा समावेश गरिएका देशहरुमा इन्टरनेट अम्मलीको संख्या कुल जनसंख्याको औषतमा ६ प्रतिशत रहेको पाइयो ।

सबैभन्दा उच्च इन्टरनेट लत भएको क्षेत्र मध्यपूर्व रहेको छ । त्यहाँ इन्टरनेट लतको दर १०.९ प्रतिशत रहेको छ, त्यसमा इरान, इजरायल, लेवनान र टर्की समावेश छन् । इन्टरनेट अम्मल उच्च रहेको दोश्रो क्षेत्र उत्तर अमेरिका परेको छ ।

त्यहाँ इन्टरनेट अम्मलीको संख्या ८ प्रतिशत छ । समग्र एसियामा इन्टरनेट एडिक्सन ७.१ प्रतिशत रहेको छ । दक्षिण तथा पूर्वी युरोपमा ६.१ प्रतिशत, उत्तरी तथा पश्चिमी युरोपमा २.६ प्रतिशत रहेको छ । यस्तै सन् २००७ मा गरिएको एक अर्को सर्वेक्षण अनुसार अमेरिकामा २ प्रतिशत तथा युरोपमा ८ प्रतिशत मानिस यस लतबाट प्रभावित भएको देखाएको छ ।

चाइनीज एकाडेमी अफ साइन्सको रिसर्च अनुसार इन्टरनेटको लतले मस्तिष्क तथा इम्युन सिस्टमलाई कमजोर बनाइदिन्छ । जसले गर्दा मस्तिष्क शक्ति तथा स्मरणशक्ति घट्ने तथा रोगस“ग लडने क्षमता ह्रास हुने गर्छ ।

यसको अध्याधिक प्रयोगले मानिसको सोच्ने शक्ति तथा सृजनाशीलतामा पनि निकै असर गर्छ । इन्टरनेट लतका यस्ता अनेक शारीरिक तथा मानसिक दुस्प्रभावहरु छन् । तर आफैंमा भने यो कनै मानसिक रोग होइन । मनोरोग मैनुअल (डीएसएम)ले इन्टरनेट एडिक्सनलाई अहिलेसम्म मनोरोगको रुपमा सूचिबद्ध गरेको छैन । तर मेडिकल माफियाहरुको प्रभावमा परेर निकट भविष्यमा नै एक मनोरोगको रुपमा सूचिबद्ध गर्ने र यसको उपचारका नाममा बजारमा औषधि पनि आउने पक्का छ । त्यसैले यसप्रति सचेत हुन आवश्यक छ ।

हो, इन्टरनेट लत रोग होइन, मनोरोग होइन । लत हो, एक व्यबहारिक समस्या हो । तर यसले व्यक्तिको दैनिक जीवनमा प्रत्यक्ष असर पार्ने र यसले अन्य मनोरोगहरुको समस्या समेत निम्ताउने हुनाले यसलाई समान्यरुपमा भने लिन हुँदैन, जति सक्दो छिटो यसको समाधान गर्न आवश्यक हुन्छ ।

त्यसो त हल्का खाल इन्टरनेट लतको समाधान आफैं पनि गर्न सकिन्छ । जस्तो कि समाजिक संजालहरुमा बिताउने समय कम गर्दै जाने । इन्टरनेट प्रविधिहरुलाई आवश्यकता अनुसार प्रयोग गर्ने । बाहिर खेलहरु खेल्ने । साथीसंगी तथा परिवारको साथमा समय बिताउने । राम्रा किताबहरु पढ्ने । राती छिटै सुत्ने र बिहान सबेरै उठ्ने बानी बसाल्ने ।

योग, ध्यान तथा व्यायाम गर्ने । समाजिक संजाल चलाउने समय तालिका बनाउने । सोही समयमा मात्र इन्टरनेटको प्रयोग गर्ने । यस सम्बन्धि सेल्पहेल्प किताबहरु पढेर उल्लेखित उपायहरुको पालना गर्ने ।

तर कडा खालको इन्टरनेट लतको समाधानका लागि विशेषज्ञको आवश्यता पर्छ । इन्टरनेट लत एक मनोवैज्ञानिक समस्या भएकाले यसको समाधान पनि मनोवैज्ञानिक तरिकाबाट गर्नुपर्छ । कग्निटिभ बिहाभिएर थेरापि (सीबीटी) तथा ईडीएमआर जस्ता मनोवैज्ञानिक पद्धतिहरु इन्टरनेट लतका लागि उत्तम पद्धतिहरु हुन् ।
(लेखक साइकोथेरापिष्ट हुन् ।)

प्रकाशित मिति : सोमवार, भदौ ३०, २०७६ , ११:०२ बजे

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

जनता टुडे मिडिया प्रा. लि
सम्पादक : वालकृष्ण भुसाल
समाचार सम्पादक : सीता बराल
वरिष्ठ सम्वाददाता : फूलु सुनार
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]


© 2019 janatatoday.com All Right Reserved | Site by : SobizTrend Technology