कसैलाई मन नपर्ने पर्यटक !


बुधबार, कार्तिक २७, २०७६

कसैलाई मन नपर्ने पर्यटक !

कुनै समय पर्यटकहरुको आगमन सकारात्मक रुपमा मात्र लिइन्थ्यो । तर अहिले पर्यटन व्यवसाय विश्वव्यापी रुपमा थेग्नै नसक्ने किसिमले वृद्धि भएको छ । आर्थिक उन्नतिसँगै मानिसहरुको घुमफिरको चाहाना साकार हुँदा पर्यटकको सङ्ख्या एक्कासी ह्वात्तै बढ्न पुगेको हो । अन्तराष्ट्रिय पर्यटकहरुको सङ्ख्या २०१० मा ८० करोडबाट २०१८ मा १.४ अर्ब पुगिसकेको छ ।

विशेषगरी लोकप्रिय शहरहरुमा धान्न सकिने भन्दा बढी पर्यटकको आगमन हुनथालेपछि स्थानीयवासी तिनीहरुबाट लाभ उठाउन भन्दा पनि तिनले आफ्नो ठाउँलाई पुर्याउन सक्ने क्षतिप्रति चिन्तित छन् । असिमित पर्यटकहरुको सङ्ख्याले साना शहरहरुलाई बढी प्रभाव पारिरहेका छन् । यसको परिणाम स्वरुप चर्चित गन्तव्यहरु अत्याधिक भरिभराउ हुनुका साथै स्थानीय संस्कृति, परम्परा र संरचना समेत जोखिममा परिरहेकाप्रति अहिले धेरै देश सतर्क भएका छन् ।
यस्तोमा आजका पर्यटकहरुमा सकुशल घुमफिर गरि घर फर्कन सक्नुका साथै असल पर्यटक बन्ने चुनौति पनि बढेको छ । तर अहिलेका मानिसहरु कोही नगएको ठाउँ जान चाहन्छन् भने ‘टुर गाइड’ को सहायता बिना एक्लै घुम्न मन पराउँछन् । जसले पनि असभ्य र अनुचित सार्वजानिक व्यवहारका घटना बढाइदिएको बताइएको छ । यस्तोमा अर्काको भूमिमा आएर कुनै नकारात्मक असर नपार्ने र सभ्य व्यवहार प्रस्तुत गर्ने असल पर्यटकहरुलाई नै स्थानीयले पनि स्वागत गर्ने गरेका छन् भने भीड मात्र बढाउने पर्यटकहरु कसैले मन पराउँदैनन् ।

यसबीच कतिपय मुलुकहरुले उच्च स्तरका परिवारलाई मात्र भ्रमणका लागि प्रोत्साहन गर्ने नीति पनि अपनाउन थालेका छन् । जस्तै कि कतारले धनी परिवार र उच्च आय भएका व्यक्तित्वलाई मात्र पर्यटकका रुपमा भित्र्याउन चाहेको बताउँदै आएको छ । यसबारेमा कतार पर्यटन निकायका अधिकारी एह्मद अब्दुल्लाले रोएटर्ससँग २०११ मै भनेका थिए, “ केबल ५० डलरको होटल रुम लिएर दिनभर समुद्र किनार बसिरहने र छोटा लुगा लगाएर बाटोमा हिँडिरहने पर्यटक हामी कदापी चाहदैनौँ । हामी यस्ता पर्यटकलाई कहिल्यै लक्षित गर्नेछैनौँ । ” उनका अनुसार प्रायः पर्यटकहरु दिनभर बाहिर बसेर थोरै भन्दा थोरै खर्च गर्न चाहने किसिमका हुन्छन् जसले स्थानीय अर्थतन्त्रमा शून्य प्रभाव पार्ने गरेको उनी बताउँछन् । अरुको संस्कृति सम्मान नगर्ने त्यस्ता पर्यटकले स्थानीय वातावरणलाई नै हानि पुर्याउन सक्ने उनको भनाइ छ ।

यता भेनिसले त्यस्ता पर्यटकहरुलाई ‘मोर्डी–फुगी’ भन्ने नाम समेत दिएको छ भने केही समय अगाडि मात्र नियम तोड्ने पर्यटकमाथि भारी जरिवाना तोकिएको हो । यस्तोमा अहिले त्यहाँ अनुचित व्यवहार गर्ने पर्यटकलाई अधिकतम ४३८ पाउन्ड सम्म जरिवाना हुने भएको छ । जस्तै त्यहाँका क्यानलमा पौडी खेल्न, सर्ट नलगाइ हिँड्न र सार्वजानिक स्थलमा खानेकुरा खान पाइँदैन भने जथाभावी फोहोर गर्न, ऐतिहासिक सम्पदामाथि चढ्न वा भुइँमा सुत्न पनि निषेध गरिएको छ । र कुनैपनि समयमा सडकमा मदिरा पान गर्दै हिँड्ने पर्यटकमाथि पनि कडा कारबाही हुने बताइएको छ । भेनिसले रमाइलोका साथै भेनिसको सम्मान पनि गर्न भनि अभियान समेत चलाएको हो ।

भेनिस लगायत यस्ता धेरै साना शहरहरुमा पर्यटकहरुको सङ्ख्या स्थानीय वासिन्दा भन्दा धेरै हुने भएपछि यसले प्राकृतिक माहोल बिगारिदिने र स्थानीयको शान्ति पनि भङ्ग पारिदिने गुनासो आउने गरेका छन् । त्यस्तै क्रोएसियाको डुब्रोभनिक पनि ‘ओभरटुरिजम’ को सबैभन्दा खराब तरिकाले शिकार भएको जनाउँदै आएको छ । यता नेदरल्यान्डको राजधानी एम्सटरडमले पनि पर्यटक घटाउनकै लागि क्रुजका यात्रुहरुलाई प्रीत दिनको ७.६० डलर लिने गरेको छ । – सिएनएन

प्रकाशित मिति : बुधबार, कार्तिक २७, २०७६ , २:५२ बजे

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

जनता टुडे मिडिया प्रा. लि
सम्पादक
वालकृष्ण भुसाल
समाचार सम्पादक
सिता गौतम बराल
वरिष्ठ संवाददाता
फुलमाया सुनार
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७


© 2019 janatatoday.com All Right Reserved | Site by : SobizTrend Technology