(साग) का लागि सुरक्षा व्यवस्था कडा


शुक्रबार, मंसिर १३, २०७६

(साग) का लागि सुरक्षा व्यवस्था कडा

काठमाडौँ । १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)का लागि सुरक्षा व्यवस्था कडा पारिएको छ । सागका लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागसहितको सुरक्षा टोली परिचालन गर्नेगरी सुरक्षा योजना तयार पारिएको छ ।

आइतबारदेखि औपचारिक रुपमा सुरु हुने सागका लागि १८ हजार सुरक्षा तैनाथ रहने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यता राष्ट्रिय खेलकुद परिषद् राखेप ले पनि साग खेलको लागि आउने विदेशी पाहुना र खेलाडीको बसोबासदेखि आवश्यक सुरक्षाको सम्पूर्ण तयारी भइसकेको जनाएको छ ।

खेल मैदानमा हुनसक्ने सम्भावित हुलदङ्गाका साथै होटलदेखि, यातायात व्यवस्थापन र खेलकुदस्थलमा विशेष किसिमको सुरक्षा व्यवस्था मिलाइएको छ । पाहुनाहरुलाई विमानास्थलदेखि होटलसम्म, खेल्ने मैदानदेखि उनीहरुले भ्रमण गर्ने स्थलसम्म कडा सुरक्षा हुनेछ ।

प्रहरी प्रधान कार्यालयका अनुसार साग प्रतियोगितामा नेपाल प्रहरीमात्र १० हजार ५ सय परिचालन हुनेछन् । महानगरीय प्रहरी परिसर काठमाडौँबाट ४ हजार ५००, जिल्ला प्रहरी कार्यालय कास्कीबाट २ हजार, महानगरीय प्रहरी परिसर ललितपुरबाट १ हजार ४००, जिल्ला प्रहरी कार्यालय धनुषाबाट ६ सय, ट्राफिक प्रहरी ७ सय र प्रहरी प्रधान कार्यालय मातहतबाट १३ सय जना प्रहरी सागमा परिचालन हुनेछन् ।

राखेपका अनुसार साग खेल ३० ठाउँमा खेलाइनेछ । जसमध्ये काठमाडौंमा १२, ललितपुरमा ९, पोखरामा ८ र जनकपुरमा १ ठाउँमा गरेर ३० ठाउँमा सञ्चालन हुनेछ ।

साग खेलमा अफिसियल, प्रशिक्षक र निर्णायकहरु गरेर ५५ सयभन्दा बढी उपस्थित हुनेछन् । यस्तै विदेशी पाहुनाहरुको लागि मध्यनजर गर्दै काठमाडौँका ३१, ललितपुरका १२, जनकपुरका ३ र पोखराका ४३ होटल समेत बुकिङ गरिएको छ ।

शुक्रबार संचारकर्मि संग कुराकानी गर्दै प्रहरी प्रमुख एसएसपी उत्तम सुवेदीले सागमा सुरक्षा व्यवस्था कडा र चुस्त हुनेमा सबैलाई ढुक्क हुन आग्रह गर्नुभयो ।

‘सागमा अवाञ्छनीय गतिविधि हुन दिने छैनौँ । सागलाई सुरक्षित रुपमा अवतरण गर्न भीभीआईपी, भीआईपी, अतिथि, खेलाडी, पदाधिकारी, रेफ्री, मिडिया र दर्शकको सुरक्षा व्यवस्थामा रत्तिभर कमी हुने छैन’, उहाले भन्नुभयो, ‘विदेशी पाहुनाका लागि सुरक्षा अझ चुस्त गरिनेछ ।’

१३औं सागको सम्पूर्ण तयारी पूरा राखेपले बिहीबार नै पत्रकार सम्मेलन गरेर जानकारी गराइसकेको छ ।

पत्रकार सम्मेलनमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले विदेशी पाहुना र साग आयोजनाको मुख्य चुनौतीको रुपमा रहेको सुरक्षा ब्यवस्थालाई सहज रुपमा सम्पन्न गरिने बताउनुभयो ।

सागको सुरक्षाका लागि विमानस्थल देखिनै विशेष तयारी गरिएको पनि खनालको भनाइ छ । उहाले खेलाडी र पाहुनाका लागि विमानस्थल, समारोह र खेल स्थल, आवास, सपिङ मल, सवारी मार्ग, पार्किङ स्थलमा समेत विशेष सुरक्षा गरिने बताउनुभयो । भिभिआईपी पाहुनाका लागि आवश्यकताअनुसार कारगेटको ब्यवस्था गरिएको छ । विभिन्न कारणले सुरक्षाको मुख्य चुनौती रहेको पाकिस्तान र भारतीय खेलाडीलाई विशेष निगरानीका राखिने पनि बताइएको छ ।

सागमा विशेष गरी फुटबल, क्रिकेट, भलिबल र बास्केटबल खेलमा दर्शक शुल्क राखिएको र दर्शकले ई–सेवा मार्फत टिकट किन्न सक्ने ब्यवस्था गरिएको छ । मंसिर १५ गते हुने सागको उद्घाटन र २४ गतेको समापनमा जोर र विजोर नम्बर प्लेटको गाली चलाउन आग्रह पनि ट्राफिक प्रहरीले गरेको छ ।

सागको उद्घाटन १५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम छ । तीन घण्टा १४ मिनेट लामो उद्घाटन सत्रमा नेपालको सातवटै प्रदेशको कला र सस्कृति झल्कने झाँकी एवं कला प्रस्तुत गरिने छ । दक्षिण एसियाली महादेशीय खेल कुम्भमेलाको रुपमा आयोजित सागमा विभिन्न २६ खेल समावेश गरिएको छ ।

प्रकाशित मिति : शुक्रबार, मंसिर १३, २०७६ , ५:३७ बजे

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

जनता टुडे मिडिया प्रा. लि
सम्पादक
वालकृष्ण भुसाल
समाचार सम्पादक
सिता गौतम बराल
वरिष्ठ संवाददाता
फुलमाया सुनार
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७


© 2019 janatatoday.com All Right Reserved | Site by : SobizTrend Technology