काठमाण्डौ
दक्षिण एसियाली खेलकुद सागको पुरुष फुटबलमा भुटानलाई हराउँदै नेपालले स्वर्ण पदक जितेको छ ।
दशरथ रंगशालामा भएको फाइनल खेलमा नेपालले भुटानलाई २–१ गोल अन्तरले हराउँदै स्वर्ण पदक जितेको हो । योसँगै नेपालले जारी सागमा ५१ स्वर्ण पदक जितेको छ ।
खेलको १७औँ मिनेटमा नेपालका लागि अभिषेक रिजालले गोल गर्दै अग्रता दिलाएका थिए । तर त्यसको केही बेरमै भुटानका कप्तान चेन्चो ग्याल्सेनले बराबरी गोल फर्काएका थिए । त्यसपछि लगातारमा भुटानले नेपालमाथि दबाब बनाउने प्रयास जारी राख्यो ।
तर दोस्रो हाफको सुरुमै सुनिल वलको गोलमा नेपालले २–१ को अग्रता बनायो । ५३औँ मिनेटमा सुनिलले गोल गरेका हुन् ।
भुटान पहिलो पटक साग फुटबलको फाइनलमा पुगेको हो । नेपाललाई हराउँदै फुटबलमा अर्को इतिहास रच्ने भुटानको सपना भने पूरा भएको छैन । तर भुटानले पछिल्लो समय गरेको प्रदर्शनले भने मन जित्न सफल भएको छ । केही वर्षअघि निकै कमजोर मानिने भुटानी फुटबल पछिल्लो समय निकै निखारिँदै गएको छ ।
यसअघि जारी सागकै समूह चरणमा नेपालले भुटानलाई ४(० ले हराएको थियो ।
नेपाललाई भने लगातार साग फुटबलमा स्वर्ण जित्दै इतिहास बनाएको छ । २०१६ मा भारतलाई उसकै घरेलु मैदानमा हराउँदै नेपालले स्वर्ण पदक जितेको थियो ।
हारपछि पनि भुटानले ऐतिहासिक रजत जित्न सफल भयो । साग फुटबलको इतिहासमा भुटानको यो पहिलो रजत पदक हो । पुरुष फुटबलमा नेपाल मात्र अपराजित एक्लो टिम बन्यो ।
नेपालको खेल हेर्न दशरथ रंगशालामा दर्शकको खचाखच उपस्थिति रहेको थियो ।
प्रकाशित मिति : मंगलबार, मंसिर २४ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्