बुटवल, २७ मंसिर ।
पुर्व अर्थमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपा का महासचिव विष्णु पौडेललेआजकोरियन नेपाल टेक्निकल इन्स्टिच्यूट लगायत बुटवलका विभिन्न निर्माणाधीन आयोजनाहरुको निरीक्षण गर्नुभएको छ ।
स्थलगतरुपमै निरीक्षणका क्रममा सम्बन्धित सरोकारवालालाई निर्माणाधीन आयोजना समयमै सक्न र कोरियन नेपाल टेक्निकल इन्स्टिच्यूटको व्यवस्थापकीय क्षमता बढाएर अझै दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्ने गरी अघि बढ्न आग्रह गर्नुभयो ।
कोरियन नेपाल टेक्निकल इन्स्टिच्यूटको अवलोकनका क्रममा पुर्वअर्थमन्त्री पौडेलले प्राज्ञिक जनशक्ति उत्पादन गर्ने यो संस्थाको व्यवस्थापकीय क्षमता बढाउनु जरुरी रहेको भन्दै यसका लागि सिटिइभिटीको नेतृत्व र शिक्षामन्त्रीसँग बसेर गृहकार्य गर्न सुझाव दिनुभयो ।
त्यस्तै उहाले बेलबास–बेथरी सडकका साथै बुटवलका निर्माणाधीन विभिन्न सडक आयोजनाहरुको पनि अवलोकन गर्नुभएको थियो । बेलबास–बेथरी सडक पर्यटकीय मार्गसमेत भएकाले निर्माणलाई गति प्रदान गर्न कुनै कसर बाँकी राख्न नहुने भन्दै उहाले जनप्रतिनिधिलाई विशेष भूमिका खेल्न आग्रह गर्नुभयो । निर्माणमा आइपर्ने बाधा अवरोध हटाउन पनि जनप्रतिनिधिले समन्वयकारी भूमिका खेल्नुपर्ने भन्दै पौडेलले सडक आयोजना सम्पन्न गर्न बजेटको कमी हुन नदिने प्रतिवद्धता जनाउनुभयो ।
रुपन्देही क्षेत्रनम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य समेत रहेका पौडेलले सेमलार–मोतीपुर सडक पनि अवलोकन गर्नुभयो । बुटवलका विभिन्न वडाका जनप्रतिनिधिसहित अवलोकनमा पुगेका पौडेलले सम्बन्धित निर्माण कम्पनीसँग आयोजना समयमै सक्नेगरी समन्वयात्मक भूमिका खेल्न आग्रह गर्नुभयो । “जनप्रतिनिधि विकासका संवाहक हुन्, आयोजनामा भैरहेको ढिलासुस्तीबारे आवाज उठाउने र अवरोध हटाउनेतर्फ जनप्रतिनिधिको ठूलो भूमिका हुन्छ”–उहाले भन्नुभयो–“यो क्षेत्रमा निर्माणाधीन आयोजना सम्पन्न गर्ने कुरामा ढिलासुस्ती हुनुहुँदैन ।”
त्यस्तै पुर्वअर्थमन्त्री पौडलले अन्य सडक आयोजनाहरुका साथमा तिनाउ नदीमा निर्माणाधीन विभिन्न पुलहरुको समेत अवलोकन गर्नुभयो । उहाले शुक्रबारै पिसपार्कको पनि अवलोकन गर्नुभयो । त्यसक्रममा उहाले बुटवलको पिसपार्क पर्यटकीय क्षेत्रको रुपमा विकास हुँदै गएको भन्दै यसलाई अझ व्यवस्थित रुपले विकास गर्नुपर्नेमा जोड दिनुभयो । त्यसैगरी पौडेलले बुटवल मण्डपमा निर्माणको क्रममा रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको पनि अवलोकन गरी आयोजनाको प्रगतिबारे जानकारी लिनुभएको छ ।
उहाले नहरपुर मावि बुटवलको स्वर्ण महोत्सव समारोहलाई पनि शुक्रबार संबोधन गर्नुभयो । त्यसक्रममा उहाले शैक्षिक जनशक्ति उत्पादनमा सामुदायिक विद्यालयहरुको महत्वपूर्ण योगदान रहने भन्दै गुणस्तरीय शिक्षामा जोड दिन आग्रह गर्नुभयो । “प्राविधिक र गुणस्तरीय शिक्षा मुलुकले खोजिरहेको छ, अव सामुदायिक विद्यालयहरु निजी विद्यालयहरुसँग प्रतिष्पर्धामा उत्रिनु जरुरी छ”–उहाले भन्नुभयो ।
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि सरकारले गर्ने प्रयासका बारेमा आफूले पनि भूमिका खेल्ने उहाले बताउनुभयो ।
प्रकाशित मिति : शुक्रबार, मंसिर २७ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्