रुपन्देही, जनता टुडे -रुपन्देहीको कञ्चन गाउँपालिका वडा नंं. १ स्थित दानापुरमा ताल महोत्सव २०७६ को तयारी थालिएको छ । रुपन्देही जिल्लाकै एक आकर्षक प्राकृतिक ताल रहेको दानापुरमा आन्तरिक तथा बाह्य पर्यटकको आवागमनमा वृद्धि गर्ने उद्देश्यले ताल महोत्सव आयोजना गरिएको हो ।
आकर्षक भूवनावट, मनोरम पाकृतिक सौन्दर्यले भरिपूर्ण यो ताल परिसरमा बनाइएका भौतिक संरचनाले पनि ताल निकै सुन्दर देखिएको छ । दिनहुँ बनभोज र घुमघाम गर्न जाने मानिसले भरिभराउ हुने गरेको यो ताल परिसर महोत्सवका बेला झन् सिंगारिने भएको छ । सिंसार क्षेत्रमा पर्ने यो ताल समयमाई वन उपभोक्ता समूहको ४४ हेक्टर क्षेत्रफलमा रहेको छ । किनारामा बनाइएका बनभोज स्थलका सेडमा दिनहँु मानिसको भिडभाड हुने गरेको छ । आगामी माघ १५ देखि २६ गतेसम्म आयोजना हुने कञ्चन गजेडी दानापुर महोत्सवको आवश्यक तयारी थालिएको समयमाई वन उपभोक्ता समूहका अध्यक्ष मिनबहादुर थापाले जानकारी दिनुभयो ।
यहाँको पर्यटन प्रबर्धनको लागि महोत्सव आयोजना गरिएको हो । डुंगा शयेर गर्न समेत पाईने यो ताल परिसरमा हुने महोत्सवले पर्यटन प्रवर्धनमा थप सहयोग पुग्ने अपेक्षा लिइएको थापाले बताउनुभयो । महोत्सवमा खासगरी थारु र मगर खानाका विभिन्न परिकारहरुको स्वाद लिन पाईने अध्यक्ष थापाले उल्लेख गर्नुभयो ।
प्राकृतिक संरचना नै बेग्लै भएकाले यहाँको महोत्सव अन्य ठाउँको भन्दा पृथक हुने मेला संयोजक श्रीराज तिमिल्सीनाले बताउनुभयो । महोत्सवमा ख्याती प्राप्त अभियन्ता, स्रस्टा तथा खेलाडीलाई सम्मान गरिने र विभिन्न खेल प्रतियोगिता समेत गरिने तिमिल्सीनाले जानकारी दिनुभयो ।
महोत्सवमा विविध सांस्कृतिक कार्यक्रम अवलोकन तथा खाना, माछाका परिकार खान पाइने छ । महोत्सवले लुम्बिनी आउने पर्यटकलाई समेत आकर्षित गर्न सक्ने प्रचार—प्रसार संयोजक दिनेश घिमिरेले बताउनुभयो । यहाँको पर्यटनलाई लुम्बिनीसंग जोड्न चाहेको भन्दै घिमिरेले यसमा सबैको सहयोग आवश्यक रहेको चार्चा गर्नुभयो । महोत्सवलाई सफल पार्न स्थानीय सरकारले पनि सहयोग गर्ने वडाअध्यक्ष हरिनारायण थारुले बताउनुभयो । ताल महोत्सवले बाहिरी पर्यटकलाई समेत आकर्षित गर्ने उहाँको भनाई छ ।
महोत्सवबारे जानकारी दिन आयोजकले शनिबार ताल परिसरमा पत्रकार सम्मेलन पनि गरेका छन् । कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि तथा स्थानीयहरु भरतमणी सापकोटा, देवबहादुर थापा, गंगाधर पौडेल, केजीकुमार पौडेल, दुर्गाबहादुर दर्लामी, नेपाल पत्रकार महासंघ रुपन्देही अध्यक्ष यानेन्द्र जीसी लागयतले बोल्दै महोत्सव सफल पार्न सबैको सहकार्य आवश्यक रहेको औंल्याउनुभयो । यो तालको संरक्षण संवर्धन तथा भौतिक निर्माणको लागि प्रदेश सरकारले पनि सहयोग गरिरहेको स्थानीय पत्रकार जगिलाल थापाले बताउनुभयो । ताल परिसरमा भ्यू टावर, सेल्फीजोन लागयतका भौतिक निर्माणका योजनासहितको गुरुयोजना निर्माण गरी आवश्यक प्रक्रियाहरु थालिएको पनि थापाले जानकारी दिनुभयो ।
बनभोज खाने, डुंगा शयेर गर्ने र मनोरम प्रकृतिसंग तस्विर खिच्ने विषेशगरी आन्तरिक पर्यटकको केन्द्र बन्दै गएको यो ताल रुपन्देही जिल्लाको फेवाताल नै बन्ने भएको छ । यसको थप प्रवर्धन गर्न सके स्थानीयले समेत प्रयाप्त लाभ लिन सक्नेछन् ।
कसरी पुग्ने दानापुर ताल
रुपन्देहीको कञ्चन गाउँपालिका वडा नंं. १ स्थित गजेडी दानापुर ताल पुग्न प्रदेश नं. ५ को राजधानी बुटवलबाट २२ किलोमिटरको दुरी पार गर्नुपर्दछ । बुटवलबाट पूर्व पश्चिम राजमार्ग अन्तरगत १८ किलोमिटर पश्चिमको दुरी पार गरेपछि बासगढी बजार पुगिन्छ । बासगढीबाट थप चार किलोमिटर दक्षिणपतर्फ ताल क्षेत्र पर्दछ । ताल रिसरबाट लुम्बिनीसम्म पुग्न करिब १८ किलोमिटरको दुरी पार गर्नुपर्छ । यस क्षेत्रबाट लुम्बिनी पुग्न सकिने पाँचवटा बाटा छन् । तर यी बाटाहरुको स्तरोन्नती गरिनुपर्ने टट्कारो आवश्यकता हरको स्थानीयहरु बताउँछन् । यो ताललाई लुम्बिनीसंग सहजै जोडन सके यहाँको तिब्रोत्तर विकास हुँनेछ ।
प्रकाशित मिति : आइतबार, पुष २७ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्