तिलोत्तमाको सेमराबजार स्वास्थ्यचौकीमा चिकित्सक सहितको सेवा सुरु


मङ्लबार, पुस २९, २०७६

1.5K
SHARES
तिलोत्तमाको सेमराबजार स्वास्थ्यचौकीमा चिकित्सक सहितको सेवा सुरु

 

तिलोत्तमा, जनता टुडे- रुपन्देहीको तिलोत्तमा नगरपालिकले स्वास्थ्यचौकीमा चिकित्सकसहितको स्वास्थ्य सेवा सुरु गरेको छ । नगरबासीमा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचलाई सर्वसुलभ बनाउन नगरपालिकाले आफ्नै स्रोतबाट चिकित्सक नियुक्त गरी सेवा प्रारम्भ गरेको हो ।

सेमराबजार स्वास्थ्य चौकीबाट सुरु गरिएको चिकित्सकीय स्वास्थ्य सेवा क्रमशः अन्य स्वास्थ्य चौकीमा पनि विस्तार गरिने नगरपालिकाले जनाएको छ । तिलोत्तमामा सात वटा स्वास्थ्यचौकी, दुई वटा शहरी स्वास्थ्य केन्द्र, दुई वटा बर्थिङ सेन्टर सञ्चालनमा छन् । चालु आर्थिक वर्षमा थप पाँच वटा शहरी स्वास्थ्य केन्द्र स्थानपना हुने क्रममा छन् ।

१५ शैंयाको अस्पतालमा स्तरोन्नती गर्ने लक्ष्यका साथ सेमराबजार स्वास्थ्य चौकीबाट चिकित्सकीय सेवा सुरु गरिएको नगर उप–प्रमुख जागेश्वरी चौधरीले जानकारी दिनुभयो । सेमराबजार स्वास्थ्य चौकीलाई अस्पतालमा स्तरोन्नती गर्न नगरपालिका पूर्ण प्रतिबद्ध रहेको बताउँदै उहाँले जग्गाको समस्या समाधान हुनेवित्तिकै निर्माण अघि बढ्ने प्रष्टाउनुभयो ।

चिकित्सकीय सेवा सुभारम्भ कार्यक्रममा प्रतिनिधिसभा सदस्य छविलाल विश्वकर्माले जग्गाको स्वामित्व स्वास्थ्यचौकी मातहतमा आएपछि १५ शैंयाको अस्पताल बनाइने बताउनुभयो । स्वास्थ्यचौकीले उपयोग गरेको जग्गालाई चौकी मातहत ल्याउन आफू लागिपरेको बताउँदै उहाँले स्वास्थ्यचौकीलाई अस्पताल बनाउन नगरपालिका, प्रदेश र प्रतिनिधिसभाका सबै जनप्रतिनिधिहरु प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो ।

५ नं. प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा. विनोद गिरीले स्वास्थ्य चौकीमा अत्यावश्यक उपकरणका लागि निर्देशनालयले आवश्यक सहयोग गर्ने बताउनुभयो । चिकित्सकीय सेवा सुरु गरेर तिलोत्तमाले राम्रो कामको प्रारम्भ गरेको बताउँदै उहाँले गुणस्तरीय स्वास्थ्य सेवा विस्तारमा यसले महत्वपूर्ण टेवा पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।

आम तिलोत्तमा नगरवासिलाई सरल र सहज रुपमा गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गर्नको निम्ती चिकित्सकीय सेवालाइ अझ ब्यबस्थित बनाउने योजनामा तिलोत्तमा नगरपालिका रहेको प्रवक्ता सुरेन्द्र श्री ले बताउनुभयो ।

कार्यक्रममा स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र कुमार गिरी, करहिया–मक्रहर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष यज्ञ गैरे, स्वास्थ्य चौकी सञ्चालक समितिका उपाध्यक्ष कृष्ण पौडेललगायतले बोल्नुभएको थियो ।

नगर प्रमुख जागेश्वरी चौधरीको अध्यक्षता, स्वास्थ्यचौकी ईञ्चार्ज कमल पाण्डेयको सञ्चालन तथा शिक्षा उप–सचिव गंगाराम आचार्यको स्वागतमा कार्यक्रम भएको हो । निःशुल्क चिकित्सकीय सेवा सुरु गरिएको सेमराबजार स्वास्थ्य चौकीमा प्रयोगशाला समेत छ । हाल स्वास्थ्य चौकीमा डा. विनोद बढई कार्यरत रहनुभएको छ ।

सोही अवसरमा बर्थिङ सेन्टरमा सुत्केरी भएकाहरुलाई प्रोत्साहन स्वरुप थप पाँच सय रुपैंयाँ प्रदान गरिएको थियो । तिलोत्तमा नगरपालिकाले शुन्य होम लेडिभरीलाई प्राथमिकता दिँदै आफ्नै स्रोतबाट बर्थिङ सेन्टरमा सुत्केरी हुनेहरुलाई पाँच सय रुपैंयाँ प्रोत्साहन भत्ता दिँदै आएको छ ।

प्रकाशित मिति : मङ्लबार, पुस २९, २०७६ , ५:५० बजे

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

जनता टुडे मिडिया प्रा. लि
सम्पादक
वालकृष्ण भुसाल
समाचार सम्पादक
सिता गौतम बराल
वरिष्ठ संवाददाता
फूलु सुनार
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७


© 2024 janatatoday.com All Right Reserved | Site by : SobizTrend Technology