लेक एक्स्पोमा विद्यार्थीको प्रतिभा : स्मार्ट ट्राफिक लाईट देखि राइजिङ नेपाल स्मार्ट सिटी सम्म

लेक एक्स्पोमा विद्यार्थीको प्रतिभा : स्मार्ट ट्राफिक लाईट देखि राइजिङ नेपाल स्मार्ट सिटी सम्म

रुपन्देहीको तिलोत्तमा स्थित लुम्बिनी ईञ्जिनियरिङ् कलेजमा तेस्रो वर्ष कम्प्युटर इलेक्ट्रिकल ईन्जिनियरिङ पढिरहेका ४ विद्यार्थीले स्मार्ट ट्राफिक लाईट बनाएर झिलीमिली पारेका थिए । सडकमा गुडेका साधनले ट्राफिक बत्ती नदेखेको समयमै ढाट झर्ने र साधन रोकिन्छ । यसले सवारी दुर्घटना हुनबाट जोगाउने र यो कुनैपनि लेनमा प्रयोग गर्न सकिने स्वस्तिका श्रेष्ठले बताइन् । नेपालको भौगोलिक अवस्थाले हुने दुर्घटना न्युनिकरणमा यसले अहम भुमिका खेल्छ, उनले भनिन्, यो तरिका अपनाइयोस् भनेरै नमुना देखाएका हौं । शहरीकरणमा तीब्र अघि बढेको बुटवल–भैरहवामा ट्राफिक बत्ती नै नहुंदा परेको समस्या अन्त्यका लागि बत्र्तीसंगै यो प्रविधी अपनाउन सकिने उनले बताइन् ।

इलेक्ट्रिक एण्ड इलेक्ट्रोनिक तर्फ तेस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थीले थ्री डी प्रिन्टरबाट विभिन्न वस्तु बनाएर हेर्न आएका अवलोकनकर्तालाई दिइरहेका थिए । उक्त प्रिन्टरबाट आफुले चाहेको वस्तु निकाल्न सकिने विद्यार्थी ओसियन कुंवरले बताए । कम्प्युटरमा टिंकर क्याड, ब्लेन्डर र फ्युजन थ्री सिक्स्टीको प्रयोग गरी थ्री डि मोडल बनाइन्छ, उनले भने, रेप्टायर होस्टबाट प्रिन्टरमा वस्तु निस्कन्छ । उनले यो अभ्यास आउने अवलोकनकर्ताले पटकपटक हेरेको र रमाइलो मानेको बताए ।

त्यस्तै कुनै पुर्वाधार निर्माण गर्दा छड कै प्रयोग गर्ने गरिन्छ । तर छड बिनापनि ठुलाठुला भवन बन्छन् र टिक्छन् भन्ने कुरा कतिलाई थाहा नहोला । उक्त कुरा बताउनका लागि तिलोत्तमाको भलवारी स्थित लुम्बिनी ईन्जिनियरिङ कलेजमा अध्ययनरत विद्यार्थीले यसको नमुना प्रदर्शन गरेका छन् । कलेजमा आयोजित २ दिने एक्स्पोमा उनीहरुले बनाएको एक सम्पदाको निर्माण बांसले गरिएको छ । नेपाल टावर नाम दिइएको उक्त भवनको बीम बांसले बांधिएको सिभिल इन्जिनियरिङ तर्फ सातौं सेमेस्टरमा अध्ययनरत पवन भुषालले बताए । काठ्माण्डौको भक्तपुर दरबार स्क्वायर, पाटन दरबार स्क्वायरको भवनको तल्लो बिम बांसकै छ, उनले भने, अमेरिका र ब्रिटिस देशमा यसको अधिक प्रयोग भइरहेको छ । विगतमा पुर्खाले बांसको प्रयोग गरेरै बनाएका भवन अहिलेसम्म रहिरहनु पनि यसको प्रयोग सफल हुन्छ भन्ने उदाहरण भएको उनले बताए । भवन बनाउंदा भार थपिने क्रममा छड बांगिएसरह बांसलाई समेत बंग्याउन सकिने भएकाले यो प्रयोगमा ल्याउन सकिने उनले बताए । बांसलाई धुंवा विधीबाट किरा नलाग्ने र नकुहीने बनाएर ५ सय वर्ष सम्म टिकाउन सकिने उनले जनाए । यसो गर्दा नेपाली किसानलाई फाइदा हुने र नेपाली अर्थतन्त्रमा टेवा पुग्ने समुहका विद्यार्थीले बताए ।

एक्स्पोकै आकर्षणका रुपमा राखिएको राइजिङ नेपाल स्मार्ट सिटी नामक प्रोजेक्टले पनि अवलोकन गर्न आउनेको ध्यान खिचिरहेको थियो । इलेक्ट्रिकल ईन्जियिरिङमा ५ औं सेमेस्टरमा पढ्दै गरेका विद्यार्थीले बनाएको सो सिटीमा जमिनमुनिबाट तारको प्रयोग गरी सडक, मानिस तथा पुर्वाधारमा पर्न सक्ने असर निवारण गर्न सकिने विद्यार्थी शिवम् श्रीवास्तवले बताए । पानी पर्दा बिजुलीका तारको चिस्यानले लाग्न सक्ने करेन्टदेखि जोगिन यो उपाय फाइदाजनक हुन्छ, उनले भने, जमिनमुनिबाट तारको विस्तार भएमा पृथ्वीमै त्यस्तो करेन्ट जान्छ र त्यसले दुर्घटनाबाट जोगाउंछ । यसरी तार विस्तार गर्न सुरुङ निर्माण गरेर आरवाईबी थ्रि फेज लाइन मार्फत गर्न सकिने उनले बताए । यो प्रकृया अपनाउन सडकको ३ फुट तलबाट गर्नुपर्ने अर्की विद्यार्थी रबिना प्रधानले बताइन् । कुनैपनि ठुला साधन गुड्दा त्यसमा नकुचियोस् भनेर यती दुरी छोड्नुपर्छ, उनले भनिन्, काठ्माण्डौमा कुलमान घिसिङले अपनाएको कन्सेप्टलाई देशैभरि प्रयोग गर्दा शहर सफा र सुन्दर देखिने उनले बताइन् । तिलोत्तमा नगरपालीकाले सडकमा राखेको सडकबत्तीमा यो तरिका अपनाइएको उनले बताइन् । सुरक्षको दृष्टिकोणले यो उपाय उपयुक्त हुने प्रधानले बताइन् ।

 


विद्यार्थीले निर्माण गरेका विभिन्न प्रविधीयुक्त सामाग्री मध्ये अर्को थियो वेबसाइट । जसमा सिभिलतर्फको सम्पुर्ण जानकारी उपलब्ध छ । ड्रीमसिभिल डट कम नाम दिईएको वेबसाईटमा २० हजार बढी भौतिक पुर्वाभार निर्माण सम्बन्धी अध्ययन गर्न सकिने लेख, ल्याबमा गरिने परिक्षणको नामसहित परिक्षण जानकारी, विद्यार्थीले पढ्दै गर्दा नजानेको प्रश्नको उत्तरसहितको सुविधा उपलब्ध रहेको डिजाइनर मधुकृष्ण पौडेलले बताए । वेबसाईटभित्र आस्क नामक विकल्प छ, त्यसले खोज्दा नभेटिएको कुनैपनि जानकारी २४ घण्टामा उपलब्ध गराउंछ, उनले भने, वेबसाईटबाटै लाईब्रेरीका पुस्तक अध्ययन गर्न मिल्ने ई लाईब्रेरी समेत राखेका छौं । व्यस्त मानिसले पुर्वाधार निर्माणको प्रकृया र आवश्यक हरेक जानकारी लिन यो वेबसाइंट प्रयोग गर्न सक्ने उनले बताए ।
कलेजको गेटबाट भित्र प्रवेश गर्दा रोबोटले स्वागत गर्ने र आरती नै उतार्ने दृश्य पनि मनमोहक थियो । उक्त रोबोटलाई रिमोर्टले चलाउन सकिने व्यवस्था मिलाईएको थियो । बेट्रीजडित रोबोटमा पावर सप्लाई भएपछि पेनड्राईभबाट त्यसमा रहेका गित बाहिर सुनाउन सकिने गरी राखिएको शिक्षक यादव नेपालले बताए ।
एक्स्पोमा यीबाहेक विद्यार्थीले निर्माण गरेको भोटिङ मेसिन, मादक पदार्थ सेवन गरेको परिणाम पत्ता लाउन सक्ने उपकरण, विद्युतीय लिफ्ट, टर्निङ लाईट, हाइड्रोपावर, कस्टमर कलीङ सिस्टम, हाइड्रोलिक ब्रिज लगायतका प्रविधि समेत राखिएको थियो ।

सातौं संंस्करणको एक्स्पो फागुन १२ गते सुरु भई १३ गते सकिएको हो । कलेजभित्रका ३ संकायमा अध्ययनरत विद्यार्थीले बनाएका प्राविधिक वस्तु प्रदर्शनीमा राखिएको थियो । ५० भन्दा बढी स्टल रहेको उक्त एक्स्पो कलेजले प्रत्येक दुई ÷ दुई वर्षमा गर्दै आएको कलेजका निर्देशक तुलसीप्रसाद सापकोटाले बताए । विद्यार्थीको क्षमता अभिवृद्धिसहित व्यक्तित्व विकास गर्ने र देशमा नयां प्रविधि भित्र्याउन समेते लेक एक्स्पो आयोजना गरिन्छ, उनले भने, विद्यार्थीलाई चाहिने हरेक सामाग्री कलेजले उपलब्ध गराउंछ विद्यार्थीले आफना प्रतिभा तथा क्षमता प्रदर्शन गर्न सकुन् र पछि कुनै कम्पनी वा संस्थामा काम गर्दा मागअनुसार प्राविधिक उपकरण, वस्तु वा कम्प्युटर सफ्टवेयरको डिजाइन गर्न सकुन भनेर प्रविधि प्रदर्शनीलाई प्राथमिकता दिइएको उनले बताए   । एक्स्पोमा प्रदेश पाँचका सामाजिक बिकास मन्त्री सुदर्शन बराल, उद्योग पर्यटन बन तथा वातावरण मन्त्री लिला गिरी, मन्त्रालयका सचिवहरु, पूर्वमन्त्री तथा नेपाली काँग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाक, सचिव रामकृष्ण खाँण लगायतले स्थलगत अवलोकन गरेको बिद्यालयका प्राचार्य शिवराज बरालले बताए ।

प्रकाशित मिति : बुधबार, फाल्गुन १४ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij