काठमाडौँ
कागेश्वरी मनोहरा नगरपालिका–९, पेप्सीकोला टाउनप्लानिङस्थित सनसिटी अपार्टमेन्टको ब्लक ‘ए’मा बसोबास गर्ने २९६ जनाको र्यापिड डाइग्नोस्टिक टेस्ट आरडीटी किटबाट कोभिड–१९ को एन्टिबडी परीक्षण गरिएको छ ।
नगरपालिकाका मेयर कृष्णहरि थापाका अनुसार परीक्षण गरिएका मध्ये कसैको पनि रिपोर्ट पोजिटिभ आएको छैन। ‘सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य सेवा विभागबाट आउनुभएका चिकित्सकले जानकारी दिनुभएको छ,’ उनले भने, ‘संक्रमित परिवारको घरमा काम गर्ने दुई युवकको पहिलोपटक नेगेटिभ आएपछि दोस्रोपटक पनि परीक्षण गरिएको थियो। हामीलाई डाक्टरले सबैको नेगेटिभ आएको बताउनुभएको छ।’
मेयर थापाका अनुसार सो अपार्टमेन्टमा बस्ने सबै व्यक्ति तथा वरपर रहेका पसलधनीको पनि आरडीटी गर्नुपर्ने निष्कर्ष स्वास्थ्य सेवा विभागको टोलीको छ। ‘विभागको टोली र हामीले अध्ययन गर्दा लगभग १३सय जनाजतिको आरडीटीबाट परीक्षण गर्नुपर्ने देखेका छौं। उहाँहरूले पनि त्यही भन्नुभएको छ,’ उनले भने, ‘बाँकी निर्णय त स्वास्थ्य मन्त्रालयले लिन्छ होला।’
उनले आजका लागि भने परीक्षणको काम लगभग सकिएको र भोलि पुनः परीक्षण हुने बताए। ‘१२–१३ सय मानिसको परीक्षण गर्न त ३–४ दिन लाग्छ होला,’ उनले भने, ‘आज पनि हामीले पहिले बिरामीहरूको परीक्षण गरेका थियौं।’
मेयर थापाका अनुसार आज अपार्टमेन्ट परिसरमा डिसइन्फेक्टेन्ट छर्किने काम पनि भएको छ। बाहिर सडकतिर पनि डिसइन्फेक्टेन्ट छर्किइएको थियो। सबैको परीक्षण नभएसम्मका लागि उक्त अपार्टमेन्टलाई सिल नै गरेर राख्नेबारे छलफल भइरहेको थापाले बताए। उनका अनुसार भवन सिल गरेर राखिएको अवस्थामा त्यहाँ बस्नेहरूका लागि अपार्टमेन्ट व्यवस्थापन समिति र वडा कार्यालयबीच समन्वय गरेर अवश्यक सामग्री पूर्ति गर्ने व्यवस्था मिलाइँदै छ।
प्रकाशित मिति : बुधबार, बैशाख ३ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्