काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य समेत रहेकी प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिकी सदस्य डा.डिला संग्रौलाले राज्य व्यवस्था समितिको भर्चुअल बैठक तत्काल बोलाउन माग गर्नुभएको छ। डा.संग्रौलाले सिङ्गै मुलुक अहिले कोरोना भाइरसको संक्रमणसंग जुधी रहेको भन्दै संसदको अधिवेशन चालु नरहेका बेला समितिको बैठक बोलाउन माग गर्नुभएको हो।
उहाँले सम्बन्धित सरकारी अधिकारीहरूलाई पनि आमन्त्रण गरी ‘मिनी संसद’ पनि भनिने समितिको बैठक तत्काल बोलाउन राज्य व्यवस्था तथा सुशासन समितिकी सभापति शशी श्रेष्ठलाई आग्रह गर्नुभएको छ।
‘स्वास्थ्य मन्त्रालयमा कमिशनको हिसाब किताब चलिरहँदा देशभरि स्वास्थ्यकर्मीहरूलाई व्यक्तिगत सुरक्षा उपकरण बिना नै काम गर्नु परिरहेको अवस्था छ’, उहाँले भन्नुभयो, ‘टेस्ट गर्न भनेर ल्याइएका उपकरणहरूको विश्वसनीयतामाथि नै प्रश्न उठेको छ ।’
भौतिक रुपमा उपस्थित हुन सम्भव नभए उपलब्ध प्रविधिको प्रयोग गरी भर्चुअल बैठक गर्न उहााले माग गर्नुभएको छ।प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले त्यस्तो बैठक गरि सकेको छ।
‘जनताको जीवन रक्षा गर्न सरकारले लागू गरेको लकडाउनलाई हाम्रो पार्टीले पूर्ण समर्थन गरेको छ’, सांसद डा.संग्रौलाले भन्नुभयो, ‘लकडाउनका कारण सैयौं नेपालीहरू सीमामा अलपत्र परि रहेका छन् ।’
‘हजारौं मानिसहरू भोको पेट र साना बच्चा सहित घर पुग्ने आशामा पैदलै हिंडी रहेका छन्’, उहाँले भन्नुभयो, ‘सरकार २ दिनका लागि काठमाडौंबाट अलपत्र परेका मानिसहरूलाई बाहिर जान दिने भन्छ, त्यसको केहि घण्टापछि त्यस्तो निर्णय नै नभएको दावी गर्छ ।’
यस्तो पाराले मानिसहरूको जीवन र जनजीविका माथि जोखिम बढेका संग्रौलाको भनाइ छ। उहाँले पैदल यात्रीहरुलाई तत्काल उनीहरूको घरसम्म पुराउन प्रदेश र स्थानीय निकायसँग समन्वय गर्न गृह मन्त्रालयलाई आग्रह पनि गर्नुभएको छ।
प्रकाशित मिति : बिहिबार, बैशाख ४ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्