क्‍वारेन्टाइनमा युवकको मृत्युपछि सरकारलाई कांग्रेसका सात प्रश्‍न

क्‍वारेन्टाइनमा युवकको मृत्युपछि सरकारलाई कांग्रेसका सात प्रश्‍न

काठमाडौं

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले बाँकेमा क्वारेन्टाइनमा बस्दै आएका २५ वर्षीय एक युवकको कोरोनाका कारण मृत्यु भएपछि गम्भीर प्रश्नहरू उब्जेको बताएको छ।    कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज एक विज्ञप्ति जारी गर्दै विश्वव्‍यापी रूपमा लाखौंको मृत्यु भइरहेका बेला ती युवकको मृत्युलाई केवल एक थान मृत्युका रूपमा बुझियो र त्यसका पछिल्तिर रहेका गम्भीर प्रश्नहरुलाई नजरअन्दाज गरियो भने कोरोनासंगको संघर्षका हाम्रा आगामी दिनहरू झनै विकट हुने बताएका हुन्। कांग्रेसले बाँकेको क्वारेन्टाइनमा भएको युवकको मृत्युको घटनालाई गम्भीरतापूर्वक लिएको जनाएकाे छ। उक्त घटनाबाट शिक्षा लिंदै गम्भीर भएर कार्य गर्न  सरकारलाई आग्रह गर्दै नागरिकको अमूल्य जीवनप्रति खेलबाड नगर्न पनि चेतावनी दिएकाे छ।  युवकको मृत्यु पछि कांग्रेसले औँल्याएका ७ प्रश्न यस्ता छन्

१) ती युवकले अघिल्लो दिनदेखि नै पटकपटक वान्ता गरेको, सास फेर्न कठिनाइ भएको, ज्वरो आएको विवरण थाहा हुँदाहुँदै क्वारेन्टाइनमा नियमित निगरानी राख्नुपर्ने राज्यले तिनलाई अघिल्लो दिन नै अस्पताल पुर्‍याउनुपर्ने सामान्य दायित्व पनि किन निर्वाह गरेन?

२) क्वारेन्टाइनको कार्यविधिले २४ घण्टा एम्बुलेन्स सेवा उपलब्ध रहनुपर्ने मापदण्ड उल्लेख गरेको छ, तर उनी शनिबार राति एकाएक सिकिस्त भएपछि तत्काल एम्बुलेन्स किन उपलब्ध भएन?

३)एम्बुलेन्स उपलब्ध नहुनुमा चालकको असुरक्षित मनोविज्ञानको भूमिका हो भने अत्यावश्यक सुरक्षा सामग्री र जरुरी मानवीय प्रशिक्षण साथ एम्बुलेन्स चालकहरुलाई किन सजग र सतर्क अवस्थामा राख्न सकिएन रु देशभर नै यो समस्या किन निरन्तर देखिएको छ?

४) आइतबार बिहान ७ बज्नु अघि उनको मृत्यु भएपछि उनको लास क्वारेन्टाइन बनाइएको विद्यालयको चौरमा अलपत्र स्थितिमा किन दिनभर राखियो ? अमानवीय ढंगले ती युवाको लास दिनभर घाममा सुकाएर राख्नुभन्दा सुरक्षित व्‍यवस्थापनका साथ उठाएर उपयुक्त ठाउँमा राख्ने मानवीय र जिम्मेवार सोच नदेखिनुको दोषी को हुन्?

५) लास उठाउन परीक्षण रिपोर्टको प्रतीक्षा गरिएको हो भने, सम्‍भव भएसम्म चाँडो रिपोर्ट तयार गर्न उचित समन्वय किन गरिएन ? विशेष परिस्थितिमा चिकित्सक र प्रयोगशालाबीच समन्वय गरेर एउटा मात्रै नमुनालाई प्राथमिकता साथ परीक्षण गर्दा म्यानुएल आरएनए निकाल्न करिब एक घण्टा, पिसिआर उपकरणमा परिक्षण गर्न दुई घण्टा लाग्ने प्राविधिक स्थिति ज्ञात हुंदाहुंदै अघिल्लो दिन संकलन गरिएको उनको स्वाबको परीक्षण त्यही ढंगले समयमै गर्ने÷गराउने व्‍यवस्थापकीय समन्वय र तदारुकता किन प्रस्तुत भएन?

६) नेपालमा कोरोनाको पहिलो संक्रमित भेटिएको चार महिना पुग्न लाग्दा सम्म पनि क्वारेन्टाइनको यस्तो अव्यवस्थित स्थिति देखि परिक्षण ढिलाइसम्म र स्वास्थ सामग्री अभाव देखि फिल्डमा चुस्त कार्यसम्पादन गर्ने टिम संयोजन सम्ममा प्राय धेरै ठाउँमा गम्भीर लापरबाही रहेकोे बिचित्रताले आगामी दिनको कस्तो चित्रको संकेत गर्दैछ ?

७)श्रीमती तथा अबोध छोरीछोराले परबाट लास हेर्दै दिनभर रोएको कारुणिक चित्रले राज्यसत्ताको जिम्मेवारीमा रहेकाहरुलाई आफ्नो कर्तव्यप्रति गम्भीर बन्ने गरी केहि चेत आएको छ कि बाँकेको घटनालाई केवल एक दुःखद कथाका रूपमा विस्मृतिमा धकेल्ने?

प्रकाशित मिति : सोमबार, जेष्ठ ५ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij