काठमाडौं ।
प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समिति बैठकले संघीय संसदको लोगो र सांसदहरूले प्रयोग गर्दै आएको लोगोलाई परिवर्तन गर्ने निर्णय गरेको छ ।
सिंहदरबारमा आइतबार बसेको बैठकले संसदको रोस्ट्रममा राखिएको लोगो र सांसदहरूले लगाउँदै आएको लोगो परिमार्जन गर्ने निर्णय कार्यान्वयनका लागि तत्काल प्रक्रिया अघि बढाउन संघीय संसद सचिवालयलाई निर्देशन पनि दिएको छ ।
बैठकमा संविधान संशोधनका लागि सबै राजनीतिक दलहरू एकजुट भएर अगाडि बढ्ने विषयमा पनि छलफल भएको छ । संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले राष्ट्रिय सहमतिका विषयमा सल्लाह गरी अगाडि बढ्ने र कोरोना नियन्त्रणमा भएका कमजोरी सच्याएर प्रभावकारी ढंगले अघि बढ्ने विषयमा सभामुखमार्फत सरकारलाई सुझाव दिने विषयमा छलफल भएको बताए ।
बैठकले नेपालको नयाँ नक्सासमेत समेटेर संसदको लोगो जारी गर्न सभामुखलाई सिफारिस गरिएको उनले बताए । बैठकले बजेट विनियोजनपछि जेठ २६ गतेसम्मको संसदको कार्यक्रम पनि तय गरेको छ ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले बजेटमाथिको छलफल र संसदको अन्य कार्यक्रमलाई छोटो बनाउने विषयमा छलफल भएको बताए । सुरक्षित र प्रक्रियागत रूपमा संसदका कार्यक्रम सञ्चालन गरी अगाडि बढ्दै संविधान संशोधनका लागि सबै दलहरूसँग छलफल गरी सहमतिका लागि सरकारले पहल गर्न आग्रह गर्ने विषयमा पनि छलफल भएको बताए ।
सरकारले नेपालको नयाँ नक्सा जारी गरेपछि निशान छापमा रहेको नक्सा परिवर्तन गर्न संविधान संशोधनको प्रस्ताव पेस गरेको छ । नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर सरकारले नयाँ नक्सा गरी गरिसकेको छ । यसअघि राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समिति बैठकले पनि लोगो परिवर्तनको निर्णय गरेको थियो ।
प्रकाशित मिति : आइतबार, जेष्ठ ११ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्