चक्रवातको प्रभावले लुम्बिनी प्रदेशका सात जिल्ला प्रभावित हुने सम्भावना, सतर्कता अपनाउन आग्रह

चक्रवातको प्रभावले लुम्बिनी प्रदेशका सात जिल्ला प्रभावित हुने सम्भावना, सतर्कता अपनाउन आग्रह

दाङ । बंगालको खाडीमा विकसित ‘अर्नाव’ चक्रवातको प्रभावले लुम्बिनी प्रदेशका सात जिल्लामा भारी वर्षा, चट्याङ र हावाहुरीको जोखिम बढ्न सक्ने भन्दै प्रदेश सरकारले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

लुम्बिनी प्रदेश सरकारको आन्तरिक मामिला, कानून तथा यातायात मन्त्रालयले सार्वजनिक गरेको सूचनाअनुसार कात्तिक १३ र १४ गते रुकुम पूर्व, रोल्पा, प्युठान, अर्घाखाँची, पाल्पा, कपिलवस्तु र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) बढी प्रभावित हुन सक्ने अनुमान गरिएको छ ।

नेपाल मौसम विज्ञान विभागको विशेष बुलेटिनलाई उद्धृत गर्दै मन्त्रालयले उक्त मौसमी प्रणालीको प्रभाव कात्तिक १२ गते रातिदेखि सुरु हुन सक्ने जनाएको छ । प्रभावित जिल्लाका धेरै स्थानमा चट्याङ र हावाहुरीसहित मध्यम वर्षा तथा केही स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ । वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्नुका साथै सडक र हवाई यातायातसमेत प्रभावित हुन सक्ने मन्त्रालयले जनाएको छ ।

सम्भावित जोखिम न्यूनीकरणका लागि मन्त्रालयले कात्तिक १२ गतेअघि नै धानबाली काट्ने र भित्र्याउने काम सम्पन्न गर्न किसानलाई आग्रह गरेको छ । त्यस्तै, उच्च पहाडी तथा हिमाली क्षेत्रमा यात्रा नगर्न र अत्यावश्यक कामबाहेक अन्य यात्रा स्थगित गर्न अनुरोध गरिएको छ ।

नदी तथा खोलाको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई पूर्वसूचना प्रणालीबाट प्राप्त जानकारी नियमित रूपमा लिन र सुरक्षित स्थानमा रहन मन्त्रालयले आग्रह गरेको छ । जोखिमयुक्त क्षेत्रमा रहेका व्यक्ति तथा परिवारलाई आवश्यकताअनुसार विपद् आउनुअघि नै सुरक्षित स्थानमा स्थानान्तरण गर्न स्थानीय तह, जिल्ला सुरक्षा समिति, सुरक्षा निकाय तथा स्वयंसेवकलाई तयारी अवस्थामा रहन पनि अनुरोध गरिएको छ ।

सम्भावित जोखिमलाई ध्यानमा राख्दै आवश्यक परे सवारी आवागमन रोक्ने र त्यसअघि नै सर्वसाधारणलाई जानकारी गराउने व्यवस्था मिलाउनसमेत मन्त्रालयले आग्रह गरेको छ । प्रदेश सरकार, स्थानीय तह र सुरक्षा निकायलाई जोखिमबारे नागरिकलाई सुसूचित गर्न तथा उद्धार र प्रतिकार्यका लागि तयारी अवस्थामा रहन भनिएको छ ।

प्रकाशित मिति : बुधबार, कार्तिक १२ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij