जेठ ३२ सम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय ,विमानस्थल असार १६ सम्म बन्द रहने

जेठ ३२ सम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय ,विमानस्थल असार १६ सम्म बन्द रहने

काठमाडौं
सरकारले चैत ११ गतेदेखि जारी लकडाउनलाई जेठ ३२ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ। शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्ले उक्त निर्णय लिएको हो। मन्त्रिपरिषद् बैठकले आन्तरिक तथा बाह्य हवाई उडान पनि असार १६ गतेसम्म बन्द राख्‍ने निर्णय गरेको छ। एक मन्त्रीका अनुसार देशमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिँदै गएपछि सरकारले यस्तो निर्णय लिएको हो। सरकारले पछिल्लो पटक गत ४ जेठको निर्णयानुसार यही जेठ २० गतेसम्मका लागि लकडाउन थपेको थियो। लकडाउनको सुरुमा कोरोना संक्रमित कम थिए। तर लकडाउन लम्बिँदै जाँदा भारतबाट आएका नागरिकसँगै कोरोना पनि तीव्र गतिमा फैलिन थालेको छ। शनिबार मात्रै देशभर कीर्तीमानी २०८ जना नयाँ संक्रमित भेटिएका छन्। आजको मन्त्रिपरिषद् बैठकले लकडाउनका कारण तेस्रो देशमा अड्किएका नेपालीहरुलाई ल्याउने कार्यविधि पनि पास गरेको छ। यो कार्यविधि पास गरेसँगै अब तेस्रो देशबाट नेपालीलाई उद्धार गरेर ल्याउने बाटो खुलेको छ। यसअघि शुक्रबार बसेको कोरोना रोकथाम उच्चस्तरीय समितिको बैठकले विदेशमा अड्किएका नेपालीलाई प्राथिमकताका आधारमा अर्को सातादेखि जहाज पठाएर ल्याउने निर्णय लिएको थियो। उक्त कामका लागि आवश्यक कार्यविधि शनिबारको मन्त्रिपरिषद्‍मा पेश गरिएको थियो। सरकारले अब तेस्रो देशबाट दूतावासमा नाम दर्ता भएका आधारमा नेपालीलाई आवश्यकता अनुसार ल्याउने भएको छ। तर उनीहरुलाई ल्याएर काठमाडौंका होटलमा कम्तीमा १४ दिन क्‍वारेन्टाइनमा राखिने भएको छ। यिनले पाउनेछन् पहिलो प्राथमिकता शुक्रबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले नेपाल आउनै पर्ने अवस्थामा रहेका नागरिकलाई स्वदेश फर्काउने निर्णय गरेको थियो। आममाफी पाएर नेपाल आउन नपाएका, विभिन्‍न भिसामा गएका तर आफन्तको मृत्यु भएका कारण काजकिरिया गर्न आउनुपर्ने अवस्थाका व्यक्तिलाई फर्काउने निर्णय गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण बिडारीले शुक्रबार बताएका थिए। यस्तै श्रम करार अवधि सकिएर रोजगारी गुमाएका, कोरोनाबाहेक अन्य स्वास्थ्यको दृष्टिकोणले अस्वस्थ रहेका, सुत्केरी तथा गर्भवती महिला, बालबालिका, जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई स्वदेश फर्काइने उनले बताएका थिए। स्वदेश फर्किनका लागि सरकारी सेवामा रही तालिम वा अध्ययनका लागि विदेशमा रहेका नागरिकले सम्बन्धित देशको दूतावासमा आफ्नो विवरण टिपाउनुपर्ने छ। सरकरले सम्पूर्ण देशबाट विवरण प्राप्त भएपछि नेपाल वायु सेवा निगम वा नेपालका अन्य वायु सेवा निगमबाट उनीहरुको उद्धार गर्नेछ। सचिव विडारीका अनुसार प्राप्त विवरण परिचान गरी परराष्ट्रमन्त्रालयले त्यसको सूची संस्कृति, पर्यटन तथा नागरिक उड्‍ययन मन्त्रालयलाई दिनेछ। पर्यटन मन्त्रालयले हवाई उडानको व्यवस्था गरेर उनीहरुलाई नेपाल ल्याउने छ।

प्रकाशित मिति : शनिबार, जेष्ठ १७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij