बुटवल – संयुक्त दलित संघर्ष समिति रुपन्देहीले यो वर्षको जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसलाई खबरदारीसभा गरेर मनाएको छ । बुधबार परेको छुवाछुत उन्मूलन दिवसमा उमंग भन्दा पनि रुकुम चौरजहारीमा भएको जातीय नरसंहार र दैशैभर दलित समुदायमाथि भएको उत्पीडन अन्त्यको माग गर्दै बुटवलको सडकमा विरोध प्रदर्शन गरिएको छ ।
उक्त विरोधसभालाई सम्बोधन गर्दै दलित मुक्ति संगठन प्रदेश ५ का संयोजक जोगलाल विश्वकर्माले अन्तरजातीय प्रेम गरेकै कारण जाजरकोटका नवराज सुनार र उनका साथीहरुको हत्या भएको १२ दिन पुग्दा पनि प्रशासनले कारवाही गर्ने भरपर्दो तथ्य वाहिर ल्याउन नसकेको बताए । उनले दलित समुदायमाथि भएको विभेद विरुद्ध आफूहरु सडक संघर्षमा उत्रेको बताउँदै सरकारले दोषीलाई छाविन गरि कडा कारवाही नगर्दासम्म आन्दोलनमा उत्रने बताए ।
उक्त अवसरमा संयुक्त दलित संघर्ष समिति रुपन्देहीका संयोजक हरिओम विश्वकर्माले मनुस्मृतिमा आधारित सामाजिक संरचनाका कारण दलिल यूवाको हत्या हुँदा पनि सरकारले गम्भिर रुपमा नलिएको आरोप लगाए ।

उक्त विरोधसभामा रुपन्देही सुनचाँदी व्यवसायी संघका अध्यक्ष एमवि विश्वकर्माले संविधानले दलितका हकअधिकार सम्बोधन गरे पनि त्यो व्यवहारमा लागु हुन नसकेको बताए ।उनले रुकुम, जाजरकोट र देवदहमा भएको घटना जघन्य अपराध भएकोले दोषीलाई कानूनी दायरामा ल्याउनुपर्ने माग गरे ।
संघर्ष समितिका सचिव पदम विश्वकर्मा, दलित नेताहरु सावित्रा विश्वकर्मा, नरेन्द्र दर्जी, नर बहादुर सुनार, प्रकाशमणि विश्वकर्मा, लोक बहादुर नेपाली, कृष्णराज रसाईली,श्याम बिक, राष्ट्रिय दलित पत्रकार संघका केन्द्रीय सदस्य रीता बुढाथोकी लगायतले बोल्दै जातीय विभेदको मुद्धा सबैको साझा समस्या भएकाले गैरदलितहरुको पनि साथ रहनुपर्ने बताए ।
प्लेकार्ड सहित बुटवल राजमार्ग चौराहामा उपस्थित भएकाहरुले जातीय छुवाछुत उन्मूलन दिवसको कुनै अर्थ नरहेको भन्दै सरकारले आफैले बनाएको कानुन कार्यान्वयन गर्न नसकेकोमा आपत्ति जनाए । प्रदर्शनमा रुकुम चौरजहारी र रुपन्देही देवदहमा भएको हत्यामा संलग्नलाई कानुन अनुसार कारवाहीको माग गरिएको थियो।
७१ सदस्यीय संघर्ष समिति गठन
यसैविच रुपन्देहीमा संयुक्त दलित संघर्ष समितिले आन्दोलनलाई थप सशक्त बनाउने भएको छ । हरिओम विश्वकर्माको संयोजकत्वमा ७१ सदस्यी संघर्ष समिति गठन गरिएको हो ।
समितिको सहसंयोजकमा बुद्धिराम हरिजन, सचिवमा पदम विश्वकर्मा, सहसचिव हरि बोमरेल, कोषाध्यक्ष दीपक विश्वकर्मा रहेका छन । यसैगरि सदस्यहरुमा रुपन्देहीमा क्रियाशिल सबै दलित अभियान्ता तथा दलित सम्बन्ध संघसंगठनका प्रतिनिधिहरु रहेका छन ।
प्रकाशित मिति : बुधबार, जेष्ठ २१ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्