काठमाडौं- नागरिकता विधेयकमा सहमति जुटाउन प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले सरकारलाई पाँच दिनको समय दिएको छ ।
बुधबार बसेको बैठकमा सहमति जुटाउन गृहमन्त्री रामबहादुर थापाले समय मागेपछि समितिले पाँच दिनको समय दिएको हो ।
नेपाली नागरिकसँग विवाह गरी आउने विदेशी महिलालाई अंगीकृत नागरिकता दिने सम्बन्धमा राजनीतिक दलहरुबीच विवाद छ ।
नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलालाई अंगीकृत नागरिकता दिने सम्बन्धमा विवाद हुँदा करिब २ वर्ष याता यो विधेयक रोकिएको छ ।
समितिमा मंगलबारबाट पुनः सुरु भएको छलफलमा नेपाली नागरिकसँग विवाह गरी आउने विदेशी महिलालाई ७ वर्ष पछि मात्र अंगीकृत नागरिकता दिने र त्यसअघि आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी स्थायी आवासीय अनुमति पत्र दिने प्रस्ताव पेश भएको थियो । तर नेपाली कांग्रेसका सांसदहरुले थप छलफल गर्न समय मागेपछि बैठक आज (बुधबार)का लागि सारिएको थियो ।
सांसदहरुबीच सहमति जुटन नसकेपछि गृहमन्त्री थापाले राजनीतिक तहमा सहमति जुटाउन समय मागेका थिए । समिति सभापति शशी श्रेष्ठले चालु अधिवेशनबाट नै विधेयक पास गर्नका लागि जसरी भएपनि पाँचदिन भित्रमा सहमति जुटाएर आउन गृहमन्त्री थापालाइ समय दिएको बताइन ।
‘यसको गाम्भिर्यतालाई लिएर छलफल चलाउने हो भने एक दिन पनि काफि हुन्छ भन्ने लाग्दछ ।’ उनले भनिन ‘ सम्भव भएसम्म भोलिपर्सि नै पाँच दिन भित्रमा यसलाई टुंगो लगाउने र यदि हाउस छिटो टुङ्गिने भएको खण्डमा त्यो भन्दा अगाडि पनि हुनु पर्दछ ।’
गृहमन्त्री रामबहादुर थापाले जारी अधिवेसनमा पठाउने गरी राजनीतिक तहमा सहमति जुटाउन समय मागेका थिए । ‘छिटो भन्दा छिटो सकेसम्म यहि सत्र भित्र प्रस्तुत गर्ने ढंगले नै गर्ने कुरा हुन्छ । ’ उनले भने ‘ यही सत्रमा ल्याउने हो विधेयकलाई ।’
बैठकमा कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडुले नागरिकताको विषयमा उच्च राजनीतिक नेतृत्वबीच नै सहमतिको आवस्यकता रहेको बताए ।
२२ साउन २०७५ मा प्रतिनिधि सभामा दर्ता भएको विधेयक २०७५ भदौ ५देखि समितिमा विचाराधीन छ । समितिले अंगीकृत नागरिकता दिने विषयमा सहमति जुटाउन नसक्दा विधेयक रोकिएको हो ।
प्रकाशित मिति : बुधबार, असार ३ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्