बुटवलको बजेट : स्वास्थ्य, शिक्षा र खाद्य सुरक्षासँगै रोजगारी सिर्जनामा जोड

बुटवलको बजेट : स्वास्थ्य, शिक्षा र खाद्य सुरक्षासँगै रोजगारी सिर्जनामा जोड

बुटवल – बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७७÷७८ का लागि रु दुई अर्ब एक करोड को बजेट प्रस्तुत गरेको छ । चालुतर्फ रु ९७ करोड ४३ लाख ५७ हजार अर्थात् करिब ४८ प्रतिशत, पूँजीगततर्फ ९९ करोड २० लाख ९६ हजार अर्थात् ४९ प्रतिशत र वित्तीयतर्फ रु पाँच करोड अर्थात् दुई दशमलव ४८ प्रतिशत बराबरको बजेट विनियोजन भएको छ । सङ्घ तथा प्रदेश सरकारबाट प्राप्त हुने सशर्त अनुदानसमेतलाई समावेश गर्दै गत वर्षभन्दा करीब रु ११ करोड बढी रकमको बजेट प्रस्तुत गरिएको हो । उपमहानगरले गत आवमा रु एक अर्ब ९० करोडको बजेट प्रस्तुत गरेको थियो । उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीको अध्यक्षतामा सोमबारदेखि जारी नगरसभाको सातौँ अधिवेशनमा आज नगर उपप्रमुख एवं बजेट तथा कार्यक्रम तर्जुमा समिति संयोजक गुमादेवी आचार्यले आव ०७७÷७८ का लागि बजेट प्रस्तुत गर्नुभएको हो ।

बजेटको मुख्य उद्देश्य सबल आर्थिक केन्द्रका रुपमा समुन्नत बुटवल निर्माण गर्दै ‘समृद्ध बुटवल : खुशी जनता’ रहेको उल्लेख छ । बुटवलमा सञ्चालनमा रहेका राष्ट्रिय गौरव, प्रदेश गौरव र बुटवलको आफ्नै नगर गौरवका आयोजना र पूर्वाधार विकासका कामलाई प्राथमिकतामा राख्दै अधुरा योजनालाई पहिले पूरा गरिने घोषणा गरिएको छ । कोभिड– १९ को महामारीले मुलुकको अर्थतन्त्रमा नकारात्मक असर परेको र आर्थिक सामथ्र्य खुम्चिएकाले बुटवलको बजेटमा पनि त्यसको असर परेको उल्लेख गरिएको छ ।

बजेटमा अनिवार्य दायित्व, बहुवर्षीय क्रमागत योजना, चालू आवमा कोभिड–१९ का कारण सम्पन्न हुन नसकेका योजनाको कार्यान्वयन, ममर्तसम्भार कोष, पूर्वाधार विकास, पूँजीगत भैपरी, वारुणयन्त्र, प्रकोप, शैक्षिक विकासजस्ता विभिन्न कोष समेटिएका छन् । बजेटको प्राथिमकतामा शिक्षा, स्वास्थ्य, खेलकूद, सामाजिक सुरक्षा तथा संरक्षण, लैङ्गिक समानता तथा समावेशीकरण, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र, आर्थिक विकास (कृषि, पशुपक्षी, सिंचाइ, भूमि व्यवस्था), वन, वातावरण तथा विपद्, खानेपानी तथा सरसफाइ एवं रोजगारी, सहकारी, अनुगमन र सूचना प्रविधि शीर्षकका बजेट विनियोजन गरिएको छ ।

बजेटका सिद्धान्त र प्राथमिकता

बजेटले अङ्गीकार गरेका सिद्धान्तका रुपमा समन्यायिक विकास, लैङ्गिक समानता, समावेशीकरण तथा सामाजिक न्याय, श्रमको सम्मान, उद्यमशीलता, अनुशासन र सहिष्णुताको प्रवद्र्धन, सांस्कृतिक विविधताबीच एकता, सार्वजनिक निजी तथा सहकारी क्षेत्रको सहभागितामा स्रोतको उच्चतम परिचालनलाई लिइएको छ । बजेटका प्राथमिकताका रुपमा आधारभूत शहरी पूर्वाधार विकास, शिक्षा तथा जनस्वास्थ्य, खानेपानी, सरसफाइ तथा फोहरमैला व्यवस्थापन, पर्यटन, कृषि, उद्योग, वाणिज्य, सहकारी, श्रम तथा रोजगारी, वातावरण, हरियाली तथा सौन्दर्यकरण छन् । बजेटको धेरै रकम स्वास्थ्य क्षेत्र सुधार र पूर्वाधार विकासमा छ । “स्वास्थ्य, शिक्षा, कृषि र रोजगारीका क्षेत्रमा लगानी बढाई कोभिड–१९ ले ल्याएको समस्यासँग जुध्नसक्ने सामथ्र्य बढाउने गरी बजेट ल्याएका छौँ”, उपप्रमुख आचार्यले बजेट प्रस्तुत गर्दै बताउनुभयो । गत आवभन्दा आगामी आव कोरोनाले खोसिएको रोजगारी प्रवद्र्धन गर्ने र खाद्य सुरक्षा ग्यारेन्टी गर्ने क्षेत्रमा धेरै बजेट केन्द्रित गर्ने गरी बजेट विनियोजन भएको उपमहानगर प्रमुख सुवेदीले बताउनुभयो ।

बुटवलको प्रस्तुत बजेटबाट पूर्वाधार विकासका लागि रु ३५ करोड ९८ लाख २५ हजार छुट्याइएको छ । यस्तै वन वातावरण, हरियाली प्रवद्र्धन सरसफाइ तथा विपद् व्यवस्थापन एवं सूचना प्रविधिका लागि रु चार करोड ९० लाख विनियोजन गरिएको छ । यसैगरी वडास्तरीय कार्यक्रमका लागि रु १७ करोड विनियोजन भएको छ । सामाजिक विकास र सामाजिक सुरक्षातर्फ रु २६ करोड, शिक्षा, युवा तथा खेलकूद र जनस्वास्थ्यतर्फ रु २९ करोड ३२ लाख ४२ हजार र स्वास्थ्यतर्फ रु चार करोड ४० लाख ५० हजार विनियोजन भएको छ । यस्तै स्थानीय सेवा मानवसंसाधन तथा सुशासन प्रवद्र्धनतर्फ रु २८ करोड २६ लाख तथा राजस्व प्रशासन सुधार, सार्वजनिक निजी साझेदारी तथा वित्तिय सेवासमेतका लागि रु सात करोड विनियोजन गरिएको छ ।

प्रकाशित मिति : बुधबार, असार १० २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij