हामीलाई घेरेर बसेको
एउटा दुःखलेमात्र छैन
जीवनका हरेका कुनामा दुःख छ
पूर्वमा दुःख छ
पश्चिममा दुःख छ
उत्तरमा दुःख छ
दक्षिणमा झन् ठूलो दुःख छ ।
वर्षमा दुई भिन्दाभिन्दै ऋतु आउँछन्
पुषमाघ तिर अतिसय जाडो आइदिन्छ
र गरिब निमुखाहरूको प्राण लिएर जान्छ
फेरि धाम चर्किन्छ
आकाशै पग्लिने गरि
तातो हावा लु चल्छ र
तिनै गरिव दुःखीहरूलाई
साथमा लिएर जान्छ ।
अब वर्षा ऋतु शुरु भएकोछ
गाउँ डोजरे विकासको पहिरोमा पुरिदै छ
खोला खहरेहरू बढेका छन्
खेतबारी बगेका छन्
घरबास हराएको छ
हामीलाई कम्ति दुःख छैन
मानौं हामी
दुःखै दुःखको ओढारमा
ओत लागेर बसेका छौं ।
हामीलाई सरकारको दुःख छ
सरकारमा बसेका मान्छेको दुःख छ
यिनले गर्ने जनविरोधी हर्कतको दुःख छ
आफ्नो स्वार्थको लागि
यिनले स्वीकार गर्ने
विदेशी गुलामीका जंजीरहरूको दुःख छ ।
हरेक दिन छिमेकीले सारिरहेको
जंगेपिलरको दुःख छ
कालापानी, लिम्पियाधुरा र लिपुलेकमा
छिमेकीको तिरंगा झण्डा
आधा शताब्दी देखि फरहराइरहेको छ
छिमेकीहरू आपसमा लडाई गर्छन्
हाम्रा आमा दिदीबहिनीहरूको
सिउँदोको सिन्दर पोछिन्छ
सन्तान छोराछोरीहरू बेसहारा बन्छन्
हामीलाई स्वाभीमान
आत्मगौरव र वीरताको दुःख छ
लाग्छ,
हामी दुःखै दुःखको पहाडले थिचिएर
बाँच्न विवश छौं ।
प्रकाशित मिति : शनिबार, असार १३ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्