बुटवल ।
नेपाली कांग्रेस प्रदेश संसदीय दलले खेती गर्ने समयमा नेपाल भित्रिएको सलहले पार्न सक्ने क्षति र प्रभावको सुक्ष्म अध्ययन गरि त्यसबाट हुने जोखिम कम गर्न कृषकहरूलाई सचेतनामुलक तालिम सहित सावधानीका कार्यक्रम संचालन गर्न र कृषि प्राबिधिक सहित आवश्यक विषादी र औषधिहरुको व्यवस्थापन गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ ।
कांग्रेस प्रदेश नं ५ संसदीय दलका कार्यबाहक नेता बिरेन्द्र कुमार कनौडियाले आज एक प्रेस बिज्ञप्ति प्रकाशित गरि कृषकहरूले बर्षभरिलाई पुग्ने अन्नवालि लगाउने समयमा भित्रिएको सलह किराले पार्न सक्ने क्षति प्रति पार्टीको गम्भीर धानाकर्षण भएको जनाउँदै त्यसको असर कम गर्न कृषकहरूलाई सचेतना कार्यक्रम सहितका आवश्यक औषधिको ब्यवस्थापन गर्न प्रदेश सरकारसँग आग्रह गरेका हुन् ।
कृषि तथा पशुपक्षीं मन्त्रालय ले ‘सलह बारे अध्ययन गर्न गठन गरेको कार्यदलले’ नेपालमा यो वर्ष सलह किरा भित्रिने सम्भावना नरहेको प्रतिवेदन जारी गरेको एक महिना भित्रै तराईका जिल्लाहरुमा सलह किरा देखिनुले सरकारी संयन्त्रको कार्यशैली माथि नै प्रश्न चिन्ह खडा भएको जनाउँदै विज्ञप्तिमा छिमेकी मुलुकहरुमा सलह आएर बालीनाली नष्ट पारेको समाचारहरु आइरहे पनि नेपाल सरकार र प्रदेश सरकारले त्यसको रोकथाम र न्युनिकरणको लागि सावधानीका कुनै कदम नचाल्नु निकै दुखद भएको उल्लेख गरिएको छ ।
यस विषम परिस्थितिमा सम्पूर्ण कृषकहरूलाई सचेत रही धानबालीको बिउ, तरकारी वाली तथा अन्य बालिहरुको बचावटका लागि झुल वा जालीले छोप्ने र आसपासका क्षेत्रहरुमा ठूलो ध्वनि तथा धुँवाको प्रयोग गरी बचावट गर्न समेत नेपाली काँग्रेस संसदीय दल प्रदेश ५ ले अनुरोध गरेको छ ।

प्रकाशित मिति : आइतबार, असार १४ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्