तिलोत्तमा- रुपन्देहीको तिलोत्तमा नगरपालिकामा शुक्रबार एउटा सहरी स्वास्थ्य केन्द्र भवन उद्घाटन र अर्को स्वास्थ्य चौकी भवन शिलन्यास गरिएको छ । सहरी स्वास्थ्य केन्द्र भलबारीको भवन उद्घाटन र करहिया स्वास्थ्य चौकी भवन शिलन्यास गरिएको हो ।
सहरी स्वास्थ्य केन्द्र भलबारीको भवन वडा नं. ७ को दल्कामा बनेको छ भने करहिया स्वास्थ्य चौकीको भवन वडा नं. ८ को ज्योतिनगरमा निर्माण हुन थालेको छ । हरेक वडामा कम्तिमा एउटा सरकारी स्वास्थ्य संस्था पुर्याउने नीतिअनुसार तिलोत्तमामा स्वास्थ्य चौकी नभएका वडाहरुमा सहरी स्वास्थ्य केन्द्र निर्माणको काम भैरहेको छ । हालसम्म तिलोत्तमाका दश वटा वडामा सरकारी स्वास्थ्य केन्द्र सञ्चालनमा छन् । बाँकी वडाहरुमा भवन निर्माण हुने प्रक्रियामा छन् ।
जग्गाको स्वामित्व नहुँदा करहिया स्वास्थ्य चौकीको लामो समयदेखि आफ्नै भवन निर्माण हुन सकेको थिएन । ज्योतिनगरमा झण्डै ६ कठ्ठा जमिनको स्वामित्व चौकीको नाममा आएपछि आफ्नैं सुविधासम्पन्न भवन निर्माण थालिएको हो । चालु आर्थिक वर्षभित्र भवनको निर्माण कार्य सकिने नगरपालिकाले जनाएको छ ।
भवन उद्घाटन तथा शिलन्यास कार्यक्रममा तिलोत्तमा नगर प्रमुख बासुदेव घिमिरेले आफ्नै भवनबाट प्रवाह गरिने स्वास्थ्य सेवा प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । पछिल्लो समय तिलोत्तमाका सरकारी स्वास्थ्य संस्थामा धेरै परिवर्तन आएको बताउँदै उहाँले सरकारी स्वास्थ्य संस्थाबाट पनि गुणस्तरीय सेवा पाइन्छ भन्नेमा विश्वस्त रहन नगरबासीलाई आग्रह गर्नुभयो ।

वडा नं. ७ का वडाध्यक्ष दुर्गा प्रसाद पाण्डेको अध्यक्षतामा भएको सहरी स्वास्थ्य केन्द्र भवन उद्घाटन कार्यक्रममा नगर उप–प्रमुख जगेश्वरदेवी चौधरी, प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद शर्मा, जिल्ला स्वास्थ्य कार्यालयका क्षय–कुष्ट निरीक्षक टिकाराम अधिकारी, स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका उपाध्यक्ष राजेन्द्र प्रसाद सुवेदी, स्वास्थ्य केन्द्र ईञ्चार्ज शिशिर पाण्डेलगायतले बोलेका थिए । यस्तै वडा नं. ८ मा वडाध्यक्ष कृष्णप्रसाद पौडेलको अध्यक्षता र स्वास्थ्य चौकी ईञ्चार्ज ईश्वरी पाण्डेयको सञ्चालनमा कार्यक्रम भएको हो ।
प्रकाशित मिति : शुक्रबार, भाद्र २६ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्