इन्डियन प्रिमियर लिग (आईपीएल)को २२औं खेलमा आज सनराइजर्स हैदराबाद र किंग्स एलेभेन पञ्जाब आमनेसामने हुँदैछन् । दुबई रंगशालामा हुने उक्त खेल नेपाली समयानुसार बेलुका ७ः४५ बजे हुनेछ ।
तालिकाको पुछारमा रहेको पञ्जाबले छैठौं स्थानको हैदराबादको सामना गर्दैछ । जारी आईपीएलमा दुवैले आ–आफ्नो पाँच खेल खेलिसकेका छन् । पाँचमध्ये हैदराबादले आफूले खेलेको दुई खेलमा जित निकालेको छ । यता पञ्जाबले भने आफ्नो दोस्रो खेलमा बैंग्लोरलाई हराउनुबाहेक हालसम्म जित निकाल्न सकेको छैन ।
यो सिजन निकै खराब प्रदर्शन गरिरहेको पञ्जाब आजको खेलबाट प्रतियोगितामा ‘बाउन्स ब्याक’ गर्न चाहन्छ । जारी आईपीएलमा सर्वाधिक रन बनाउने शीर्ष तीनमध्येका दुई खेलाडी पञ्जाबकै भएपनि बलिङ, ब्याटिङ र फिल्डिङबीच सोचेअनुरुप तालमेल मिल्न नसक्दा पञ्जाबले प्रतियोगितामा लय पक्रिन सकिरहेको छैन ।
प्रतियोगिताको सुरुआत दिल्लीसँग सुपर ओभरमा पराजित हुँदै सुरु गरेको पञ्जाबले दोस्रो खेलमा बैंग्लोरलाई ९७ रनले स्तब्ध बनाउँदा सबैले उसलाई मुख्य दाबेदार मानेका थिए । तेस्रो खेलमा पनि पञ्जाबले जारी आईपीएलकै सर्वाधिक दोस्रो स्कोर बनाएकै हो । तर राजस्थानविरुद्धको खेलमा बलिङ र फिल्डिङमा चिप्लिएपछि दुई सय २३ रनको विशाल योगफल जोगाउन नसकेको पञ्जाब त्यसयता खेलेको दुवै खेलमा पराजित भएको छ ।
चौथो खेलमा मुम्बईसँग ४८ रनले हारेको पञ्जाबले आफ्नो पाँचौ खेलमा चेन्नईसँग १० विकेटको लज्जास्पद हार व्यहोर्न बाध्य बनेको थियो । त्यसैले पनि आजको खेलमा पञ्जाबलाई उत्कृष्ट खेल खेल्नु पर्ने दबाब छ ।
हैदराबादविरुद्धको आजको खेलबाट प्रतियोगितामा पुनरागमन गर्ने लक्ष्यसहित पञ्जाब मैदान उत्रने भएपनि आजको खेल उसको लागि त्यति सहज भने हुने छैन । जारी आईपीएलमा समान प्रदर्शन गर्न नसकिरहे पनि पाँचमध्ये दुई खेलमा जित निकालेको हैदराबाद आफ्नो छैटौं खेलमा तेस्रो जित दर्ता गर्न चाहन्छ ।
बैंग्लोरसँग पराजित हुँदै आईपीएल यात्रा सुरु गरेको हैदराबादले कोलकता र चेन्नईलाई हराएको छ भने मुम्बई र दिल्लीसँग जारी प्रतियोगितामा पराजित भएको छ । लगातार दुई हारपछि दुई जित दर्ता गरेको हैदराबादले पाँचौ खेलमा हार भोगे पनि आजको खेल जित्दै लगातारको हार र जितको चक्र तोड्न चाहन्छ ।
हेड–टु–हेड
आईपीएलमा एकअर्काविरुद्ध १४ पटक आमनेसामने भइसकेका यी दुईमध्ये हैदराबाद १० पटक विजयी भएको छ भने पञ्जाबले चार पटक मात्रै खेल आफ्नो पक्षमा पारेको छ । यी दुईबीचका पछिल्ला ६ खेलको नतिजाले पनि हैदराबादलाई बलियो स्थितिमा देखाउँछ ।
१७, १८ र १९ को आईपीएलमा हैदराबाद र पञ्जाबबीच भएको ६ पटकको भेटमा हैदराबादले पञ्जाबलाई चार पटक हार चखाएको छ । आजको खेलमा हैदरबाद आफ्नो विजयी यात्रा लम्ब्याउन चाहन्छ भने पञ्जाब खेल जित्दै हेड–टु–हेड र अंकतालिका दुवैमा आफ्नो स्थान सुधार गर्न चाहन्छ ।
आईपीएलमा हैदराबाद र पञ्जाबको पछिल्ला आठ खेल
यी दुवैले पछिल्ला आठ खेलमा समान नतिजा आत्मसाथ गरेका छन् । जारी आईपीएलका पछिल्ला पाँच र २०१९ आईपीएलको तीन खेलको नतिजा हेर्ने हो भने दुवैले दुई खेलमा मात्रै जित निकाल्न सफल भएका छन् । इलिमिनेटरमा दिल्लीसँग पराजित हुँदै क्वालियफायर खेल्न नपाएको हेदराबादले त्यसअघि खेलेको दुवै खेल हारेको थियो ।
यता २०१९ आईपीएलको ५५औं खेलमा चेन्नईलाई ६ विकेटले हराउन सफल पञ्जाबले भने जारी आईपीएलमा बैंग्लोरलाई ९७ रनले पराजित गर्नुबाहेक अन्य खेलमा सफल हुन सकिरहेको छैन ।
खेल जित्नै पर्ने दबाबकाबीच हुने आजको खेल निकै प्रतिस्पर्धात्मक हुनेछ । दुवै टोली आक्रामक तरिकाले प्रस्तुत हुने भएपनि खेल कसले आफ्नो पक्षमा पार्ने हो भने त्यसको लागि हामीले आजको खेलको नतिजा कुर्नुपर्ने हुन्छ ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा यी दुईको हालसम्मको प्रदर्शन
हैदराबाद र पञ्जाब दुवैले दुबई रंगशालामा समान चार खेल खेलिसकेका छन् । यस रंगशालामा केही हदसम्म हैदराबाद सफल भएको देखिन्छ । २०२० का दुई र २०१४ का दुई गरी चार खेल खेलेको हैदराबाद तीन खेलमा विजयी भएको छ भने एक खेलमा पराजित भएको छ । जारी प्रतियोगितामा बैंग्लोरसँग १० रनले यहीँ रंगशालामा हारेको हैदराबादले चेन्नईलाई भने सात रनले पराजित गरेको थियो ।
जारी आईपीएलमा तीन र २०१४ मा एक गरी पञ्जाबले पनि यस रंगशालामा चार खेल खेलिसकेको छ । २०१४ मा बैंग्लोरलाई पाँच विकेटले पराजित गरेको पञ्जाबले जारी प्रतियोगितामा पनि बैंग्लोरलाई नै ९७ रनले पराजित गर्नुबाहेक अन्य टोलीसँग भने दुबई रंगशालामा सफल हुन सकिरहेको छैन ।
दिल्लीसँग यहीँ रंगशालामा सुपर ओभरमा पराजित भएको पञ्जाब चेन्नईसँग भने १० विकेटले स्तब्ध बनेको थियो ।
प्रकाशित मिति : बिहिबार, असोज २२ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्