स्वास्थ्य मन्त्रीको आग्रह- ‘यो वर्ष परिस्थितिको बाध्यता अनुरुप चाडपर्व मनाऔं’

स्वास्थ्य मन्त्रीको आग्रह- ‘यो वर्ष परिस्थितिको बाध्यता अनुरुप चाडपर्व मनाऔं’

काठमाडौं – स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले जनस्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्नुपर्ने परिस्थितिको बाध्यतानुरुप नै चाडपर्व मनाउन अपिल गरेका छन् ।

बडादशैंका अवसरमा आज शुभकामना दिँदै मन्त्री ढकालले कोरोना महामारीका कारण यस चाडलाई सीमित रुपमा मनाउनुपर्ने बाध्यकारी अवस्था सिर्जना भएको जनाउँदै कोरोना रोगको रोकथाम तथा नियन्त्रणका लागि मास्कको उचित प्रयोग, भौतिक दूरी कायम र पटक-पटक साबुनपानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्नु नै उचित उपाय भएको स्मरण गराएका छन् ।

‘दशैं लामो समयदेखि हामीले मनाउँदै आएको एकता र पुनर्मिलनको चाड हो, आफन्तका बीचमा भेटघाट र शुभकामना आदानप्रदान गरेर अत्यन्तै हार्दिकता र मित्रताका साथ मनाइने आशीर्वाद लिने र दिने मानवीयताको चाड हो ।’

मन्त्री ढकालले भनेका छन्, ‘यस्ता चाड मनाइरहँदा विगतमा पनि हामीले स्वास्थ्य, मित्रता र सामाजिक शान्तिलाई ध्यान दिने तथा छिमेकीलाई प्रतिकूल नहुने गरी मनाउने गरेका हौं । यस पटक कोरोना महामारीका कारण अझै बढी ध्यान दिनुपर्ने देखिएको छ ।’

मन्त्री ढकालले महामारीविरूद्धको लडाइँमा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने कार्यमा जनताबाट प्राप्त साथ सहयोगप्रति आभार व्यक्त गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्न स्वस्थ्य नागरिकाको उत्पादनमा ध्यान दिँदै निरोगी नेपालका लागि काम अघि बढाइएको पनि जनाएका छन् ।

उनले संविधानमै सुनिश्चित स्वास्थ्यको मौलिक हकको पूर्ण कार्यान्वयनका लागि सरकारले काम गरिरहेको र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सम्पूर्ण नागरिकको जीवन रक्षाको लागि सदैव प्रतिबद्ध रहेको स्पष्ट गरेका छन् ।

मन्त्री ढकालले सबै सरकारी, निजी तथा समुदायबाट सञ्चालित अस्पताललाई कोभिड-१९को परीक्षण तथा उपचार र अक्सिजन, आवश्यक औषधि तथा उपकरणको अभाव हुन नदिन मन्त्रालयले ठोस योजनासहित प्रभावकारी व्यवस्था मिलाएको जानकारी दिए ।

उनले अस्पताल नभएका ६४९ स्थानीय तहमा ५ बेडको अस्पताल स्थापना गरी सञ्चालनका लागि आवश्यक बजेट व्यवस्था गरी पठाइएको र कुनै पनि अस्पतालको गेटभित्र प्रवेश गरेका बिरामी उपचार बिना फर्कनु नपरोस् भनेर गरीब, विपन्न र अलपत्र व्यक्तिको आकस्मिक उपचार निःशुल्क गर्ने गरी व्यवस्था मिलाइएको पनि उल्लेख गरेका छन् ।

प्रकाशित मिति : आइतबार, कार्तिक ९ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij