काठमाण्डौ
उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठपर्व समापन गरिएको छ ।बिहान देशभर विभिन्न पोखरी, नदी, इनारलगायतको पानीको स्रोत भएको ठाउँबाट व्रतालुले सूर्यलाई अर्घ्य दिएका छन् । माटोको घैला, दियो, ढकनी, सर्वी, हात्ती, पानालगायतका सामग्रीसहित बाँसको कोनिया, ढक्की, नाङ्लोमा केरा, ठकुवा, भुसवा, खजुरीलगायतका परिकार राखेर जलाशयमा शरीर डुबाउँदै उदाउँदो सूर्यलाई अर्घ्य दिने गरिन्छ ।
कोरोनाको महामारीका कारण कतिपयले भने यसपालि घरको आँगन र छतमा नै कृत्रिम जलाशय बनाएर सूर्यको पूजा आराधना गरेका छन् । कतिपय ठाउँमा भने जलाशयमा नै पुगेर सामूहिक रुपमा नै छठ पर्व मनाएका छन् ।हिजो अस्ताउँदो सूर्यलाई अर्घ्य दिएपछि राति जलाशय, नदी, तलाउ–किनारमा अर्घ्य दिइएका सामग्रीहरू कतिपयले घरमै ल्याएर फेरि आज बिहान झिसमिसमै घाटमा पुर्याउने गर्छन् भने कतिपयले त्यहीँ राखेर रातभर नाचगान र रमाइलो गर्छन् । आज कात्तिक शुक्ल सप्तमी तिथिका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पूजा समापन भएको मानिन्छ ।
कात्तिक शुक्ल षष्ठीको बेलुका अस्ताउँदो र सप्तमीको बिहान उदाउँदो सूर्यलाई अर्घ्यसहित गरिने छठ पूजाले निरोगी हुने, छालाजन्य रोगव्याधि नलाग्ने धार्मिक मान्यता रहेको छ । चार दिनसम्म मनाइने लोकपर्व छठ यसपालि पोहोर परारको भन्दा फरक देखियो ।
कोरोना महामारीका कारण यसपालि पोहोर परारको जस्तो रौनक नभए पनि व्रतालुले विधि पूर्वक पूजा आराधना गरेका छन् । सहरी क्षेत्रमा सामूहिक रुपमा छठ मनाउनेहरुले केही स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरे पनि ग्रामिण क्षेत्रमा मापदण्ड पालना भएको छैन ।
प्रकाशित मिति : शनिबार, मंसिर ६ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्