काठमाडौं-सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक एक साताका लागि स्थगन भएको छ ।
अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालले प्रस्तुत गरेका छुट्टाछुट्टै प्रस्ताव अध्ययन गर्नका लागि भन्दै बैठक एक साताका लागि स्थगन गरिएको हो । अब बैठक २८ मंसिर दिउँसो १ बजे बस्नेछ ।
पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रस्तावमाथि अध्ययन गर्नका लागि समय दिइएको बताए । बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष ओली सहभागि नभई आफू आउन नसक्नुको कारण खुलाई पत्र पठाएको पनि प्रवक्ता श्रेष्ठले बताए ।
बैठकमा सचिवायल सदस्य ईश्वर पोखरेलले अध्यक्ष ओलीले पठाएको पत्र पढेर सुनाए । अध्यक्ष ओलीले पत्रमार्फत् अध्यक्ष प्रचण्डले ल्याएको प्रस्ताव बैठकमा छलफलका लागि राख्न नमिल्ने भएकाले आफू उपस्थित नभएको जानकारी गराएको पनि प्रवक्ता श्रेष्ठले बताए ।
बैठकले मंसिर २५ गते बस्ने भनिएको केन्द्रीय कमिटीको बैठक पुष ५ गतेका लागि सार्ने निर्णयसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्