दाङ-प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार नेपालकै दोस्रो लामो पुल उद्घाटन गरेका छन् । ओलीले दाङको सिसहनिया–गढवा जोड्ने आठ सय ६५ दशमलव ४० मिटर लामो नवनिर्मित पुलको उद्घाटन गरेका हुन् ।
दाङ देउखुरीस्थित राप्ती नदीमा बनेको नेपालको दोस्रो लामो पुल उद्घाटनका लागि ओली आज दाङ गएका थिए । राप्ती गाउँपालिकाको सिसहनिया र गढवा गाउँपालिकाको महदेवा जोड्ने राप्ती नदीको पुलको शिलान्यास २०७३ मङ्सिर २२ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका थिए ।

पुलको उद्घाटनपछि जनसभालाई सम्बोधन गर्दै ओलीले देशमा विकासको लहर ल्याइएको बताएका छन् । ‘देशमा विकासको लहर ल्याइएको छ,’ उनले भने, ‘लुम्बिनी प्रदेशको राजधानीलाई व्यवस्थित गर्न यो पुल अत्यन्त जरूरी छ । निर्धारित समयमा कार्य सम्पन्न गरेकोमा निर्माण कम्पनीलाई धन्यवाद ।’
