काठमाडौंमा –नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले जनतासँग माफी मागेको छ ।
सर्वत्र विरोध भइरहँदा बिहीबार आमहडतालको आह्वान गरेर आलोच्य कदम चाल्दै जनतालाई सास्ती बेहोर्न बाध्य बनाएको दाहाल–नेपाल समूहले माफी मागेको हो । हडतालका क्रममा सर्वसाधारण जनताले धेरै पीडा भोग्नु पर्दा यो समूहको आलोचना भएको । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि सडक आन्दोलनमा रहेको यो समूहले जनमत बटुल्दै गइरहेका बेला अचानक आयोजना गरिएको हड्तालले सबैलाई निराश बनाएको थियो ।
हडतालका क्रममा धेरै ठाउँमा विध्वंसात्मक घटना भए । विभिन्न ठाउँमा आक्रमण र तोडफोडका घटना यो समूहका कार्यकर्ताले गराए । सवारी साधन तोडफोड गरेर क्षति पुर्याइयो । एक दिन भए पनि सबै क्षेत्र ठप्प बन्यो । हडताल नगर्न सबै पक्षले दिएको सुझाव बेवास्था गर्दै आफ्नै हिसाबले सबै क्षेत्र ठप्प बनाएको दाहाल–नेपाल समूह अन्तत जनतासँग माफी माग्नुपर्ने अवस्थामा पुगेको हो ।
उसले आयोजना गरेको हडतालको सबै पक्षबाट ठूलो विरोध भएको थियो । जानेरै गल्ती गरेको दाहाल–नेपाल समूहले पत्रकार सम्मेलनको आयोजना गर्दै आमहडतालले दुःख भोग्नु परेका नागरिकहरुप्रति क्षमा मागेको हो । पत्रकार सम्मेलनमा यो समूहका अध्यक्ष माधवकुमार नेपालले आमहडतालले कतिपयलाई धेरै पीडा दिएको उल्लेख गर्दै आत्माआलोचना गरे । मजदुर, बिरामी र दैनिक ज्यालादारी गर्नेसमुदायका मानिसलाई समस्या भएको उनले स्वीकार गरे । विद्यार्थीको परीक्षामा पनि समस्या भएको र विद्यार्थीले कष्टपूर्ण रुपमा परीक्षामा सहभागी हुनुपरेको भन्दै नेपालले पीडा भोग्नु परेका नागरिकहरुसँग क्षमा माग्न चाहेको उल्लेख गरे ।
उनले अहिलेको स्थितिको सबै कारक तत्व प्रधानमन्त्री केपी शर्मा ओली रहेको आरोप पनि लगाए । पार्टीबाट सुरु गरेर राज्यलाई नै आफ्नो कब्जामा पार्ने कोशिस ओलीबाट भएको र उनले प्रजातन्त्रको घाँटी निमोठिरहेकोभन्दै नेपालले आक्रोस पोखे । उनले अहिलेको परिस्थिति नेकपाको आन्तरिक मामिला मात्रै हो भनेर नठान्न पनि आग्रह गरे।
‘यो नठाने हुन्छ कि यो नेकपाको आन्तरिक मामिला मात्रै हो’, अध्यक्ष नेपालले भने, ‘अब यो देशका मामिला भइसकेको छ । संविधानको मामिला भइसकेको छ।’ उनले बिहीबारको बन्द हडतालमा जनताको अपार समर्थन प्राप्त भएको बताए। ‘अब ओलीले जे गर्छन् त्यही सहेर र तमासा हेरेर नेपाली जनता बस्नवाला छैनन् भन्ने सन्देश बिहीबारको हडतालले दिएको छ’, नेपालले भने ।
उनले अत्यधिक ठूलो बहुमत आफूहरुसँग रहेकोले चोइटिएर जानेहरुका पक्षमा देशभरका नेता कार्यकर्ता नरहेको बताए। उनले नेकपा पार्टीमा कसलै आँखा मात्रै लगाउन खोज्छ भने आफूहरुले स्वीकार्न नसक्ने बताए।
‘चोइटिएर जानेहरुले बालकोटमै पार्टी बनाए हुन्छ । ओलीको पूजा गरेर बसे हुन्छ । पार्टी बनाउनुछ भने विचारमा उभिनुपर्छ’, नेपालले भने । उनले केपी ओलीसँग कोही नतर्सिने बताए। ‘केपी ओली चेतना भया कोही तर्सिनेवाला छैन तपाईँसँग कोही आतंकित हुनेवाला छैन ’, उनले भने।
प्रकाशित मिति : शुक्रबार, माघ २३ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्