काठमाडौँ – नेपाली कांग्रेसले मुलुकको वर्तमान समसामयिक राजनीतिक विषयमा उचित समयमा उचित निर्णय लिने जनाएको छ । कांग्रेस संसदीय दलको शुक्रवार बसेको बैठकले सांसदका धारणाअनुसार पार्टीले संसद्लाई नियमितरुपमा सञ्चालन गर्न, राजनीतिक समस्यालाई निकास दिन र संविधानलाई बलियो बनाउन उचित निर्णय लिने निष्कर्ष निकालेको हो ।
भोलिदेखि सुरु हुने प्रतिनिधिसभा बैठकमा सत्तापक्ष कसरी प्रस्तुत हुन्छ, त्यसलाई समीक्षा गरेर पार्टीले उचित निर्णय लिने कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाणले जानकारी दिए । बैठकमा २९ सांसदले धारणा राखेका थिए ।
सत्ता समिकरणमा कांग्रेसले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को कुन पक्षसँग सहकार्य गर्छ भन्ने जिज्ञासामा उनले कांग्रेसले राजनीतिक पक्ष विपक्षभन्दा पनि जनताको र संविधानको रक्षा तथा लोकतान्त्रिक मूल्यमान्यताको सम्बद्र्धनलाई महत्व दिएको बताए ।
बैठकले प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलाको स्वागत गरेको छ । साथै बैठकले आम नागरिकलाई कोरोना विरुद्धको खोप लगाउने सुव्यवस्था गर्न, आर्थिक व्यवस्थालाई चलायमान बनाउनका लागि कोरोना भाइरसको सङ्क्रमणदेखि नै बन्द रहेका सीमा नाका पूर्णरुपमा खुलाउनुपर्ने मागसमेत गरेको प्रमुख सचेतक खाणले बताए ।
सरकारले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि सो सम्बन्धमा परेका विभिन्न रिट निवेदनको सुनुवाइ गर्दै सर्वोच्च अदालतले यही फागुन ११ गते पुनःस्थापनाको फैसला सुनाएको थियो । सो फैसलापछि राष्ट्रपति विद्यादेवी भण्डारीले पुनःस्थापित प्रतिनिधिसभाको बैठक भोलि अपराह्न ४ बजेका लागि आह्वान गरेकी छिन् ।
प्रकाशित मिति : शनिबार, फाल्गुन २२ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्